६ वैशाख २०८१ बिहीबार
अर्थ

नबिल बैंकले खोल्यो एकै दिन १२ शाखा

काठमाडौं - नबिल बैंक लिमिटेडले ग्रामीण क्षेत्रमा एकै दिन १२ शाखा स्थापना गरेको छ । उक्त शाखाको अर्थमन्त्री युवराज खतिवडा र बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्त रुपमा इलेक्ट्रोनिक माध्यमबाट उद्घाटन गरे।

उक्त शाखाहरु प्रदेश ५ र ७ मा खोलिएका हुन् । बैंकले डडेल्धुराको आलिताल गाउँपालिका, सुर्खेतको बराहताल गाउँपालिका, बजाङको बित्थडचिर गाउँपालिका, रुपन्देहीको सम्मरीमाई गाउँपालिका, जुम्लाको तिला गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, कालिकोटको पचालझरना गाउँपालिका, कालिकोटको पलाता गाउँपालिका, बैतडीको पन्चेश्वर गाउँपालिका, अछामको रामारोशन गाउँपालिका, डोटीको सायल गाउँपालिका र अछामको तुर्माखाँद गाउँपालिकामा शाखा स्थापना गरेको हो।

शाखा उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा वित्तीय पहुँच पुर्याउने योजनाले बल्ल मूर्त रुप लिएको बताए । ‘म राष्ट्र बैंकमा हुँदा पश्चिमका ग्रामीण क्षेत्रमा बैंकका शाखा स्थापना गर्न पुगेको छु,’ उनले त्यसबेलाको अनुभव सुनाउँदै भने, ‘काठमाडौं बसेर मात्र नेपाली भइँदैन । काठमाडौंको सुखलाई गाउँसम्म पुर्याउन सक्नुपर्छ अनि मात्र नेपाली भइन्छ।’

बजेटमा सबै नेपालीको बैंक खाता हुनुपर्ने व्यवस्था गरिएको पनि अर्थमन्त्री खतिवडाले बताए । ‘बैंकहरु गाउँ जानैपर्छ । यो हाम्रो देश हो । दुर्गमका जनता पनि नेपाली नै हुन् । ती हाम्रो जनता हुन्,’ उनले भने, ‘काठमाडौंमा बसेर मात्र नेपाली भइँदैन । नेपाली हुनलाई गाउँ पनि जानुपर्छ । गाउँको दुःख पनि थाहा पाउनु पर्छ ।’राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सात सय ५३ स्थानीय तहमध्ये पाँच सय ५६ स्थानीय तहमा बैंकले शाखा स्थापना गरिसकेको बताए । ‘एक सय ९७ स्थानीय तहमा अझै पनि शाखा स्थापना गर्न सकिएको छैन,’ उनले भने, ‘त्यसमध्ये पनि ६५ स्थानीय तहमा शाखा खोल्न निकै गाह्रो भएको छ ।’

सिवाकोटीले स्थानीय तहमा शाखा खोल्दा राजनीतिक दलका नेताले आफ्नो मान्छे (कार्यकर्ता) बैंकमा जागिर लगाइदिए मात्र शाखा खोल्न दिने अन्यथा नदिने धम्कीसमेत दिने गरेको  खुलासा गरे । ‘रसुवामा आफ्नो मान्छे नराखेको भन्दै बैंकका कर्मचारीलाई फिर्ता गरेका छन्,’ उनले भने, ‘सुरक्षाको माग गर्दै अर्थ मन्त्रालयमा पत्र पठाएका छौं ।’कार्यक्रममा सक्षमका टिमलिडर बलजित बोहराले नबिल बैंकको ग्रामीण बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्यमा शाखा स्थापना गर्न सहयोग पुर्याउन सकेकोमा खुसी व्यक्त गरे ।

‘यस सहायताको माध्यमबाट हामीले सेवा नपाएका ग्रामीण जनसंख्यासम्म बैकिङ सेवाको पहुँच पुर्याउने, आर्थिक विकासलाई ऊर्जा दिने र स्थानीय सरकारहरूलाई केन्द्रीय सरकारबाट रकम प्राप्त गर्न तथा स्थानीय वित्तीय व्यवस्थापनका अभिभारा पूरा गर्न सक्षम बनाउने काम गरिरहेका छौं । यी बैंक शाखाबाट सामाजिक सुरक्षा भुक्तानी पनि हुनेछन् भन्ने हामीले आशा लिएका छौं,’ बोहराले भने, ‘यी शाखाले स्थानीय तहमा रहेका व्यक्ति तथा लघु, साना तथा मझौला उद्योगहरूलाई आफ्नै घरदैलोमा सम्पूर्ण बैकिङ सेवा प्राप्त गर्न पनि सहयोग गर्नेछन् ।’

नबिल बैंकका अध्यक्ष पौड्यालले विकट गाउँपालिकामा १२ नयाँ शाखाबाट सेवा प्रदान गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । ‘सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिअनुसार कम्तीमा एक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा होस् भन्ने भावनाले ती ठाउ“मा बैंकले ग्राहक सुविधा उपलब्धताका लागि शाखा सञ्चालनमा ल्याएको हो,’ उनले भने, ‘ग्राहकलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहेको छ।’

व्यावसायिक र प्रभावकारी बैंकिङ सुविधा प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ आवश्यकता नविनतम रुपले परिपूर्ति गर्ने योजना अनुरुप ग्रामीण क्षेत्रमा शाखा स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । ‘बैंकका थप नया“ शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्ने छन्,’ उनले भने, ‘देशको अग्रणी स्थानमा रहन सफल नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुविधाहरु समाजका विभिन्न तह र तप्काका बढीभन्दा बढी ग्राहकलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न ठाउ“मा शाखा कार्यालयको सञ्जाल बढाउँदै लगेको छ ।’

नबिल बैंकले ७४ वटा शाखाको बृहत सञ्जाल, एक सय १५ वटा एटिएमको विशाल संरचना तथा एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टमार्फत् सेवा प्रदान गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २ श्रावण २०७५ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App