६ वैशाख २०८१ बिहीबार
अर्थ

अर्बको लगानीका होटल दुई वटा थपिँदै

काठमाडौंको धुम्बाराहीस्थित होटल अक्मा ।तस्बिरः नागरिक

काठाडौं - राजधानीमा दुईवटा आधुनिक सुविधायुक्त स्टार होटल थपिने भएको छ । ग्रान्ड सिद्धार्थ एन्ड ग्रुप काठमाडौं र हाइलाइफ हस्पिटालिटी ललितपुरले एक÷एक अर्ब लगानीमा दुईवटा स्टार होटल निर्माण गर्न लागेको हो।

कम्पनी रजिस्ट्रार कार्यालयमा गत महिनामात्रै उक्त होटल सञ्चालनका लागि दर्ता गरेका छन् ।सरकारले २०२० लाई २० लाख पर्यटक भित्र्याउने घोषणा गरेसँगै पछिल्लो समय होटल सञ्चालनका लागि दर्तामा वृद्धि आएको छ । २०७५ वैशाखदेखि अहिलेसम्म कम्पनी रजिस्ट्रार कार्यालयमा  तीन सय ६४ वटा होटल, लज, रेस्टुरा तथा बार दर्ता भएका छन् ।  लगानी अनुसार होटलको वर्गीकरण गरिएको छ । वैशाखयता एक लाखदेखि एक करोड रुपैयाँ  लगानीमा दुई सय ६४ वटा होटल दर्ता भएको छ । यस्तै एक करोड रुपैयाँदेखि एक अर्ब अधिकृत पुँजीमा ८९ वटा होटल दर्ता भएको कम्पनी रजिस्ट्रार कार्यलयले जनाएको छ।

प्रदेश नम्बर ३ मा होटलमा लगानी बढेको देखिएको छ । केन्द्रस्य राजधानी भएका कारण पनि प्रदेश ३ मा होटल दर्ता बढेको हो । पछिल्लो तीन महिनामा ३ नम्बर प्रदेशमा दुई सय ८३ वटा होटल, बार, लज तथा रेस्टुरा दर्ता भएका छन् । यस्तै, प्रदेश ६ मा दुईवटा मात्रै होटल दर्ता भएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।  
होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाहले नेपालमा अन्तर्राष्ट्रिय चेन होटलहरुमा समेत लगानी बढेको बताए । स्टार होटलहरु धेरै दर्ता भए पनि सञ्चालको क्रममा रहेको उनको भनाइ छ।

‘देशभरिनै साना, ठूला होटल सञ्चालनको क्रममा छन्,’ उनले भने, ‘अहिले विशेष गरी छिमेकी देशका पर्यटकलाई लक्ष्य गरी होटल खुलेका छन् । हामीले गुणस्तरीय पर्यटकका लागि स्टार होटल निर्माण गर्नुपर्छ ।’

मलबेरी होटलका महाप्रवन्धक अमिरके प्रधानांगले भूकम्पपछि रोकिएको होटल दर्ता प्रक्रियामा  वृद्धि आएको बताए । ‘होटलमा लगानी बढेको छ । ठूला होटलमा ठूलै कम्पनी र ग्रुपको लगानी छ भने साना होटलमा सानै व्यवसायीको लगानी छ,’ उनले भने, ‘स्टार होटलदेखि होमस्टे दर्तामा समेत वृद्धि भएको देखिन्छ ।’  

होटल विस्तारसँगै देशको पूर्वाधार विकास हुनुपर्ने उनको धारणा छ । सडकमार्ग र हवाई सुविधा प्रभावकारी बनाउन सके २०२० मा २० लाख पर्यटक भित्र्याउने सक्ने उनको भनाइ छ ।कम्पनी रजिस्ट्रारो कार्यालयको तथ्यांक अनुसार वैशाखयता प्रदेश १ मा २१, प्रदेश २ मा ११, प्रदेश ३ मा दुई सय ८३, प्रदेश ४ मा ३०, प्रदेश ५ मा १४, प्रदेश ६ मा दुई र प्रदेश ७ मा तीनवटा होटल, बार, लज तथा रेस्टुरा दर्ता भएको छ ।


 

प्रकाशित: २७ असार २०७५ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App