४ वैशाख २०८१ मंगलबार
अर्थ

सिंगापुरको फ्लाइट ग्लोबलले जहाज मूल्यांकन गर्ने

काठमाडौं - रााष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो तथा अन्तिम ‘बोइङ’ जहाजको मूल्यांकन गर्न सिंगापुरको ‘रिड (फ्लाइट ग्लोबल) एभिएसन’ नामको कम्पनी छनोट गरेको छ ।

निगम व्यवस्थापनले आफूसँग बाँकी रहेको उक्त जहाज बिक्री गर्न सार्वजनिक आह्वान गर्दा अमेरिका, बेलायत र सिंगापुरका गरी तीन अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गरेका थिए । तीमध्येबाट सिंगापुरको फ्लाइट ग्लोबल छनोट गरेको हो ।‘सिंगापुरको फ्लाइट ग्लोबललाई हाम्रो अन्तिम बोइङ जहाजको वास्तविक मूल्यांकन गर्न छनोट गरेका छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बिहीबार नागरिकसँग भने, ‘अब यो कम्पनीसँग सम्झौता गरी चाँडोभन्दा चाँडो जहाज मूल्यांकनको काम सुरु गर्छौं ।’

निगमले आफूसँग बाँकी अन्तिम बोइङ बेच्न गत वैशाख २६ गते सार्वजनिक प्रस्ताव आह्वान गरेको थियो । २१ दिने म्याद दिइएको उक्त प्रस्तावअनुसार जहाजको वर्तमान वास्तविक मूल्य, यसका जगेडा पुर्जालगायत सबैको मूल्यांकन गर्न सम्बद्ध व्यावसायिक कम्पनी सहभागी हुन पाउँथे ।निगमका अनुसार अमेरिकाको फिन्टेक, बेलायतको इन्टरनेसनल एभिएसन ग्रुप र सिंगापुरको फ्लाइट ग्लोबल एभिएसनले प्रस्ताव पेस गरेका थिए । फिन्टेकले भने यसअघि निगमकै अर्को बोइङ ७५७ ‘९एन–एसिए’ को मूल्यांकन गरेको थियो । निगमले दुईमध्ये पहिलो बोइङ यसअघि नै बेचिसकेको छ ।

निगमको ‘बि७५७–२००’ सिरिजको अन्तिम बोइङ अहिले पनि नियमित उडानमा छ । यसले दैनिक एक उडान गर्दै आएको छ । ‘९एन–एसिबी’ कलसाइन भएको १ सय ९० सिट क्षमतायुक्त यो जहाज निगमले सन् १९८९ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग खरिद गरेको थियो । यसको नाम ‘गण्डकी’ हो।

‘हाम्रो अन्तिम बोइङ र यसका जगेडा पुर्जाको वास्तविक मूल्यांकन गर्न फ्लाइट ग्लोबलले करिब १६ हजार अमेरिकी डलर (१६ लाख रुपैयाँभन्दा बढी) पारिश्रमिक लिने प्रस्ताव गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘तीनवटै कम्पनीको प्रस्ताव अध्ययन गर्दा सबैभन्दा सस्तो कबोल गर्नेमा सिंगापुरको फ्लाइट ग्लोबल परेपछि उसलाई छनोट ग¥यौं ।’

निगमले पहिला बेचेको बोइङभन्दा अहिले बेच्न खोजेको बोइङको मूल्यांकन धेरै हुने अनुमान गरेको छ । यो जहाजको जगेडा पुर्जा पनि करोडौं मूल्यबराबरका छन् । ती सबैको मूल्यसमेत जोड्दा जहाजको मूल्यांकन धेरै हुने निगमको भनाइ छ ।निगमका अनुसार फ्लाइट ग्लोबलले अन्तिम बोइङ एसिबी जहाज कति मूल्यमा बिक्री गर्दा उपयुक्त होला, जगेडा पुर्जा, इन्जिन जस्ता सबै प्राविधिक पक्ष जाँच गरी जहाजको उपयुक्त मूल्यांकन गर्ने छ ।

