७ वैशाख २०८१ शुक्रबार
अर्थ

गोलभेंडा किसान सोध्छन् ‘खै सरकार?’

पाँचथरको याङवरक गाउँपालिकाको गणेशचोकमा किसानको बगानमा कुहिँदै गरेका गोलभेंडा। तस्बिर : गिरिराज/नागरिक

पाँचथर - गोलभेंडा बिक्न छाडेको एक महिना हुन लागिसकेको छ। समस्या समाधनमा पहलकदमी नहुँदा ठूलो नोक्सानी हुने अवस्था आएको गुनासो याङवरक गाउँपालिका–८ कि संगीता योङहाङको छ। ‘खेती बढाएर तीन हजार पाँच सय बिरुवा रोपेका थियौं । बोटमै कुहिँदै छ । अहिले बगानमा जानै मन लाग्न छाड्यो,’ उनले भनिन् । सरकारले समस्या समाधान गर्नेतर्फ कुनै चासो नदेखाएको उनी चिन्तित छन्। ‘हामी किसानको पिरमर्का बुझिदिने कोही भएन । यस्तै हो भने त अर्को वर्षदेखि के खेती गर्नु खै?’ उनले भनिन्।

योङहाङ जस्तै अन्य किसान पनि चिन्तित छन्। जिल्लाको पकेट क्षेत्र मानिएको उत्तरी  हिलिहाङ, याङवरक गाउँपालिकाका विभिन्न गाउँका किसान गोलभेंडा खेतीदेखि निक्कै निरास हुन थालेका छन् । असार पहिलो सातादेखि गोलभेंडा भारतजान रोकिएसँगै यहाँका किसान प्रत्यक्ष रुपमा प्रभावित भएका हुन् । पछिल्लो दशकयता व्यावसायिक रुपमा गोलभेंडा खेती गर्दै आएका किसानले धेरै जमिनमा गोलभेंडा लगाएका छन्। यो सिजनमा खेती बढाउनका साथै राम्रो फसल लागेकाले आम्दानी पनि राम्रो हुने सपनामा तुसारापात भएको किसान बताउँछन्।

‘यत्रो ठूलो समस्या छ तर समस्या समाधान गर्न सरकारले पहल गरेको छैन,’ युवा कृषक प्रेम सिग्देल भन्छन्, ‘गाउँमै सरकार आउछ भन्थे, ‘किसानको समस्या यत्रो छ। खै सरकार कहाँ छ ?’ चारजना युवा मिलेर १८ हजार बिरुवा लगाएर खेती गरेका उनले विस्थापित हुने अवस्था आएको सुनाए । सरकारले आफ्ना समस्या नसुनेका भन्दै भालुचोक बजार छेउमा किसानले प्रतिकात्मक विरोध गरेको भन्दै मेची राजमार्गमा गोलभेंडा फालेका थिए।

चार वर्ष वैदेशिक रोजगारीमा कतार गएका पदम योङहाङले स्वदेश फर्केर गाउँमा गोलभेंडा खेती गरेका छन्। गोलभेंडा बेचेर पाँच लाख आम्दानी गर्ने उनले योजना बनाएका थिए। तर, गोलभेंडा नबिकेर बिजोग बनेको उनले सुनाए। ‘क्यारेटको (२३ केजी) को ५०–६० रुपैयाँ भन्छन् । यसले त टिपेको खर्च पनि उठ्दैन,’ उनले भने, ‘पहिलो छिमलको कुहिएर सकियो, पछिल्लो छिमलको लोभलाग्दो गरी फलेको छ। के गर्नु पसिनाको भाउनै नउठ्ने भयो।’ सरकारले नाका खुलाएर गोलभेंडा भारत जाने वातावरण बनाइदिनु पर्ने उनको माग छ । संसदमा पनि यसबारे कुनै कुरा नउठेको भन्दै उनी असन्तुष्टि व्यक्त गर्छन्।

भारतले गोलभेंडा निकासी रोकेपछि किसानहरु समस्यामा छन्। भारत जाने कृषिजन्य उत्पादनको सूचिमा नपरेको भन्दै काकडभिट्टा नाकाबाट गोलभेंडा निकासी हुन दिइएको छैन। आन्तरिक बजारले यहाँको उत्पादन धान्न नसक्ने भएकाले गोलभेंडा बिक्री हुन सकिरहेको देखिँदैन। असारदेखि कात्तिकसम्म गोलभेंडा उत्पादन हुने गर्छ । फरक फरक समयमा फल्ने गरी किसानले गोलभेंडा लगाएका हुन्छन्। एकातिर गोलभेंडा पाकेर कुहिँरहेको छ भने अर्कोतीर लटरम्म पाक्न लागेका गोलभेंडा देखिन्छन्। अब निस्कने फसल पनि नबिक्ने त्रासमा किसान छन्। भारतीय व्यापारी गोलभेंडा लिन तयार भए पनि नाकाको अवरोधले समस्या भएको व्यापारीको भनाइ छ।

‘धान फल्ने खेतमा गोलभेंडा लगाइयो। कमाई राम्रो हुन थालेपछि गोलभेंडा बेचेर धानभन्दा धेरै कमाई हुोला सोचेको थिए,’ खेतमा कुहिँदै गरेको गोलभेंडा देखाउँदै किसान टंक काफ्लेले भने, ‘गाउँ, प्रदेश तथा संघीय सरकारले हाम्रो समस्या बुझेन। पहल गरेर नाका खोल्नु पर्नेमा बोलेको सुनिँदैन ।’ सरकारले समस्या समाधानका लागि पहल नगरेको किसानको गुनासो छ । परिवार पाल्ने, नानीहरु पढाउने, औषधि उपचार गराउने आम्दानी गोलभेंडाबाट जुटाउने गरे पनि यसपालि नबिकेर ठूलो समस्यामा परेको हिलिहाङकी शान्ता राई बताउँछिन। व्यापारीले सस्तोमा बिर्तामोडसम्म पु¥याएको गोलभेंडा कुहिँने अवस्थामा पुगेको व्यापारीहरु बताउँछन्।

सरकारले समस्या समाधानमा ध्यान नदिँदा किसानहरु ‘डिप्रेसनमा’ पुग्ने अवस्था आएको राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेल बताउँछन्। ‘प्रदेश मुख्यमन्त्रिलाई भेटेर कुरा ग¥यौं,’ वाणिज्य सचिवसँग कुरा भयो । पत्रपत्रिकामा किसानको समस्या आइरहेका छन्। तर सरकारले पटक्कै सुनेको छैन,’ उनले भने, ‘कृषिप्रधान देश भन्या छ । किसान यत्रो समस्यामा पर्दा पनि सरकार केही बोल्दैन ।’ गोलभेंडा खेतीमा लागेका युवा पनि विस्थापित हुने अवस्था आएको उनको बुझाइ छ।

गोलभेंडामा ठूलो समस्या आएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र आङ्बो बताउँछन्। ‘किसानले समस्या अवगत गराइरहेका छन् । अन्तर्राष्ट्रिय निकासी, व्यापार संघीय सरकारले हेर्ने गर्छ,’ आङबोले भने, ‘मैले संघीय अर्थ तथा वाणिज्य मन्त्रालयका मन्त्रिहरुसँग कुराकानी गरिरहेको छु। छिटोभन्दा छिटो समस्या समाधान गर्न पहल गर्दैछु।’

प्रकाशित: ६ श्रावण २०७५ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App