८ वैशाख २०८१ शनिबार
अर्थ

जलेश्वर भन्सारद्वारा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन

जलेश्वर भन्सार कार्यालय। तस्वीर : महेशकुमार दास/नागरिक

महोत्तरी – जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन गरेको छ।

जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा एक अर्ब ६८ करोड राजस्व असुली गर्ने लक्ष्य लिए पनि भन्सार कार्यालयले सिमावर्ती क्षेत्रहरुमा सक्रियता बढाउँदै लक्ष्य अनुरुप काम गर्दै जाँदा आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्य भन्दा ६८ करोड थप राजस्व संकलन गरेको हो। कार्यालय २ अर्ब ३६ करोड राजस्व असुली गर्न सफल भएको प्रमुख भन्सार अधिकृत केशवकुमार भण्डारीले बताए।

गत आ.व. २०७३/०७४ को तुलनामा यस आर्थिक वर्षमा दोब्बर राजस्व संकलन भएको भण्डारीले बताए। अधिकृत भण्डारीका अनुसार गत आर्थिक वर्षको तुलनामा १ अर्ब ५ करोड बढी राजस्व संकलन भएको हाे।

यस आर्थिक वर्षमा पेट्रोलियम पदार्थ बढी मात्रामा पैठारी भएको र आलु, प्याज, चामल, धान, कच्चा पदार्थ, टायल्य, सेनिटरीवेयर लगायतको सामग्रीका पैठारी पनि बढी भएकोले राजस्वमा वृद्धि हुन गएको उनले बताए। यस आर्थिक वर्षमा निकासी भने शुन्य रहेको उनले बताए।

‘मालवस्तु जाँचपास सम्बन्धी मूख्य कार्यभार सम्हाल्दै आएको भन्सार कार्यालयले त्यसका अतिरिक्त चोरी निकासी/पैठारी नियन्त्रणको कार्यमा पनि उत्तिकै भूमिका निर्वाह गर्दै आएको छ।’

आ.व. २०७४/०७५ मा अवैध मालबस्तुहरु बरामद गरी पेश भएका मुद्दाहरु मध्ये ५ सय २१ मुद्दाको लिलामबाट १ करोड़ ३१ लाख राजस्व समेत असूल उपर भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।

ती मुद्दाहरु भन्सार कार्यालय, जिल्लास्थित नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राजस्व तथा भन्सार सुरक्षा गुल्म लगायत निकायहरुबाट पक्राउ भई कारवाहीको लागि कार्यालयमा दाखिला भएका थिए।

आगामी वर्षहरुमा चोरी निकासी पैठारी नियन्त्रणको कार्यलाई अझै तिब्रता दिने लक्ष्य रहेको भण्डारीले बताए। भन्सार प्रशासनले भन्सारका पूर्वाधारहरुको समेत समय सापेक्ष स्तरोन्नति गर्दै जाने प्रतिवद्धता समेत उनले जनाए।

भन्सार सेवा अन्तरगतका न्यूनतम सुविधाहरुको निमित्त पुराना जिर्ण भवनहरु भत्काई भन्सार परिसरबाटै एकिकृत सेवा प्रदान गरी व्यापार सहजीकरण गर्न स्वीकृत गुरु योजना बमोजिमका भवन निर्माणका कार्यहरु समेत द्रुत गतिमा भइरहेको उनले बताए।

प्रकाशित: १८ श्रावण २०७५ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App