६ वैशाख २०८१ बिहीबार
अर्थ

नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ। ऊर्जामन्त्रालयमा शुक्रबार भएकाे शिष्टाचार भेटमा मन्त्री पुनले आफु ऊर्जा मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै ऊर्जा र जलविद्युत् क्षेत्रको समग्र विकासका लागि श्वेतपत्र जारी गरेको जानकारी दिँदै १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको बताए। 

मन्त्री पुनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारलाई थप लगानी आवश्यक रहेकाले त्यसका लागि अष्ट्रेलियन सरकारको तर्फबाट सहयोगको अपेक्षा राखेको बताए। अष्ट्रेलियन सरकारले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा गरेको सहयोगप्रति सरकारको तर्फबाट मन्त्री पुनले धन्यवाद व्यक्त गरे। 

भेटमा अष्ट्रेलियन राजदूत बडले ऊर्जामन्त्रालय मातहतका निकायलाई विज्ञ उपलब्ध गराई प्राविधिक सहयोग उपलब्ध गराउन अष्ट्रेलियन सरकार तयार रहेको बताए। उनले ऊर्जा क्षेत्रमा नेपालसँग काम गर्न आफूहरु इच्छुक रहेको बताउँदै सौर्य ऊर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु इच्छुक रहेको जानकारी दिए। निजी क्षेत्रको एक अष्ट्रेलियन कम्पनीले नेपालमा तीन सय मेगावाटको सौर्य प्रणाली स्थापना गर्ने इच्छा व्यक्त गरेको बारे बडले मन्त्री पुनलार्इ जानकारी गराए। 

प्राविधिक सहयोगसम्बन्धमा हस्ताक्षर 
यसैगरी ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जामन्त्री पुनको उपस्थितिमा शुक्रबार कम्पनीका प्रबन्ध निर्देशक मोहनराज पन्त र अष्ट्रेलियन डेभलपमेन्ट कोअपरेशनका अधिकारीबीच १२ बुँदे सहझदारीपत्रमा हस्ताक्षर भएको हो। 

राष्ट्रिय महत्वका जलविद्युत् परियोजनाको विकासमा प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने विषयमा समझदारीपत्र केन्द्रीत रहेको प्रबन्ध निर्देशक पन्तले बताए। त्यसैगरी समझदारी अनुसार अष्ट्रेलियाले विद्युत् गृहको स्वरुप निर्धारण र पुनरावलोकनमा सहयोग गर्नुका साथै भू–प्राविधिक कार्यमा समेत सहयोग गर्नेछ । रासस

प्रकाशित: ४ श्रावण २०७५ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App