२५ श्रावण २०७७ आइतबार
अर्थ

कमसल निर्माणले ६ गाउँ जोखिममा

बालापुर गाउँनजिकै सिक्टाको क्षतिग्रस्त मूल नहर। तस्बिर : रुद्र/नागरिक

बालापुर (बाँके) - गुणस्तरहीन निर्माणले सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट आसपासका आधा दर्जन बढी गाउँ जोखिममा परेका छन्।

कमसल निर्माण सामग्री प्रयोेग गरी बनाइएको मूल नहर जुनसुकै बेला भत्कने सक्ने भएकाले ती गाउँ जोखिममा परेका हुन्। ५० क्युमेक्स पानी चढाउने गरी बनाइएको मूल नहरमा साउन ७ गते राप्ती नदीको ४ क्युमेक्स पानी पठाउँदा चंगाई नालाको मूल नहर भत्किएपछि सर्वसाधारण झनै आत्तिएका छन्।

४५ किलोमिटरमध्ये लामो मूल नहरमध्ये आधाजति मूल नहर बाँके राष्ट्रिय निकुन्जभित्र पर्छ भने आधाजति मूल नहरको आसपासमा आधा दर्जन बस्ती पर्छन् । राप्तीसोनारी गाउँपालिका–८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतले साउन ७ गते परीक्षणको क्रममा सिक्टाको मूल नहर भत्केपछि विगतदेखि नै गाउँ जोखिममा छन् भन्ने अनुमान पुष्टि भएको बताए। ‘मूल नहर निर्माण हुँदाताकाको गुणस्तरहीन काम देखेर राप्ती नदीको पानीले गाउँ बगाउँछ भन्ने लागेको थियो,’ उनले भने, ‘नभन्दै साउन ७ गते चंगाई नालामा मूल नहर भत्कियो ।’ चंगाई नालाको विपरीततिरको मूल नहरको भाग भत्किएको भए बालापुर गाउँ बगिसक्ने उनको भनाइ छ।

४५ किलोमिटरमध्ये सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको ४२ किलोमिटर मूल नहर गुणस्तरहीन रहेको स्थानीय बताउँछन्। ठेकेदारको गुणस्तरहीन कामका कारण सिक्टाको मूल नहर अलपत्र त परेको छ नै आसपासका गाउँलाई कसरी सुरक्षित गर्ने भन्ने पनि समस्या थपिएको स्थानीय बताउँछन्। राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री कमसल निर्माण सामग्रीले सिक्टाको २४ किलोमिटर नहर जीर्ण भइसकेको बताउँछिन्। उनले सिक्टाको मूल नहरलाई टालटुले शैलीले मर्मत र सुधार गरेर पानी चलाउने हो भने जुनसुकै बेला ठूलो मानवीय क्षति हुने बताइन्। मूल नहरका कारण राप्तीसोनारी गाउँपालिकामा आधा दर्जन गाउँका करिब १२ हजार बासिन्दा निकै जोखिममा रहेको वडा अध्यक्ष बस्नेतले बताए।

राप्रपाका नेता तथा पूर्वकृषिमन्त्री प्रेमबहादुर भण्डारी सिक्टाको मूल नहर आसपासका गाउँलाई जोखिमबाट बचाउन आयोजना कार्यालयले अब नयाँ ढंगबाट मूल नहरको डिजाइन गरी काम थाल्नुपर्ने बताउँछन्। ‘अहिलेको डिजाइन अनुसार नै पुनः सिक्टाको मूल नहर मर्मत गर्ने हो भने आसपासका गाउँ सुरक्षित रहने छैनन्,’ भण्डारीले भने, ‘सिक्टा चलाउन र आसपासका गाउँ बचाउन उत्तरतिरबाट आउने पानीलाई मूल नहरमा पस्न नदिने गरी खाका तयार पार्नुपर्छ ।’ त्यस्तै, उनले सिक्टाको बाँधस्थलदेखि कचनापुरसम्म पनि तटबन्ध निर्माण गर्न आवश्यक रहेको बताए।

