१६ चैत्र २०८० शुक्रबार
अर्थ

वर्षातमा इन्धन खपत घट्यो

काठमाडौं - वर्षात् सुरु भएसँगै बजारमा इन्धनको खपत घटेको छ । वर्षातमा सवारी वालाले यात्रा कम गर्ने र विकास निर्माणका काम घटेपछि इन्धन खपत घटेको नेपाल आयल निगमले जनाएको छ।

खाना पकाउने ग्यास बाहेक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धनको खपत घटेको छ । वार्षिक रुपमा इन्धनको खपत बढे पनि गत मेको तुलनामा जुनमा खपत घटेको हो ।पेट्रोल ११ प्रतिशत, डिजेल ६, हवाई इन्धन २४ प्रतिशतले आयात घटेको निगमले जनाएको छ । खपत घटेसँगै इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन आयात घटेको छ ।

मे महिनामा ४७ हजार एक सय सात किलोलिटर पेट्रोल आयात भएकामा जुनमा पाँच हजार एक सय सात किलोलिटर घटेर ४२ हजार किलोलिटरमात्र आयात भएको छ ।डिजेल एक महिनामा नौ हजार ४० किलोलिटर घटेको छ । मेमा एक लाख ६३ हजार चार सय ३७ किलोलिटर आयात भएकोमा जुनमा एक लाख ५४ हजार तीन सय ९७किलोलिटर मात्र आयात भएको छ । त्यसैगरी, हवाई इन्धन गत महिनाको तुलनामा चार हजार पाँच सय ३९ किलोलिटर कम आयात भएको छ । मे १८ हजार सात सय ८० किलोलिटर खपत भएकोमा जुनमा १४ हजार दुई सय ४१ किलोलिटर आयात भएको हो ।

बजारमा माग कम भएपछि आयात पनि घटेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘जुनमा इन्धनको खपत घटेको छ,’ उनले भने । वार्षिक रुपमा भने इन्धन खपत बढिरहेको भट्टराईले बताए ।पछिल्ला पाँच वर्षमा इन्धन खपत एक सय प्रतिशतले बढेको छ । सवारी साधनको चाप बढेपछि  खपत ह्वात्तै बढेको हो । जनसंख्या वृद्धिसहित सवारी साधनको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थ व्यवस्थापन गर्न आयल निगमलाई हम्मे पर्न थालेको छ । पेट्रोलियम पदार्थको खपत वार्षिक २० प्रतिशतले बढेको निगमले जनाएको छ।

आर्थिक वर्ष ०६९-७० मा पेट्रोल दुई लाख २१ हजार ६ सय ७६ किलोलिटर खपत भएकामा आर्थिक वर्ष ०७३-७४ मा चार लाख दुई हजार दुई सय ७८ किलोलिटर खपत भएको थियो । अघिल्ला वर्षको तुलनामा यो चालु आर्थिक वर्ष ०७४-७५ मा इन्धनको खपत झनै बढेको छ । यही दरमा इन्धनको माग बढ्दै जाँदा अबको आठ वर्षपछि आर्थिक वर्ष ०८२-८३ मा १० लाख आठ हजार सात सय ६९ किलोलिटर पुग्ने निगमले जनाएको छ ।
 

प्रकाशित: २८ असार २०७५ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App