२२ असार २०७७ सोमबार
अर्थ

नासपाती कुहिँदा किसान मारमा

बगानमा फलेको नासपाती टिप्दै बराहपोखरीकी किसान गंगामाया राई ।  तस्बिरः दमन/नागरिक

खोटाङ – बराहपोखरी गाउँपालिका–२ सुन्तले छत्रेटारका किसान तेजबहादुर राईले १२ वर्षअघि काठमाडौंको किर्तिपुरबाट जापानिज नासपाती ल्याएर बगानमा रोपे।

रोपेकामध्ये बाँचेको १२ बोटमा लटरम्म जापानिज नासपाती फल्न थाल्यो । तर, बोट नुहिनेगरी फलेको जापानिज नासपातीले बजार नपाउँदा उनी निराश छन् । बजार नपाउँदा हरेक वर्ष उनको बगानको जापानिज नासपाती कुहिएर खेर जाने गरेको छ।

तेजबहादुरले ३० रोपनी क्षेत्रफलमा जापानिज नासपातीसँगै तीनसय बोट सुन्तला, जुनार, ५० बोट किवी, १२ बोट लिची, आँप, भुँइस्याउ, कागती, अनार, निबुवा, बुद्धचित्त, घिउफल, अम्लिसो, तेजपात लगायतको खेती लगाएका छन् । फलफूल खेती गरिरहेका स्थानीय फडिराज तिम्सिना, राजन राई, चन्द्रमणी राई, नरमणी बञ्जराको समस्या पनि तेजबहादुरकोभन्दा फरक छैन । ‘लटरम्म फलेको नासपाती हेर्दा रहर लागेर आउँछ,’ राईले भने, ‘तर, कुहिएर खेर जाँदा दुःख लाग्छ । के गर्ने बिक्री गर्ने बजार छैन, खाएर सकिन्न ।’

बजार अभावमा जिल्लाका अधिकांश किसानले उत्पादन गरेको नासपाती खेर जाने गरेको छ । जापानिज र स्थानीय जातका नासपाती प्रशस्त मात्रामा उत्पादन भएपनि बजार अभावमा कुहिएर बगानमै नष्ट हुन्छ । घरमा उपयोग गरेर र बिक्री भएर नसकिने कतिपय नासपातीको दाना बंगुरलाई चारो खुवाउने गरिएको छ।

दिक्तेल, लफ्याङ, बाँझेच्यानडाँडा, रतन्छा, खिदिमा, कुभिन्डे, टेम्मा, पाथेका, हलेसी लगायतका वडामा उत्पादित नासपातीले मूल्य नपाउँदा खेर जाने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यावसायीकरुपमा नभए पनि जिल्लाका अधिकांश ठाउँमा नासपाती खेती हुँदै आएको छ । केही मात्रामा स्थानीय हाटबजारमा बिक्री भएपनि बाँकी रहेपछि खेर जाने नासपाती बंगुरलाई खुवाउने गरिएको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा मबुका युवा किसान संग्राम राईले बताए।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा नासपातीका लागि खेतीयोग्य जमिन दुई सय ६० हेक्टरमध्ये एक ५५ हेक्टर क्षेत्रफलमा वार्षिक एक हजार पाँच सय ५० मेट्रिकटनको हाराहारीमा नासपाती उत्पादन हुने गरेको छ । उल्लेख्य मात्रामा नासपाती उत्पादन भएपनि किसानले आम्दानी लिन सकेका छैनन् । भरपर्दो सडकको सुविधा नभएका कारण हालसम्म जिल्लामा उत्पादित नासपाती अन्यत्र निर्यात गर्न नसकिएको किसानको भनाइ छ । खपत नहुँदा कुहिएर नष्ट हुने भएपछि अधिकांश नासपाती बंगुरलाई चारो खुवाउने गरिएको किसानको भनाइ छ।

हिजोआज नासपातीका अधिकांश बोट फलले नुहिएका छन् । एउटै बोटमा हाँगो नुहिनेगरी लटरम्म फल्ने नासपाती किसान आफैले खाएर सिध्याउँदैनन् । स्थानीय बजारमा पनि नासपातीले सिजनका बेलामा अन्य फलफूलको तुलनामा कम मूल्य पाउने गरेको छ । लटरम्म फल्ने र पाकेपछि झरेर खेर जाने नासपातीलाई कतिपय किसानले रक्सी बनाउन प्रयोग गर्ने गरेका छन्।

प्रशोधन गरेर नासपातीबाट जुस बनाउन सकिन्छ, तर जिल्लामा त्यसको व्यावसायिक अभ्यास हुन सकेको छैन । ‘बजार अभावमा नासपाती पाक्छ, झर्छ, कुहिएर जान्छ,’ संग्रामले भने, ‘सुँगुर पालिएका घरमा भने झरेका नासपाती सुँगुरलाई दिने गरिएको छ ।’ गर्मी याममा शितलता र तिर्खा मेटाउनका लागि नासपाती सेवन रुचाउने गरिन्छ।

पछिल्लो समय सडक विस्तारका कारण नासपाती निर्यात गर्ने र आम्दानी गर्ने बाटो खुलेको छ । कुहिने समस्या र रोग नदेखिएका कारण जिल्लामा नासपातीको सम्भावना राम्रो छ । दसैं, तिहार र छठका समयमा तराईमा फलफूलको अधिक माग हुन्छ । चाडवाडका समय नासपातीलाई तराईसम्म पुर्याउन सके प्रतिगोटा १० रुपैयाँमा बिक्री हुने सम्भावना भएपनि यातायातको भरपर्दो व्यवस्था नहुँदा किसानको श्रम खेर गइरहेको छ ।

 

प्रकाशित: २० श्रावण २०७५ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App