कमसल तरिकाले निर्माण गरिएको मूल नहरका कारण कचनापुर, शमशेरगन्ज, टिकुलीपुर, ओभरी, बालापुर, ढकेरी, महादेवपुरी लगायत गाउँ जोखिममा परेको स्थानीयले बताए । अघिल्लो वर्ष झिझरी खोलाको मूल नहर फुटेर कचनापुरका २८ घर बगाएको पूर्वमन्त्री भण्डारीले बताए; जबकि त्यतिबेला मूल नहरमा ५ क्युमेक्स पानी पठाइएको थियो । ‘त्यति थोरै पानी पठाउँदा नै मूल नहर भत्केर २८ घर बगायो भने धेरै पानी छाडेको भए के हुन्थ्यो होला ?,’ उनले भने, ‘अब मूल नहरलाई सुरुदेखि नै निर्माण नगरेसम्म केही उपलब्धि हुनेवाला छैन।’

ठेकेदार र आयोजनाका कर्मचारीको मिलेमतोमा सिक्टामा गुणस्तरहीन मूल नहर बनाइएको स्थानीयले बताउँदै आएका छन्। १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको उक्त आयोजनाको मूल नहर परीक्षण गर्दा पटकपटक भत्कने गरेको छ। पटकपटक मूल नहर भत्कँदा वर्षौंदेखि पानी पाउने आसमा रहेका किसान चिन्तित छन्। राप्ती नदीको पानीलाई अगैयामा बाँध बाँधेर बाँकेको ४३ हजार हेक्टर जमिनमा पानी पु-याउन तत्कालीन सरकारले सन् १९७८ देखि प्रयास गरेको थियो।

सुरुका दिनमा भारतले अवरोध गरेका कारण निर्माण कार्य सुरु हुन नसकेको उक्त आयोजना आर्थिक वर्ष २०६१/६२ देखि बनाउन थालिएको हो। उक्त आयोजना नेपालको आफ्नै लगानीमा बनाउन थालिएको हो। विगतमा सरकारले सिक्टाका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग सहयोगको प्रयास गरे पनि सफल हुन सकेको छैन। विज्ञहरू भारतीय अवरोधका कारण अन्तर्राष्ट्रिय दातृ निकायले सहयोग गर्न नचाहेको बताउने गर्छन्। २५ अर्ब रुपैयाँ खर्च गरी अबको दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको बेला मूल नहरमा समस्या आएपछि अब के गर्ने भन्ने टुंगो लाग्न सकेको छैन।

‘जसरी पनि बनाउने विकल्प खोज्छौं’
सिक्टाको अनियमितता छानबिनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको छानबिन टोलीका संयोजक तथा मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले उक्त आयोजना जसरी पनि सम्पन गर्ने गरी विकल्प खोजिने बताएका छन्। बुधबार नागरिकसँग संक्षिप्त कुरा गर्दै जुनसुकै हालतमा सिक्टालाई सफल पार्नुपर्ने बताए । तिवारी संयोजक रहेको छानबिन टोली शुक्रबारसम्म फिल्डमा जाने तयारी गरेको छ। टोलीमा तिवारीसहित सहसचिव कृष्ण बेल्वासे र सिडिइद्वय योगेन्द्र मिश्र, दिनेश रजौरिया तथा  प्रकाशराज श्रेष्ठ छन्।

छानबिन टोलीलाई पर्खंदै स्थानीय
सिक्टामा भएको अनियमितता छानबिनका लागि मन्त्रालय र  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन टोली गठन गरेकाले स्थानीय हर्षित छन्। अख्तियारले सहसचिवको नेतृत्वमा छानबिन टोली गठन गरेकाले गलत काम गर्नेलाई पक्कै पनि कारबाही हुने धेरैको अपेक्षा छ। राप्तीसोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महाबीर ओलीले छानबिन टोलीले सकेसम्म मूल नहर आसपासका सर्वसाधारणको नभए जनप्रतिनिधिको धारणा लिनुपर्ने बताए। तीनदेखि अख्तिायारको टोली सिक्टामा भएको अनियमितता अध्ययनका लागि फिल्डमा खटिएको छ।

प्रकाशित: ३१ श्रावण २०७५ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App