coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक महिनाको व्यापार घाटा एक खर्ब १६ अर्ब

काठमाडौं - मुलुकको व्यापार घाटा चुलिने क्रममा मासिक एक खर्बबाट उकालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मासिक वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब नाघेको छ।

चालु आर्थिक वर्ष ०७४-७५ को पछिल्लो ११ महिनाको तथ्यांक अनुसार मुलुकको यो महिनाको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब नाघेको हो । गत महिनाको यस्तो व्यापार घाटा ९८ अर्ब ४२ करोड मात्र थियो । यस हिसाबले हेर्दा गत महिनाको भन्दा यो महिनाको व्यापार घाटा १८ अर्बले बढेको छ।

विभागको चालु आवको ११ महिनासम्ममा मुलुकले कुल वैदेशिक व्यापार ११ खर्ब ८० अर्ब ९६ करोड छ । यो गत आर्थिक वर्ष ०७३-४७ को सोही अवधिको भन्दा २२.८८ प्रतिशतले बढी हो । वैदेशिक व्यापार झन्डै २३ प्रतिशतले वृद्धि भए पनि व्यापार असन्तुलन झन् बढेको छ।

११ महिनामा मुलुकले कुल ११ खर्ब ६ अर्ब ६४ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । यो आयात गत वर्षको सोही अवधिको भन्दा २३.८२ प्रतिशतले बढी हो । गत वर्ष पहिलो ११ महिनामा आठ खर्ब ९३ अर्ब ७८ करोडको सामान मुलक भित्रिएको थियो ।आयातको तुलनामा निर्यात अवस्था नाजुक छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मुलुकमा कुल ७४ अर्ब ४३ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको विभागको तथ्यांकमा उल्लेख छ । एक वर्षमा निर्यातको वृद्धिदर आयातको तुलनामा आधाभन्दा धेरै कम छ ।

गत आर्थिक वर्षभन्दा चालु आवमा मुलुकको निर्यात १०.४६ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार गत वर्षको ११ महिनामा मुलुकको निर्यात ६७ अर्ब २८ करोड मात्र थियो ।  चालु आर्थिक वर्षमा मुलुकले एक सय ५२ भन्दा धेरै देशसँग व्यापार गरेको छ । यी देशमध्ये दुई छिमेकी देश भारत र चीनसँगको दुईपक्षीय व्यापार सबैभन्दा धेरै छ । यी दुई मुलुकबाट मात्रै मुलुकले आठ खर्ब ७५ अर्ब ४४ करोड बराबरको सामान आयात गरेको छ । कुल निर्यात ४५ अर्ब ४६ करोड रहेको तथ्यांकमा उल्लेख छ ।अन्य धेरै व्यापार गर्ने देशमा क्रमशः भियतनाम थाइल्यान्ड, इन्डोनेसिया, अर्जेन्टिना, युएई, दक्षिण कोरिया, मलेसिया, अमेरिका लगायत छन्।

मुलुकले धेरै आयात गर्ने वस्तुमा पेट्रोल चार लाख ४० हजार किलोलिटर ल्याएको छ । यसमा झन्डै २५ अर्ब बाहिरिएको छ । त्यस्तै, ८५ अर्ब २९ करोड २९ लाखभन्दा धेरैको डिजेल आएको छ । १० अर्ब ३७ करोडको हवाइ इन्धन आएको छ । त्यस्तै, ६ हजार चार सय ६७ केजी सुन आयात गर्न २८ अर्ब ३३ करोड ६४ लाख रुपैयाँभन्दा धेरै बाहिरिएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, एक लाख ७८ हजार ३ सय केजी चाँदी आयात गर्दा नौ अर्ब ६२ करोड ८९ रुपैयाँ बिदेसिएको छ।

मुलुकमा आयात–निर्यातको लागि प्रयोग भएका भन्सारमध्ये सधैं जस्तै वीरगन्ज, भैरहवा, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत अगाडि छन् ।कुल आयातमध्ये वीरगन्जबाट सबैभन्दा धेरै ३४.२८ प्रतिशत आएको छ । भैरहवाबाट १८.४७ प्रतिशत, विराटनगरबाट १२.३७ प्रतिशत, त्रिभुवन विमानस्थल र सुक्खा बन्दरगाह भन्सरबाट क्रमशः १०.९३ र १०.७६ प्रतिशत आयात भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, धेरै निर्यात हुने भन्सारमध्ये विरागनगरबाट ३०.१५ प्रतिशत र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७.५२ प्रतिशत निर्यात भएको छ । वीरगन्ज भन्सार नाकाबाट १७.१२ प्रतिशत निर्यात गरिएको छ भने मेची भन्सारबाट ८.१३ प्रतिशत निर्यात भएको तथ्यांकमा उल्लेख छ ।  
मुलुकले धेरै व्यापार गरेका मुलुकहरू
 

 

प्रकाशित: २५ असार २०७५ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App