८ वैशाख २०८१ शनिबार
अर्थ

तीन स्थानीय तहको बजेट डेढ अर्ब

खोटाङ - खोटाङका तीनवटा स्थानीय तहको बजेट करिब डेढ अर्ब रुपैयाँ रहेको छ । जनप्रतिनिधिले तयार गरेको आर्थिक वर्ष ०७५-७६ को बजेटमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६८ करोड ६० लाख ९६ हजार बजेट विनियोजन गरेको छ ।

सदरमुकाम दिक्तेलमा सम्पन्न तेस्रो नगर सभामा नगरपालिकाकी उपप्रमुख बिनादेवी राईले आगामी आवका लागि संघीय सशर्ततर्फ ३२ करोड नौ लाख, प्रादेशिक सशर्ततर्फ दुई करोड, चालु खर्चतर्फ आठ करोड ४९ हजार, विशेष कोषतर्फ एक करोड ७४ लाख ७४ हजार र समपुरक कोषतर्फ दुई करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्।

बजेटले दिगो र गुणस्तरीय पूर्वाधार विकास, सामाजिक विकास, सामाजिक न्याय तथा लैंगिक मूल प्रवाहीकरण, कृषि, पशुपंक्षी, सहकारी, उद्यममार्फत रोजगारी र उत्पादनमा वृद्धि, वातावरण संरक्षण र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिएको छ ।

त्यस्तै, निर्माणाधीन मध्यपहाडी लोकमार्ग, निर्माणाधीन महुरे–फोक्सिङ्टार सडक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थल हलेसीथान, देवीथान मझुवागढी, माहुरेगढी, रुपाकोट, भुलभुले लगायतको पर्यटन विकासलाई पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।

हलेसी तुवाचुङको साढे ४४ करोड
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले साढे ४४ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आव ०७५-७६ का लागि नगरपालिकाले ४४ करोड ५४ लाख ४३ हजार बराबरको बजेट ल्याएको हो ।

‘आर्थिक समृद्धिका लागि त्रि–धार्मिक नगर, कृषि, पर्यटन र शिक्षा विकासको आधार’ भन्ने नारासहित शुक्रबार हलेसीको होटल हलेसी भिलेजमा आयोजित दोस्रो नगरसभामा उपमेयर बिमला राईले निशर्ततर्फ १९ करोड ३८ लाख ९९ हजार र सशर्ततर्फ १८ करोड ७० लाख बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।

निशर्त बजेटमध्ये पुँजीगततर्फ १४ करोड ४३ लाख २७ हजार र चालुतर्फ चार करोड ९५ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । पुँजीगत बजेट १४ करोड ४३ लाख २७ हजार सात सय ५० मध्ये नगरपालिकामार्फत आठ करोड ५७ लाख २८ हजार र ११ वडाका लागि पाँच करोड ८५ लाख ९९ हजार बजेट छुट्याइएको छ।

पुँजीगततर्फ सबैभन्दा बढी सडकलाई चार करोड ५७ लाख, पशु तथा कृषिका लागि एक करोड ३९ लाख १९ हजार, विद्युतका लागि एक करोड ११ लाख ८० हजार, संस्कृति तथा पर्यटनतर्फ ९५ लाख २० हजार, खानेपानी तथा सिँचाइका लागि ७१ लाख ९४ हजार, युवा उद्यमीका लागि ६० लाख ४० हजार, स्वास्थ्यका लागि ५८ लाख ७५ हजार, शिक्षाका लागि ४० लाख ५० हजार, खेलकुदका लागि २९ लाख ६० हजार, भाषा तथा साहित्यका लागि आठ लाख, जनजातिका लागि १२ लाख ५० हजार लगायतमा बजेट विनियोजन गरिएको छ ।

नगरको समृद्धिका लागि ‘कृषिको विकास, गरिबीको निकास’, ‘पर्यटकीय सहर, हलेसी तुवाचुङ नगर’ लगायत नीति तथा कार्यक्रम ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

खोटेहाङको बजेट ३० करोड
सडकलाई प्राथमिकतामा राखेर खोटाङको खोटेहाङ गाउँपालिकाले झन्डै ३० करोडको बजेट ल्याएको छ । आव ०७५÷७६ का लागि २९ करोड ९३ लाख ६३ हजार बराबरको नीति तथा कार्यक्रम ल्याएको हो ।

गाउँसभाले निशर्ततर्फ केन्द्र सरकारबाट आएको १५ करोड २९ लाख र प्रदेश सरकारबाट प्राप्त भएको ३३ लाख तथा सशर्ततर्फ १४ करोड ३१ लाख बजेट बिनियोजन गरेको हो ।

गाउँसभाले निशर्त अनुदानमध्येबाट पुँजीगततर्फ १० करोड ७४ लाख ९० हजार र चालुतर्फ चार करोड ७१ लाख ६३ हजार रुपैयाँको बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता शिव फुयाँलले बताए । पुँजीगततर्फको बजेटबाट सबैभन्दा बढी बजेट सडक निर्माणका लागि विनियोजन गरिएको छ ।

सडक निर्माण सम्बन्धी ठूला आयोजनाका लागि एक करोड ८० लाख ७७ हजार विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँसभाले गाउँपालिका, वडा कार्यालय र विद्यालय भवन निर्माण, सामाजिक विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको जनाएको छ ।

प्रकाशित: ३२ असार २०७५ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App