६ वैशाख २०८१ बिहीबार
अर्थ

सबै नागरिकलाई सेयरधनी बनाउने अभियानमा उर्जामन्त्री पुन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ ।

ऊर्जामन्त्री वर्षमान पुनको अग्रसरतामा मंगलबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सरोकारवाला उच्च अधिकारीसहित पहिलो चरणको छलफल सुरु भएको हो।

मन्त्री पुनले गत वैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा तथा जलस्रोत क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको श्वेतपत्रमा हरेक नेपालीलाई जलविद्युत् आयोजनाको मालिक बनाउने उल्लेख छ ।
श्वेतपत्रको बुँदा ५८ मा हिमाल, पहाड, तराई–मधेसका हरेक नेपाली जनतालाई जलविद्युत्मा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धिमार्फत राष्ट्रिय एकता सुदृढ गर्न ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने उल्लेख छ।

जनताको सेयर लगानी गर्न करिब तीन हजार तीन सय ९७ मेगावाटका १६ आयोजनाका विषयमा छलफल भएको थियो । यसमा सात सय २५ मेगावाटको माथिल्लो अरुण, चार सय मेगावाटको तल्लो अरुण, १०१ मेगावाटको तामाकोसी पाँचौं, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, दुई सय १० मेगावाटको सेती चैनपुर, ७० मेगावाटको सिम्बुवा, ७५ मेगावाटको ताप्लेजुङको घुन्सालगायत आयोजना छन् । जलविद्युत्को समविकासका लागि सबै प्रदेशमा जलविद्युत् आयोजना समेटिने हिसाबले आयोजनाको छनोट प्रक्रिया थालनी गरिएको छ।

आयोजना अन्तिम छनोट गर्न निरन्तर छलफल तथा परामर्श गर्ने मन्त्रालयले जानकारी दिएको छ । छलफलमा मन्त्री पुनले निर्देशन दिँदै छनोट हुने आयोजना नाफाका लागि मात्र नभई सेवाको दृष्टिले निर्माण हुनुपर्ने बताए ।
‘गरिब नागरिकको हातहातमा सेयर पुग्नुपर्यो, यसबाट उनीहरुको जीवनस्तर माथि उठ्नुपर्यो,’ मन्त्री पुनले भने, ‘यसरी निर्माण हुने आयोजना नाफाको सुनिश्चित गरेर मात्र निर्माण गरिनेछ।’

जनताको जलविद्युत् आयोजनाहरुको लागि स्रोत व्यवस्थापन कसरी गर्ने भन्नेमा समेत मंगलबारको बैठकमा छलफल भएको थियो । ऊर्जा मन्त्रालय अन्र्तगतको जलविद्युत् लगानी तथा विकास कम्पनीले आयोजना निर्माणमा लाग्ने अनुमानित लागत, आन्तरिक स्रोतको व्यवस्थापन र ऋण व्यवस्थापनको प्रारम्भिक खाका प्रस्तुत गरेको थियो।

छलफलमा ऊर्जामन्त्री पुन, ऊर्जासचिव अनुपकुमार उपाध्याय, विद्युत् विकास विभागका महानिर्देशक नविन सिंह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख छविराज पोखरेललगायत सरोकारवालाको उपस्थिति थियो ।

 

 

प्रकाशित: २७ असार २०७५ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App