६ वैशाख २०८१ बिहीबार
अर्थ

२० वर्षमा साढे ३७ हजार जहाज आवश्यक

पेरिस– यात्रु र कार्गो चाप विस्तारै बढ्न थालेपछि विश्वभर व्यापारिक प्रयोजनका हवाई जहाजको माग उल्लेख्य दरमा वृद्धि हुन थालेको छ ।

यसैबीच युरोपेली जहाज निर्माता कम्पनी एयरबसले आगामी २० वर्षभित्र विश्व उड्डयन क्षेत्रलाई करिब साढे ३७ हजारथान नयाँ जहाज आवश्यक पर्ने बजार प्रक्षेपण गरेको छ ।एयरबसले सार्वजनिक गरेको सन् २०१८–२०३७ का लागि तयार पारेको ‘विश्व बजार प्रक्षेपण’ अनुसार आगामी दुई दशकभित्र यात्रुबाहक र कार्गो गरी थप ३७ हजार चार सय थान नयाँ जहाज आवश्यक पर्ने छ । यसको बजार भाउ ५८ खर्ब अमेरिकी डलरबराबर हुने छ।

एयरबसले तीमध्ये कूल जहाजको ४३ प्रतिशत पुराना र इन्धन बढी खपत गर्ने जहाज विस्थापन गर्न उपयोग हुने जनाएको छ । हवाई यातायातको चापसँगै पर्यटन उद्योगमा हुँदै आएको बढोत्तरी, आर्थिक वृद्धिलगायत कारण दुई दशकभित्र उक्त परिमाणबराबरको जहाज आवश्यक पर्ने भएको हो । यस्ता जहाजमा न्यूनतम एक सयदेखि पाँच सयभन्दा बढी सिट क्षमताका हुनेछन्।

यो बजार प्रक्षेपण संसारभरका वायुसेवा कम्पनी, विमानस्थल, लगानीकर्ता, सरकार, गैरसरकारी संस्था तथा अन्य सरोकारवालाका लागि सहयोगी हुने एयरबसको भनाइ छ । एयरबसले आगामी दुई दशकसम्म हवाई यात्रु संख्या प्रत्येक वर्ष ४.४ प्रतिशतका दरले बढ्दै जाने अनुमान गरेको छ । साना, मध्यम, ठूला र अतिठूला गरी चार प्रकारका जहाजका माग बढ्दै जान थालेको एयरबसको भनाइ छ ।एयरबसका अनुसार हाल संसारभर गरी १९ हजार आठ सय तीन थान यात्रुबाहक जहाज सञ्चालनमा छन् । सन् २०३७ सम्ममा यो संख्या ४५ हजार दुई सय ६५ थान पुग्ने छ । यो भनेको २० वर्षमा ३६ हजार पाँच सय ६३ थान हो । त्यसबेलासम्म आठ हजार सात सय दुई थान जहाज आपूर्ति गर्न बाँकी हुनेछन्।

चालू वर्ष २०१८ सम्ममा अफ्रिकामा पाँच सय ८८ थान, एसिया प्रशान्त क्षेत्रमा ६ हजार पाँच सय ९४, युरोपमा चार हजार ६ सय ५१, दक्षिण अमेरिकामा एक हजार तीन सय ५१, मध्यपूर्वमा एक हजार दुई सय ३५ र उत्तर अमेरिकामा चार हजार पाँच सय २७ थान जहाज सञ्चालनमा छन् । २०३७ सम्म अफ्रिकामा एक हजार चार सय ६९, एसिया प्रशान्तमा १९ हजार तीन सय ६१, युरोपमा नौ हजार ४७, दक्षिण अमेरिकामा तीन हजार ९९, मध्यपूर्वमा तीन हजार तीन सय ७५ र उत्तर अमेरिकामा सात हजार दुई सय एक थान जहाज हुनेछन् ।यसको अर्थ आगामी दुई दशकभित्र अफ्रिकामा एक हजार एक सय ३१, एसिया प्रशान्तमा १५ हजार ६ सय ४३, युरोपमा सात हजार ७२, दक्षिण अमेरिकामा दुई हजार सात सय सात, मध्यपूर्वमा दुई हजार आठ सय २५ र उत्तर अमेरिकामा पाँच हजार नौ सय ६४ थान जहाज आपूर्ति हुनेछन्।

त्यसैगरी कार्गो बोक्ने जहाजतर्फ हाल एक हजार ६ सय ५० थान सञ्चालनमा छन् । तीमध्ये अफ्रिकामा ४६, एसिया प्रशान्तमा तीन सय १८, युरोपमा दुई सय ५३, दक्षिण अमेरिकामा ७०, मध्यपूर्वमा ७० र उत्तर अमेरिकामा आठ सय २३ थान सञ्चालनमा छन् । सन् २०३७ सम्ममा अफ्रिकामा एक सय सात, एसिया प्रशान्तमा आठ सय दुई, युरोपमा चार सय पाँच, दक्षिण अमेरिकामा ९९, मध्यपूर्वमा एक सय ३६ र उत्तर अमेरिकामा एक हजार ८८ थान जहाज हुनेछन् । दुई दशकभित्र अफ्रिकामा २३, एसिया प्रशान्तमा दुई सय ५२, युरोप एक सय तीन, दक्षिण अमेरिका १३, मध्यपूर्व ५४ र उत्तर अमेरिकामा तीन सय ४३ थान कार्गो जहाज आपूर्ति हुनेछन्।

यात्रुबाहक र कार्गो दुवै गरी हाल विश्वभर २१ हजार चार सय ५३ थान जहाज उडिरहेका छन् । सन्२०३७ भित्र यो संख्या बढेर ४७ हजार नौ सय ८७ थान पुग्ने छ भने दुई दशकभित्र जहाज आपूर्ति संख्या ३७ हजार तीन सय ८९ पुग्ने छ ।
 

प्रकाशित: १६ श्रावण २०७५ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App