७ वैशाख २०८१ शुक्रबार
अर्थ

कार्यशैलीबाट प्रधानमन्त्री सन्तुष्ट

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीबार अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः सन्तोष /नागरिक

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको भौतिक प्रगतिबाट आफू सन्तुष्ट रहेको बताएका छन् ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफैले शिलान्यास गरेको (२०७३ वैशाख १ गते) यो आयोजनाको गतिबाट आफू सन्तुष्ट रहेको उनले बताए।

शिलान्यासको डेढ वर्षपछि गत कात्तिक अन्तिमदेखि बल्ल विमानस्थलको पूर्वाधार बनाउन थालिएको हो । झन्डै नौ महिना अवधिमा विमानस्थलको करिब १५ प्रतिशत काम भएको आयोजनाले जनाएको छ । आफैले शिलान्यास गरेको विमानस्थलको भौतिक प्रगति बुझ्न बिहीबार आयोजनास्थलमा पुगेका प्रधानमन्त्री ओलीले अहिलेसम्मको काम गराइको शैलीबाट आफू सन्तुष्ट रहेको बताए।

‘म यो कामबाट निकै नै सन्तुष्ट छु । काम छिटै भएको रहेछ । मैले समयमै काम सक्न पनि निर्देशन दिएको छु,’ आयोजनाबारे बुझेपछि सञ्चारकर्मीसँग ओलीले भने, ‘तोकिएको समयमा आयोजना पूरा पनि हुनेछ ।’ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले गण्डकी प्रदेशको विकासको ढोका खोल्ने उनले बताए।

विमानस्थल बनेपछि पोखरामा अझ बढी विदेशी पर्यटक आकर्षिक हुने र त्यसले प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन सघाउने पनि उनले बताए । ‘गण्डकी प्रदेश आफैंमा पर्यटकीय गन्तव्य हो । यो विमानस्थलले पोखरामा अरु विदेशी पर्यटक भित्र्याएर आर्थिक गतिवधि बढाउन सघाउनेछ,’ उनले भने, ‘आर्थिक, पर्यटकीय र सांस्कृतिक हिसाबले पनि यो विमानस्थलको महत्व रहेको छ ।’ मुलुकलाई नै समृद्ध बनाउन अहिले विभिन्न ठाउँमा विमानस्थल बनाउने काम सरकारले गरिरहेको उनले बताए।

प्रधानमन्त्री ओलीले विमानस्थल बनेपछि आवश्यक सडक, पुलपुलेसा लगायत पूर्वाधारबारे पनि जानकारी मागेका थिए । उनले पोखरा भित्रिने पृथ्वी राजमार्गको स्तरोन्नति र विजयपुर खोलामा पुल बनाउने योजनाबारे पनि सोधखोज गरेका थिए । ‘अहिलेकै सानो आकारको बाटोको भरमा चलाउन सकिन्न होला,’ विमानस्थल आयोजनाका प्राविधिकसँग उनले जिज्ञाशा थियो । प्रधानमन्त्रीको जिज्ञाशामा प्राविधिकहरुले पृथ्वी राजमार्ग र विमानस्थल भित्रिने बाटो चार लेनको हुने र विजयपुर खोलामा अर्काे पुल थपिने जानकारी दिएका थिए।

प्रधानमन्त्रीसँगै आएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले साउन अन्तिमदेखि विमानस्थलको टर्मिनल भवन बनाउन थालिने जानकारी दिए । ‘सन् २०२१ को जुलाईसम्म विमानस्थल तयार हुन्छ । अबको ६ महिनामा यहाँको प्रगति धेरै नै देखिनेछ,’ उनले भने, ‘अहिलेसम्म १५ प्रतिशत काम हुनु पनि राम्रो हो । भौतिक पूर्वाधारलाई ७० प्रतिशत मान्दा यो प्रगति धेरै नै हो ।’ सन् २०१९ सम्म विमानस्थलको धावनमार्ग सहित पूर्वाधारमा अझै बढी प्रगति देख्न पाइने उनले बताए । ‘अबको ६ महिनामा अहिलेको प्रगति दोब्बर पुगिसक्छ,’ अधिकारीले भने।

कात्तिक अन्तिमदेखि सुरु भएको सरकारको राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्राथमिकतामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ‘अर्थवर्क’ (माटो काट्ने र सम्याउने) काम भइरहेको छ । आयोजना प्रमुख विनेश मुनकर्मीले १५ प्रतिशत काम हुनुलाई सकारात्मक मान्नुपर्ने बताए । उनका अनुसार अर्थवर्क गर्दा सबैगरी झन्डै साढे १८ लाख घनमिटर माटो काट्नुपर्छ । त्यस्तै २५ लाख घनमिटर माटो भर्नुपर्ने हुन्छ।

‘अहिलेसम्मको काम गराईको गति राम्रो हो,’ उनले भने । उनका अनुसार विमानस्थलका लागि पूर्वी भेगमा रहेको एउटा डाँडा (बानियाँ पाखोको डाँडा) काट्नुपर्छ । त्यो डाँडाको १४ मिटर उचाइ काट्नुपर्ने हुन्छ । तर, त्यसको अहिलेसम्म प्रक्रिया अघि बढेको छैन । केही सार्वजनिक र निजी जग्गा रहेको उक्त डाँडाको नापजाँच भइसकेको उनले बताए । ‘प्रधानमन्त्रीले त अझै पाँच मिटर बढी गहिरो हुनेगरी डाँडा काटौ भन्नुभएको छ,’ उनले भने, ‘त्यसबारे अध्ययन हुँदैछ।’

वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्वबाट अवतरण गर्ने र पूर्वतिरै फर्केर टेकअफ गर्नेगरी विमानस्थल बन्दैछ । त्यसका लागि एप्रोचको नजिक पर्ने यो डाँडा काट्नुपर्ने हुन्छ । ‘डाँडाकै कारण जहाज अवतवरण गर्न नसक्ने होइन,’ मुनकर्मीले भने, ‘केही स्ट्यान्डर्ड पूरा गर्नका लागि पनि डाँडा काट्नुपर्छ ।’ उनका अनुसार अहिले रनवे, ट्याक्सी वे काम भइरहेको छ । टर्मिनल भवन बनाउन डिजाइन रिभ्यू भइरहेको उनले बताए।

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ । विमानस्थलको धावनमार्ग २५ सय मिटर लम्बाइ र ६० मिटर चौडाइ (ढलसहित) हुनेछ।

प्राधिकरण र सिएएमसिई बीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन)को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।

सरकारले सन् २०२१ जुलाईसम्म विमानस्थल निर्माण सक्ने गरी निर्माण कम्पनीलाई जिम्मा दिएको छ । एक्जिम बैंकले विमानस्थल बनाउन दिने ऋण यसअघि नै अनुमोदन गरिसकेको छ ।विमानस्थल बनाउन पाँच सय २१ रोपनी थप जग्गा अधिग्रहण सकिएको छ । इपिसी मोडलमा बन्ने भएकाले ठेकेदारले निर्माण थालेको चार वर्षपछि सरकारलाई विमानस्थल हस्तान्तरण गर्नेछ।

चार दशकअघि पोखरा–१४, १५ र १८ वडा को तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप पाँच सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरिएको छ । ‘विमानस्थल वरिपरि दुई लेन फराकिलो १० किलोमिटर सडक बन्नेछ । जुन खुला सडकको रुपमा उपयोग हुने आयोजनाले जनाएको छ ।


 

प्रकाशित: ४ श्रावण २०७५ ०१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App