१६ चैत्र २०८० शुक्रबार
अर्थ

अवैध कपडा आयातमा कडाई गर्न माग

काठमाडौं– सीमा क्षेत्रबाट अवैध रुपमा कपडा आयात बढेको भन्दै कपडा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । न्यून मूल्यांकन र गैर कानुनी रुपमा विदेशबाट कपडा आयात हुँदा स्वदेशी उद्योग धरासायी भएको नेपाल कपडा उद्योग संघले जनाएको छ।

संघले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अवैध तस्करी रोक्नको लागि सरकारसँग आग्रह गरेको छ । संघका अनुसार यहाँ सञ्चालनमा रहेका करिब दुई सय कपडा उद्योग समस्यामा परेका छन् । ‘सरकारले कपडा उद्योगलाई दिदै आएको सुबिधा कटौती गरेको छ,’ संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले भने, ‘चोरी भएर आउने कपडासँग प्रतिस्पर्धा गर्न कठिन भयो ।’ चोरबाटोबाट कपडा आयात भैरहेको र सरकारले कपडा उद्योगीलाई दिँदै आएको सुविधा कटौती गर्दा उद्योग संकटमा परेको बताए।

संघका अनुसार मुलुकमा वार्षिक ८० करोड मिटर लत्ताकपडा खपत हुने गरेको छ । यहाँ खपत हुने कपडा मध्ये कूल मागको १० प्रतिशत मात्रै स्वदेशका उद्यागले उत्पादन गर्ने र ९० प्रतिशत विदेशबाटै आयात हुने दाबी प्रधानले दाबी गरे । ‘कच्चा पदार्थमा तिरेको भ्याट फिर्ता दिने व्यवस्था हटाइएको छ,’ उनले प्रधानले भने, ‘यसले दुई सय कपडा उद्योग धरासायी भएका छन्।’

कपडा उद्योगमा करिब ६ अर्ब रुपैयाँ लगानी गरेको ३५ हजारले रोजगारी पाएको दाबी गर्दै सरकारले कपडा उद्योगलाई संरक्षणको नीति लिन माग गरेका छन् । सरकारले वातावरण सृजना गरे यहाँ आयात हुने हरेक कपडाको परिमाण नेपालमै उत्पादन गर्न सकिने संघका उपाध्यक्ष जीतेन्द्र लोहियाले बताए । ‘करोडौं रुपैयाँका कपडा गैरकानुनी रुपमा आयात हुँदा मुलुकले राजस्व गुमाएको छ,’ उनले भने, ‘सरकारले उपयुक्त वातावरण बनाए आवश्यक कपडा यहाँ उत्पादन सकिन्छ ।’

व्यवसायीले सरकारी अधिकारी समक्ष अवैधानिक चोरी पैठारी नियन्त्रणका लागि आग्रह गरे पनि खुल्ला सिमानाका कारणले नरोकिएको बताउँदै आएका छन् । सरकारले उपयुक्त वातावरण बनाएर अहिले बन्द अवस्थामा रहेका करिब एक सय कपडा उद्योग सञ्चालन  गरेर निर्यात गर्न सकिने संघका सल्लाहाकार तथा हिरा टेक्स्टायलका सञ्चालक बद्रीराज श्रेष्ठले बताए । ‘व्यापार घाटा कम गर्न कपडा उद्योग सहयोगी हुन सक्छन्,’ श्रेष्ठले भने, ‘सरकारले स्वदेशी कपडा उद्योगलाई प्रोत्साहित गर्नुपर्छ ।’

 

 

प्रकाशित: १८ असार २०७५ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App