२९ असार २०७७ सोमबार
अर्थ

ब्रोइलर चल्ला राख्न किसान अनिच्छुक

तस्बिर : बोइलर चल्ला।

बनेपा - अघिल्लो वर्षको असारमा एकदिने ब्रोइलर चल्लाको मूल्य ७० देखि ९० रुपैयाँसम्म पथ्र्यो । त्यो पनि चाहिएकै बखत पाउन मुस्किल थियो।

अघिल्लो वर्षको दाँजोमा आधाभन्दा कम मूल्य हुँदासमेत यतिखेर खोरमा चल्ला हुल्न किसान अनिच्छुक देखिएका छन्।

यसरी सस्तिँदासमेत चल्ला हाल्न किसानहरु किन अनिच्छुक भए भन्दै नेपाल ह्याचरी उद्योग संघले राष्ट्रिय भेला आयोजना गरेको छ । भेलामा चल्ला उत्पादनमा कमी ल्याउने या केही समय चल्ला नै ननिकाल्ने भन्नेमा मतान्तर रहेको एक सहभागीले बताए ।

‘चल्लाको उत्पादन लागत अझै पनि महँगो छ । आन्तरिक उत्पादन नै धेरै हुन थालेपछि क्रमशः मूल्य घटेको हो । तर, सस्तो मूल्यको चल्ला राख्नलाई किसानले अनिच्छा देखाइरहेका छन् । यसमा अचम्म लागेको छ,’ नेपाल ह्याचरी उद्योग संघका सचिव एवं जिजे पोल्ट्री ब्रिडिङ फार्म भक्तपुरका सञ्चालक बलराम किसीले भने ।नेपालमा प्रतिहप्ता ३५ लाख गोटा ब्रोइलर चल्ला उत्पादन हुने गरेको उनको भनाइ छ । ‘प्यारेन्ट स्टक आयातको हिसाबले यतिखेर हप्ताको ३४ लाख गोटा हाराहारीमा चल्ला उत्पादन भइरहेको छ । यस वर्ष ४४ लाखसम्म प्रतिहप्ता उत्पादन हुने प्रक्षेपण गरेका छौं । हिजो छिमेकी भारतबाट चल्ला आयो भनेर रोक्नु पर्ने अवस्था थियो । यतिखेर आन्तरिक उत्पादनले नै बजार नपाउने अवस्था आयो,’ किसीले थपे ।

संघको अभिलेख अनुसार आव ०७३÷७४ मा यसका सदस्य ह्याचरीहरुले १५ लाख ११ हजारब्रोइलर प्यारेन्ट स्टक (माउ कखुरा) राखेका थिए । आव ०७०÷७१ मा यो संख्या जम्माजम्मी ६ लाख रहेको थियो ।‘प्यारेन्ट स्टक रिप्लेसमेन्ट (माउ कुखुराको प्रतिस्थापन) बर्सेनि बढी हुन थाल्यो । यसबाट चल्ला पनि बढी निक्लने नै भयो । तर, अझै पनि चल्लाको उत्पादन लागत ५० देखि ५५ रुपैयाँ वीचमा छ । प्यारेन्टमा लगातार आइरहेको रोग–व्याधिलगायत ब्रीडर फार्मको व्यवस्थापकीय समस्याहरु विद्यमान रहँदासम्म ह्याचरीले उत्पादन लागत घटाउनै सक्दैनन् । यसको मारमा किसान स्वाभाविक रुपमै पर्ने भए,’ किसीले भने ।

पछिल्लो समय पेट्रोल पम्पमा नाफा कम भएर ह्याचरी खोलेका व्यवसायीहरु पनि यस क्षेत्रमा आएका छन् । त्यस्तै, जग्गा व्यवसायी, डिपार्टमेन्टल स्टोर, दाना, कोल्ड स्टोरहरुसमेत ह्याचरी उद्योगमा आएका किसीको भनाइ छ । ‘नेपालको कुखुरापालन क्षेत्रको मूल्य शृंखला (भ्यालु चेन) राम्ररी नबुझि ह्याचरीमा हामफालेका व्यवसायीका कारण उद्योगहरु धराशायी हुने खतरा बढेको छ । अब सरकारले समेत प्यारेन्ट रिप्लेसको अनुपात तोकेर ह्याचरी उद्योगलाई बचाउनु पर्छ,’ उनले भने।

