८ वैशाख २०८१ शनिबार
अर्थ

चोरी र बक्यौता असूलीमा सक्रिय बन्दै प्राधिकरण

बनेपा - नेपाल विद्युत प्राधिकरणको काभ्रे वितरण केन्द्रले बिजुली ग्राहकहरु र लामो समयसम्म बक्यौता नतिर्नेहरु उपर कारबाही तीव्र पारेको छ ।

‘सोमबारसम्ममा बिद्युत चोर्नेहरुबाट ३५ लाख रुपैंया जरीवाना लिइसकेका छौं भने बक्यौता राख्नेहरुसँग ६७ लाख रुपैंया असूल उपर गरिसकेका छौं’, केन्द्र प्रमुख रबिन्द्रकुमार यादवले भने ।  गाउँ–गाउँमा हुकिङ र मिटर बिगारेर बिद्युत चोरी भइरहँदासमेत यस अघि केन्द्रबाट भौगोलिक विकटता भन्दै कमै मात्र कारवाही हुने गरेको थियो, ‘काभ्रे वितरण केन्द्र आएलगत्तै विद्युत चोरी गर्ने उपर कारवाही र कालो सूचीका ग्राहकहरुसँग बक्यौता असूली गर्ने अभियान थालेको थिएँ । गत वर्षभन्दा विद्युत चुहावटलाई ९ प्रतिशतसम्म कम गर्न सकेका छौं । यसलाई अझै न्यून गर्ने अभियानमा छौं’, उनले थपे।

 ग्राहस्थ प्रयोजनभन्दा पनि राइस मिल, घट्ट, साना कारखाना, कुखुरापालन, गाईपालन, फार्म र सिँचाईहरुमा बढी मात्रामा विद्युत चोरी हुने गरेको उनले बताए, ‘कार्यालय समयमा जाँदा हुकिङ निकालेको हुने रहेछ । त्यही भएर प्रहरी प्रशासनको सहयोगमा विहान, दिउँसो र रातीसमेत कारवाहीका लागि हिँड्यौं । रातीको समयमा पुरुषहरु भित्रै लुक्ने र महिलाहरुमात्रै बाहिर निस्कने भएकाले राती जान छाडेका छौं’, यादवले भने।

  काभ्रेका मण्डनदेउपुर, पाँचखाल र नमोबुद्ध नगरपालिकाक्षेत्रमा चोरीलगायतका कारणहरुले अन्यत्रभन्दा बढी विद्युत चुहावट हुने गरेको उनको अध्ययनले देखाएको छ, ‘सीमित कर्मचारीहरु भएकाले हाम्रो तत्कालै पहुँच हुन नसक्ने भएकाले यी क्षेत्रमा बढी मात्रामा चोरी हुने गरेको रहेछ । पछिल्लो समय इमान्दार ग्राहकहरुले नै प्राधिकरणलाई फोन गरेरै छिमेकमा विद्युत चोरी भएको जानकारी दिने चलन बढेकाले कारवाही गर्नमा सजिलो भएको छ । विद्युत चोरी नियन्त्रण कार्यलाई अभियानकै रुपमा अझ अघि बढाएका छौं’, यादवले भने।

 यस्तै, नमोबुद्ध नगरपालिकास्थित अर्गानिक हिमालय फार्म प्रालिको ३ लाख ३० हजार ५ सय रुपैंया बक्यौता असुल गरेको छ । जर्मन नागरिक हान्स होफर्सले साबिक मथुरापाटी फुलबारी–४ मा अर्गानिक फार्मको स्थापना गरी २०५१ सालदेखि तरकारी र फलफूलहरु सिङ्गापुर पठाउँदै आएका थिए । स्थानीयवासीको असहयोग र बढ्दो बाह्य असुरक्षाका कारणहरु देखाउँदै लामो समय उनले सो फार्म बन्द राखेका थिए ।केही महिना अघिमात्रै सञ्चार उद्यमी कनकमणि दीक्षितले होफर्ससँग सो फार्मको जमीन र संरचनाहरु लिएका हुन् । विद्युत प्राधिकरण काभे्रले बक्यौता तिर्न चिठी काटेकै होफर्स स्वामित्वको होफर्स हिमालयलाई र भुक्तानी अग्र्यानिक हिमालयबाटै भएको हो।

 

प्रकाशित: २० असार २०७५ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App