८ वैशाख २०८१ शनिबार
अर्थ

कृषकलाई ३७ लाख बढी अनुदान

डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले अंगुर र स्याउका बिरुवा लगाएवापत कृषकलाई ३७ लाख ८५ हजार ६ सय अनुदान उपलब्ध गराएको छ।

कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गराइ नगरलाई आर्थिक समृद्धि बनाउने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिकाले कृषकलाई अनुदान वितरण गरेको हो।

त्रिपुरासुन्दरी नगरपालिकाका वार्ड नम्बर ३,४,६,७,८ र १० का कृषकलाई स्याउका बिरुवा लगाएबापत ३१ लाख १७ हजार अनुदान बितरण गरिएको हो।

यसैगरी वार्ड १ त्रिपुराकोट, वार्ड ४ फोई र वार्ड ५–६ खदाङ्गका अंगुर खेतीमा लागेका कृषकलाई नगरको महत्वकाँक्षी कार्यक्रम अन्र्तगत ६ लाख ८८ हजार ६ सय अनुदान वितरण गरेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ।

नगरपालिकाका वार्ड नम्बर ३,४,६,७,८ र १० मा आर्थिक वर्ष ०७४–०७५ मा ३० हजार ९ सय ७० ओटा स्याउ र वार्ड नम्बर १,४,५ र ६ मा ६ हजार ८ सय ८६ ओटा अंगुरका बिरुवा लगाएर संरक्षण गरेबापत कृषकहरूलाई प्रोत्साहन स्वरुप प्रति बिरुवा एक सयका दरले अनुदान रकम वितरण गरिएको छ। अनुदान रकम कृषकलाई ३ वर्षसम्म लगातार वितरण गरिने त्रिपुरासुन्दरी नगरपालिका प्रशासन शाखाका नायव सुब्बा हिराचन्द्र धरलाले बताए।

अंगुर र स्याउ खेतीको रुपमा विकास गरी त्रिपुरासुन्दरी नगरपालिकालाई नेपालकै फलफूल खेतीको हबको रुपमा अगाडि बढाई फलफूलखेतीको माध्यमबाट आर्थिक समृद्धि बनाउने लक्ष्य रहेको नायव सुब्बा धरलाले बताए।

गत आर्थिक वर्ष ०७४–०७५ मा अँगुर र स्याउ खेतीको लागि १ करोड बराबरको रकम बिनियोजन गरेको नगरले आर्थिक वर्ष ०७५–०७६ का लागि फलफूल खेतीकै लागि भनेर २ करोड ४३ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ।

त्रिपुरासुन्दरी फलफूल खेतीको लागि उपयुक्त ठाउँ भएपनि बिना पूर्व तयारी र संरक्षणको भरपर्दो ब्यवस्थापन बिनै नगरले हचुवाको भरमा अँगुर र स्याउ खेतीलाई महत्वकाँक्षी कार्यक्रमको रुपमा अगाडि ल्याएर वर्षेनी करोड रकम बिनियोजन गर्दा समेत फलफूल खेतीको लागि घेरबारको ब्यवस्थापन नगर्नु नगरको कमजोर पक्ष रहेको नगरस्तरीय काँग्रेसको छायाँ सरकारका प्रतिनिधि गौरीशंकर उपाध्यायले बताए।

प्रकाशित: २ भाद्र २०७५ ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App