८ वैशाख २०८१ शनिबार
अर्थ

प्रधानमन्त्री ज्यू, दुइतिहाईको सरकार महशुस नै भएन–व्यवसायी

काठमाडौं– नीजिक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले दुई तिहाईको शक्ति भएको सरकार महशुश नै हुन नपाएको गुनासो प्रधानमन्त्री समक्ष राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास वालुवाटारमै पुगेर व्यवसायीले उद्योग व्यवसाय फस्टाउने वातावरण बनाई दिन आग्रह गरेको छ।

महासंघ अध्यक्ष भवानी राणाको नेतृत्वमा टोली वालुवाटार गएको  थियो। भेटका क्रममा राणाले निजीक्षेत्र सम्मिलित परामर्श समूह गठन गर्ने ओलिको यस अगिको आश्वासन पनि पुरा नभएको भन्दै त्यसलाई छिटो पूर्णता दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन्।

स्थानीय तहमा दोहोरो तेहोरो करको समस्याले व्यवसायी त्रसित रहको औल्याउदै उनले तत्काल एकिकृत कर प्रणाली लागू गर्न र वर्तमान कर प्रणालीमा सुधार गर्न पनि आग्रह गरेकी छन्। ‘उत्पादकत्व अभिवृद्धि गर्ने, लगानी आकर्षण गर्ने खालका ‘स्टीमुलस प्याकेज’  सरकारले घोषणा गर्नु आवश्यक छ,’ उनले भनिन्, ‘समृद्धि नेपाल सुखी नेपाली भन्ने सरकारको अभियानलाई साकार बनाउन महासंघ पनि प्रतिवद्ध छ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले उद्योग व्यवसायको विकासका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोग सम्बन्धी ठोस सुझाव लिखित रूपमा ल्याउन आग्रह गरेका थिए। पुराना ऐन कानूनहरूमा कहा“, के संसोधन, पुनरलेखन, परिमार्जन आवश्यक छ त्यसमा लिखित सुझाव दिन उनले आग्रह गरे।

मुलुकलाई समृद्धितर्फ लैजान पर्याप्त आधार र स्रोतहरू मुलुकभित्रै रहेको भन्दै प्रधानमन्त्री ओलीले विशाल छिमेकी देशहरूको बीचमा रहेको नेपालका लागि बजार तथा लगानीको समेत अभाव नहुने धारणा राखेका थिए। ‘निजी क्षेत्र अर्थतन्त्रको विकासमा अगाडी बढ्नु पर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सुविधा दिन सरकारले कुनै कन्जुस्याई गर्दैन, तपाईहरू उद्योग व्यवसाय बढाउनुहोस, लगानी ल्याउनुहोस के सहयोग चाहिन्छ सरकार तयार छ, म तयार छु।’  

 

प्रकाशित: २६ श्रावण २०७५ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App