१४ आश्विन २०७७ बुधबार
अर्थ

तरकारी खेतीमा आधुनिक प्रविधि

टनेलभित्र गरिएको टमाटर खेतीमा डम्वरी पौडेल। तस्बिरः नगेन्द्रनागरिक

सुर्खेत – वीरेन्द्रनगर ४ खोर्केकी डम्वरी पौडेलले आधुनिक प्रविधिको प्रयोग गरेर व्यवसायिक तरकारी खेती गर्न थालेको आठ महिना भयो। एक दशकदेखि तरकारी खेती गर्दै आएकी डम्वरी आधुनिक प्रविधिले समय र मेहनतको बचत गरेको बताउँछिन्। डम्वरीले दुई वटा फलामका स्थायी टनेल बनाएकी छन्। बाह्य किरा प्रवेश गर्न नदिन टनेललाई जालीले बेरेकी छन्।

तापक्रमलाई नियन्त्रण गर्नको लागि ग्रिन नेट राखेकी छन्। ‘तरकारीलाई किराबाट जोगाउन, गुणस्तरीय तरकारी फलाउन र लागत खर्च कम गर्न नेट प्रविधिले सहयोग गरेको छ’ उनले भनिन्, ‘आधुनिक प्रविधिले व्यवसायीक तरकारी खेती गर्न सहज भएको छ।’

प्रत्येक टमाटरको जरामा थोपा सिंचाईको व्यवस्था गरिएको छ। खुला र बाँसको अस्थायी टनेलको तुलनामा नेट प्रविधिको प्रयोग गरेर बनाइएको टनेलभित्र खेती गर्दा धेरै आम्दानी लिन सकिने उनले बताइन्। ‘आठ महिना अघिसम्म खुला ठाउँमा तरकारी लगाउँथे, रोग र किरा लागेर हैरान हुन्थ्यो’ डम्वरीले भनिन्, ‘आधुनिक प्रविधिले एकतिर रोग किराको समस्याबाट मुक्त गराएको छ नै अर्कोतिर आम्दानीमा पनि वृद्धि भएको छ।’ उनले आधुनिक प्रविधिको प्रयोगसँगै आम्दानी पनि बढेको बताइन्। ‘पहिले एक सिजनमा ३०–४० हजार रुपियाँ आम्दानी हुन्थ्यो’ उनले भनिन्, ‘अहिले एक लाखसम्म पुग्ने गरेको छ।’

खोर्केकै रम्वा पन्त गिरीले पनि आधुनिक प्रविधिमार्फत तरकारी खेती गर्ने गरेकी छन्। उनले टनेलभित्र टमाटर, बन्दा, काउलीलगायतका तरकारी लगाएकी छन्। नेट प्रविधियुक्त तीन वटा टनेलमा तरकारी खेती गर्दै आएकी उनी एक सिजनबाट डेढलाख रुपैयाँसम्म आम्दानी गर्छिन्। पाँच रोपनीमा तरकारी खेती गर्दै आएकी उनले यसैको आम्दानीबाट छोराछोरी पढाउन, घर खर्च लगाउन पुगेको बताइन्। आधुनिक प्रविधिले तरकारी खेती गर्न सहज भएको उनको भनाई छ।

डम्वरी र रम्वा जस्तै खोर्केमा रहेको शितल कृषि तथा पशुपालन समूहमा आवद्ध २० जना किसानले अहिले आधुनिक प्रविधिमार्फत तरकारी खेती गरिरहेका छन्। समूहलाई उच्चमूल्य कृषि वस्तु विकास आयोजनाले नेट प्रविधिका लागि १८ लाख २५ हजार रुपैयाँ अनुदान दिएको थियो। किसानले ८ लाख ४१ हजार रुपैयाँ लगानी गरे। अहिले २० वटै किसानले १८ मिटर लम्बाई र ६ मिटर चौडाईका टनेल निर्माण गरेर खेती गर्ने गरेका छन्। नेटसहितको टनेल खेती सुरु भएपछि समुहमा आवद्ध किसानले वर्षमा ५० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

किसानहरूले फलामको पक्की टनेलमा क्लीप, पानीको लागि थोपा सिँचाई, झार उम्रिन नदिन मल्चिङ प्लाष्टिक, तापक्रम नियन्त्रण गर्न ग्रीन नेट, किरा पस्न नदिन इन्सेक नेटको प्रयोग गरेका छन्। उच्च मूल्य कृषि बस्तु विकास आयोजनाका प्रमुख राजेन्द्र भारतीले नेट प्रविधिको प्रयोगले किसानहरुले थोरै जमिनमा धेरै आम्दानी लिनुका साथै दुःख पनि कम भएको बताए।

‘आयोजना लागू भएका अन्य ठाउँमा पनि यो प्रविधि पुर्याउने लक्ष्यमा हामी छौं’ प्रमुख भारीले भने, ‘थोरै जमिनबाट धेरै आम्दानी लिनुका साथै किसानहरुलाई पनि खेती गर्दा धेरै दुःख नहुने भएकाले अन्य ठाउँमा पनि यसको प्रयोग गर्ने तयारीमा छौं।’ आयोजनाले सुर्खेतसहित दैलेख, जाजरकोट, सल्यान, कालिकोट, जुम्ला र अछाम जिल्लाका काम गर्दै आएको छ।

प्रकाशित: ९ श्रावण २०७५ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App