१८ असार २०७७ बिहीबार
अर्थ

बसपार्क निर्माणमा ठेकेदारको लापरवाही

बाँके – नेपालगञ्जको अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको थियो।

पन्ध्र महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले अप्रिल २०१६ मा जिम्मा लिएको थियो। अव्यवस्थित रुपमा सञ्चालित नेपालगञ्जको बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण नहुँदा दुई महिनाअघि पुनः म्याद थप गरिएको थियो । ठेकेदार कम्पनीको लापर्बाहीका कारण नेपालगञ्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ। निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न तथा टिकट काट्न समस्या भएको छ। निर्माण कम्पनीले गत जुनभित्र काम सक्ने गरी २० करोड रुपैयाँ लागत अनुमानमा ठेक्का लिएको नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनियर सुरजकुमार गुप्ताले बताए। साढे चार बिगाह क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो।

बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्न थालिएको हो। निर्माण कम्पनीले मुख्यद्वार र पक्की पर्खाल निर्माणको समेत जिम्मा लिएको थियो। बसपार्कको निर्माण कार्य सम्पन्न नहुँदा त्यस क्षेत्रमा निर्माण क्रममा जथाभावी माटो थुपारिँदा गाडी पार्किङमा समस्या भएको यातायात व्यवसायीको गुनासो छ। निर्माण शुरु भएको दुई वर्षमा जम्मा ३० प्रतिशत काम सम्पन्न भएको हुँदा अबको दुई महिनामा निर्माण सम्पन्न हुने सम्भावना निकै न्यून देखिएको छ। रासस

 

प्रकाशित: १४ श्रावण २०७५ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App