८ वैशाख २०८१ शनिबार
अर्थ

रामेछापमा एक अर्ब बजेट फ्रिज

रामेछाप– गएको आर्थिक ०७४-७५ मा रामेछाप जिल्लाको चालु र पुँजीगत दुवैतर्फ गरी ९९ करोड ३१ लाख चार हजार आठ सय ४७ रुपैयाँ फ्रिज भई राज्यकोषमा नै गएको छ।

जुन कुल बजेटको ७.३२ प्रतिशत हुन आउँछ ।जिल्लामा आएको बजेटको अख्तियारीलाई हेर्दा ९२.६८ प्रतिशत मात्र बजेट खर्च भएको देखिन्छ । अन्य रकम काम हुन नसक्दा राज्यकोषमा नै फिर्ता गएको कोष तथा लेखा नियन्त्रकको कार्यालय रामेछापले जनाएको छ । जिल्लामा बजेट समयमा आएको भए पनि सम्बन्धित कार्यालयहरुले समयमा खर्च नगरी असारको अन्तमा मात्र काम गर्ने प्रवृतिले रकम फिर्ता भएको कार्यालयले जनाएको छ।

जिल्लामा पुँजीगततर्फ विनियोजन भएको दुई अर्ब १५ करोड ८८ लाख ३१ हजारमध्ये एक अर्ब ६८ करोड ९८ लाख २० हजार सात सय ५२ मात्र खर्च भएको छ । ४६ करोड ९० लाख १० हजार दुई सय ४७ रुपैया फ्रिज गएको हो । चालु तर्फ विनियोजित ११ अर्ब ४१ करोड ९२ लाख ६४ हजार पाँच सय ७६ मध्ये ५२ करोड ४० लाख ९४ हजार पाँच सय ९९ रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भएको कोष तथा लेथा नियन्त्रकको कार्यालय रामेछापले जनाएको छ।

दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको रामेछापमा पाँचवटा स्थानीय तहको सशर्त अनुदान रकमसमेत खर्च हुन नसकेको देखिन्छ । तीनवटा स्थानीय तहको बजेट खर्च हुन नसके पनि खर्च हुन नसकेको शीर्षकमा उल्लेख नभएको कोष तथा लेथा नियन्त्रकको कार्यालय रामेछापका लेखापाल कमल गौतमले जानकारी दिए । उनले खर्च हुन नसकेको भनेर नदेखिएका कार्यलयले अर्को वर्ष खर्च गर्ने गरी रकम राखेको भए पनि नियम बमोजिम बेरुजुु दाखिला गर्नुपर्ने अवस्था आउन सक्ने गौतमले बताए।

मन्थली नगरपालिका, गोकुलगंगा गाउँपालिका र सुनापति गाउँपालिकाले भने सशर्त अनुदानको रकम बाँकी नरहेको देखाएका छन् । त्यस्तै रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, दोरम्बा गाउँपालिका र खाँडादेवी गाउँपालिकाको भने सशर्त अनुदानको समेत रकम खर्च हुन नसकेर बाँकी रहेको छ ।

गत वर्षहरुको तुलनामा यस वर्ष जिल्लामा राम्रै काम भएको देखिए पनि भूकम्पपछिको पुनर्निर्माणका लागि आएको निजी आवस निर्माण बापतको किस्ता रकम समयमै जान नसक्दा फ्रिज रकम केही बढ्न गएको देखिएको हो । तर फ्रिजको दर भने केही घटेको गौतमले जानकारी दिए ।यसैबीच गत आबमा रामेछापबाट १७ करोड ९७ लाख ५५ हजार चार सय ४० राजस्वसमेत उठेको कोष तथा लेखा नियन्त्रकको कार्यालय रामेछापले जनाएको छ ।
 

प्रकाशित: १० श्रावण २०७५ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App