१६ चैत्र २०८० शुक्रबार
अर्थ

कन्टेनर आयात २५ प्रतिशत बढ्यो

वीरन्जस्थित सुक्खा बन्दरगाह आयातित सामानले भरिभराउ। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - तेस्रो मुलुकबाट भारतीय बन्दरगाह हुँदै रेलमार्गबाट सुक्खा बन्दरगाह आउने कन्टेनरको संख्या २५ प्रतिशतले बढेको छ। विदेशबाट मालसामान बोकेर आउने कन्टेनरको संख्या बढेसँगै कन्टेनर बन्द मालसामानको आयात पनि बढेको छ।

बितेको आर्थिक वर्ष ०७४/७५ मा सुक्खा बन्दरगाहमा ४१ हजार ६ सय ६१ कन्टेनर (२० फिट एकाइमा) भित्रिएका छन्। यो गत वर्षको ३३ हजार एक सय ९६ भन्दा २५.५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कन्टेनर बोकेका तीन सय ८२ वटा ‘-याक’ (मालबाहक रेल) आएका थिए भने यो वर्ष त्यसभन्दा ९० वटा बढी अर्थात चार सय ७२ वटा -याक आएका छन् । एक -याकमा २० फिट एकाइमा ९० कन्टेनर आउने गरेको छ। यसरी अघिल्लो वर्षभन्दा आव ०७४/७५ मा सुक्खा बन्दरगाहमा आठ हजार एक सयभन्दा बढी कन्टेनर आएको देखिन्छ।

कन्टेनरमा विदेशबाट प्लास्टिक दाना लगायत विभिन्न खाले औद्योगिक कच्चा पदार्थ, विदेशी मदिरा, अखबार छाप्ने कागज, गेडागुडी, गाडी, लुब्रिकेन्ट, इलेक्ट्रोनिक सामान, मसला, हलुका पेय, हलुका पेयमा प्रयोग हुने चिनी, मेसिनरी, पार्टपुर्जा, तयारी पोसाक लगायत वस्तु आयात हुने गरेको छ। ‘यहाँ भएर विभिन्न देशका मालसामान आउने गरेका छन्,’ सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईंले भने, ‘यो वर्ष कुन सामान कति परिमाणमा भित्रियो भन्ने तथ्यांक निकाल्ने क्रममा छौं।’

ढुवानीका लागि आयातकर्ताको रोजाइमा रेलमार्ग प्राथमिकतामा परेपछि कन्टेनर आयातमा भारी वृद्धि देखिएको सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताए। ‘बितेको आवमा सुक्खा बन्दरगाहमा आएकामध्ये तीन सय ८० ¥याक कोलकाताबाट र ९२ वटा -याक बिशाखापट्नमबाट आएका छन्,’ चौधरीले भने, ‘समग्रमा नेपाल आउने कन्टेनरको संख्या बढ्दो छ, त्यसमध्ये भारतीय बन्दरगाहदेखि नेपालसम्मको ढुवानीका लागि रेल्वेतिर आयातकर्ताको रोजाइ बढेको छ।’

आयातको तुलनामा निर्यात न्यून
आयातमा उल्लेखनीय वृद्धि भइरहेका बेला निर्यात भने न्यून नै छ । सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सको तथ्यांक अनुसार आव ०७४/७५ मा सुक्खा बन्दरगाह भएर जम्मा एक हजार ६ सय २० कन्टेनर मालसामान नेपालबाट निर्यात भएको छ। आयात भएको ४१ हजार ६ सय ६१ कन्टेनर संख्याको तुलनामा निर्यात भनेको ३.८८ प्रतिशत मात्र हो। गत वर्षको निर्यातसँग तुलना गर्दा भने यो २९ प्रतिशतले बढेको छ । पोहोर एक हजार दुई सय ५४ कन्टेनर आयात भएका थिए।

बल्क कार्गो र बे्रक बल्क बढेन
कन्टेनर बाहेक एक -याकमा एकै प्रकारको करिब अढाई हजार टन ओसार्ने मालबाहक रेलको संख्या यो वर्ष घटेको छ। बोराबन्द सामान र विभिन्न खाले फलामका -याकहरु गरेर पोहोर चार सय ४५ वटा आएका थिए। यो वर्ष त्यसको संख्या करिब पोहोरकै हाराहारी चार सय ४७ छ। यसमा बोराबन्द सामानका -याक अघिल्लो वर्षको दुई सयवटाको तुलनामा यो वर्ष २२ वटा बढी अर्थात दुई सय २२ वटा आएको छ। फलाम लिएर आउने -याकको संख्या भने घटेकै छ।

पोहोर दुई सय ४५ वटा फलामका -याक आएका थिए भने यो वर्ष दुई सय २५ मात्र आएको छ। औद्योगिक कच्चा पर्दाको रुपमा भारतका प्रान्तबाट मगाइने फलाम रेल्वेबाट ढुवानी गर्दा कुनैकुनै ‘कन्साइन्मेट’ (खेप)मा चाहिनेभन्दा बढी समय लाग्न थालेको छ। यसले गर्दा फलाम आयातकर्ता भने सडकमार्गतिर मोडिएपछि फलाम आयात सुक्खा बन्दरगाह भएर केही घटेको छ। राजस्वको मुख्य स्रोत रहेको फलाम आयात घट्दा सुक्खा बन्दरगाह भन्सारको आम्दनीमा असर परेको छ। २७ अर्ब ३३ करोड ५१ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको यो भन्सार कार्यालयले २८ अर्ब २९ करोड ४२ लाख ६० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो।

प्रकाशित: ६ श्रावण २०७५ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App