केही वर्षअघि भारतमा समेत चल्ला उत्पादन अत्यधिक भएपछि त्यहाँको जिपी फार्म भेन्कीजले मागमा कटौती गरेर प्यारेन्ट सप्लाई गर्दा समस्या समाधान भएको उनले दृष्टान्त दिए । ‘कब–१०० र ४०० जातको चल्ला धेरै निक्लेर अहिले नेपालकै जस्तो अवस्था हुँदा भेन्कीजले मागको ४० प्रतिशत घटाएर प्यारेन्ट सप्लाई गर्दा स्थिति सुध्रियो । त्यसपछि माग पनि राम्रो र भाउ पनि राम्रो आइरहेको छ । नेपालमा पनि पशु सेवा विभागले सिफारिश दिने क्रममै सोचविचार पु¥याई दिनुपर्छ,’ किसीले थपे ।

संघका अनुसार नेपालमा ब्रोइलर (मासुका लागि) र लेयर्स (अण्डाका लागि) चल्ला उत्पादन गर्ने दुई सयको हाराहारीमा ह्याचरी उद्योगहरु रहेको छ । यिनीहरुले कब–५००, रोस–३०८, हब्बर्ड र भेन्कब–४०० जातको ब्रोइलर चल्ला उत्पादन गर्दै आएका छन् । तर, डिलरको भरमा कुखुरा पाल्दै आएका किसानले कब–५०० बाहेक बजारमा रहेका अन्य ब्रोइलर चल्लाको जातहरुबारेमा भेउ नै पाउने गरेका छैनन्।

‘अस्ट्रेलियाबाट आयातित रोस–३०८ प्यारेन्ट स्टकबाट हामीले वर्षौंदेखि रोगमुक्त, छिटो बढ्ने गुणस्तरिय चल्ला उत्पादन गर्दै आएका छौं । तर, डिलरले बढी कमिसन पाउने लोभले किसानलाई रोस जातको पनि चल्ला हुन्छ, यो पनि संसारभर चलेको र ‘पोल्ट्री किङ’ हो भनेर बुझाउँदा रहेनछन् । यसको प्रत्यक्ष मार किसानलाई नै पर्दै गएको छु,’ बागमती पोल्ट्री फार्मका सञ्चालक देवेन्द्रराज थापाले भने ।

हुन पनि नेपालको पोल्ट्री व्यवसायको मूल्य शृंखला (भ्यालु चेन)अनुसार किसानले तयार पारेको ब्रोइलर कुखुरा सोझै बजारमा लगेर बेच्न सक्दैनन् । दाना र चल्ला उपलब्ध गराउने सप्लायर्सको भर नपर्दासम्म उनीहरुको पहुँच बजारसम्म सोझै नहुने गरी ‘सेटिङ’ मिलाइएको अवस्था विद्यमान छ । अधिकांश किसानलाई ब्रोइलर पाल्न डिलरले नै लगानी गरिदिने भएकाले किसानले चाहेको जातको चल्ला माग्नै सक्दैनन् । त्यतिमात्रै नभई तयारी भएको ब्रोइलर एउटा पनि बजारमा लगेर बेच्न सक्दैनन्।

‘खुल्ला बजार नीति भन्दै कुखुरापालन व्यवसायलाई सरकारले यसै गरी छाडा छाड्ने हो भने यसले नेपाली कुखुरापालनलाई कहिल्यै दीगो हुन दिँदैन । त्यसैले सरकारले हस्तक्षेप गरेरै भए पनि दाना, चल्ला र तयारी कुखुराको न्यूनतम भाउ तोक्नैपर्छ,’ पशु सेवामा लामो समय बिताएका एक विज्ञले भने ।


 

प्रकाशित: २१ असार २०७५ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App