७ वैशाख २०८१ शुक्रबार
अर्थ

पौने ३ करोड राजश्व संकलन

नुवाकोट – जिल्ला प्रशासन कार्यालय नुवाकोट गत आर्थिक वर्षमा झण्डै पौने ३ करोड राजश्व असुल गर्न सफल भएको छ। 

कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा २ करोड ६९ लाख ४० हजार ८९५ राजश्व संकलन गरेको जनाएको छ। शुक्रबार सार्वजनिक विवरणअनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व असुल गरेको छ।

४ हजार ९६८ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत २ करोड ६० लाख २ हजार ५०० राजश्व संकलन गरेको छ। प्रशासनले दु्रत सेवाका लागि ४ हजार पाँच राहदानीका लागि सिफारिससमेत गरेको छ। 

एक वर्षमा झण्डै ९ हजार जनाले राहदानी बनाएका छन्। जिप्रकाले अन्य राजश्व भने संस्था दर्ता, संस्था नवीकरण, हातहतियार नामसारी तथा नवीकरण, प्रशासनिक दण्ड जरिवाना, परीक्षा दस्तुर, बेरुजु असूली, न्यायिक दण्ड जरिवानालगायतबाट राजश्व उठाएको प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए। 

जिप्रकाले गत वर्ष आठ हजार ९८५ नागरिकता वितरण गरेको छ। यस्तै ४ हजार ९७३ प्रतिलिपि नागरिक पनि वितरण गरिएको छ। वैवाहिक अंगीकृत नागरिक पाँच वटा वितरण भएको छ। 

यस्तै ५४ संस्था दर्ता भएको छ भने १२६ वटाको नवीकरण भएको छ। १ सय ६० जनाको नाबालक परिचयपत्र वितरण भएको तथा ४ हजार ५५१ वटा सिफारिश भएको छ।

यसैबीच गत आवमा बाढी पहिराबाट १२ घरमा क्षति पुगेको तथा एक घरमा आगलागी भएको जिप्रकाले जनाएको छ। पहिरो र आगोले क्षति भएका घरधनीलाई १ लाख २६ हजार राहत प्रदान गरिएको थियो।   (रासस)

प्रकाशित: १२ श्रावण २०७५ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App