निगमका अनुसार ‘इन्टरनेसनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङ’ (आइएसटिएटी) बाट मान्यताप्राप्त फर्म वा कम्पनीले मात्र निगमलाई प्रस्ताव पेस गरेका थिए । बिक्री गर्न लागिएको करिब ३० वर्ष पुरानो यो जहाजमा ‘आरबी२११–५३५इ४’ मोडेलका दुईथान इन्जिन जडान गरिएका छन् । ‘बोइङ एसिबीलाई सन् २०१९ को मध्यभित्र बिक्री गर्ने लक्ष्य छ,’ कर्पोरेट डाइरेक्टर श्रेष्ठले भने, ‘जति पुरानो भयो त्यति सञ्चालन खर्च बढ्ने भएका कारण बिक्री गर्न लागेका हौं।’

निगमले यसरी जहाज बिक्री गर्न लागेको यो दोस्रो पटक हो । यसअघि २०७४ माघ पहिलो साता कलसाइन ‘९एन–एसिए’ भएको यस्तै बोइङ निगमले सञ्चालनमा नरहेको नेपाली निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई १४ लाख ६० हजार अमेरिकी डलरमा बिक्री गरेको थियो । त्यो जहाज हाल त्रिभुवन विमानस्थलमै छ । त्यसैगरी निगमले साढे दुई दशकअघि १ सय २३ सिट क्षमतायुक्त दुईथान ‘बि७२७’ सिरिजका जहाज बेचेको थियो । ती जहाज पनि बोइङमै उत्पादन भएका थिए ।

निगमले पहिलो बोइङ एसिए जहाज पुरानो भएको र मर्मत खर्च अत्यधिक लाग्ने भएपछि बिक्री गर्ने निर्णय गरेको थियो । यसको दुईथान इन्जिन मर्मत गर्नमात्र करिब २ अर्ब रुपैयाँ लाग्ने भएपछि ‘बनाउनभन्दा बेच्न फाइदा’ भन्दै निगम जहाज बिक्री गर्ने निर्णयमा पुगेको थियो ।त्यसपछि निगम व्यवस्थापनले अमेरिकाको फिनटेक नामको कम्पनीलाई यो जहाजको मूल्यांकन गरी प्रतिवेदन पेस गर्न सशुल्क काम लगाएको थियो । फिनटेकले ३ हजार डलर भाडा लिएको थियो । फिनटेकले एसिए जहाजको अधिकतम मूल्य १७ लाख १० हजार अमेरिकी डलर हुने प्रतिवेदन पेस गरेको थियो । त्यही प्रतिवेदन निगम सञ्चालक समितिले अनुमोदन गरेको थियो ।

निगमका दुईथान बोइङले उडान गरिरहँदा वार्षिक २ अर्ब रुपैयाँ आम्दानी गर्थे । तर, ती जहाजले जति आम्दानी गर्थे, त्यसको अधिकांश हिस्सा मर्मतमै खर्च हुने गरेको थियो । त्यसबाहेक बि७५७ जहाज उडाउँदा प्रतिउडान जति आम्दानी हुने गर्छ, त्यसको करिब ४५ प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेको थियो । अहिले निगमसँग रहेका एयरबस कम्पनीमा निर्मित नयाँ जहाजले भने यसको आधामात्र इन्धन खपत गर्ने गर्छन् । पुरानो हुँदै जानु र मर्मत खर्च उच्च हुँदै गएपछि निगमसँग बिक्रीको विकल्प थिएन।

यी जहाजबाट निगमले छोटो दुरी (सर्ट हल) देखि लामो दुरी (लङ हल) गन्तव्यमा उडान गरेको थियो । सर्ट हलमा भारतको नयाँदिल्ली, कोलकाता, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ, कतारको दोहा, युएईको दुबईलगायत गन्तव्यमा उड्थे भने लङ हलतर्फ बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ््रयांकफर्ट, जापानको ओसाका, चीनको सांघाईसम्म जाने गरेका थिए ।

प्रकाशित: २२ असार २०७५ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App