coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हवाई इन्धन भर्न ‘हाइड्रेन्ट’ प्रविधि

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन (एटिएफ) भर्न रिफ्युलर अभाव भएपछि नेपाल आयल निगमले ‘हाइड्रेन्ट’ प्रविधि प्रयोगमा ल्याउन गृहकार्य सुरु गरेको छ।

नयाँ रिफ्युलर किन्ने निगमको दोस्रोपटकको प्रयास पनि सफल हुन नसकेपछि निगमले नयाँ ‘हाइड्रेन्ट’ प्रविधि विमानस्थलमा प्रयोगमा ल्याउन अध्ययन गरेको हो ।

यरबारे प्रारम्भिक अध्ययन गरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । करिब ४० करोड रुपैयाँ लागतमा यो प्रविधि त्रिभुवन विमानस्थलमा जडान गरेर प्रयोगमा ल्याउन सकिने देखिएको भट्टराईले बताए । ‘समयसापेक्ष रुपमा नयाँ प्रविधि प्रयोगमा ल्याउने निगमको योजना हो,’ उनले भने, ‘विमानस्थलमा हाइड्रेन्ट प्रविधि प्रयोगमा ल्याउन अध्ययन गरेका हौं ।

’ यो विषयमा नागरिक उड्डयन प्राधिकरणसँग पनि छलफल भइरहेको भट्टराईले बताए । निगमले चाहेर मात्र नहुने भएकाले प्राधिकरणले पनि तत्परता देखाउनुपर्ने निगमले जनाएको छ ।‘हाइड्रेन्ट’ प्रविधि विश्वका प्रायः सबै विमानस्थलमा प्रयोग भइसके पनि नेपालमा निगमले रिफ्युलर (ट्यांकरबाट लगेर इन्धन भर्ने)बाट हवाई इन्धन भर्दै आएको छ । ‘हाइड्रेन्ट’ प्रविधिमा एटिएफ भण्डारण ट्यांकमा पाइप जडान गरेर उक्त पाइप जमिनमुनी बिछ्याएर सिधै जहाजमा लगेर भरिन्छ । विमानस्थलका बिछ्याएको पाइपका प्वाइन्टमा डिस्पेन्सर जोडेर रिफ्युल गरिन्छ ।

जमिनमुनि बिछ्याएका प्वाइन्टमा डिस्पेन्सर जोडेर सिधै भर्ने भएकाले रिफ्युलरभन्दा छिटो हुने निगमको विमानस्थल डिपो प्रमुख मनोज ठाकुरले बताए । ‘एउटै जहाजमा इन्धन भर्न रिफ्युलरमा जस्तो पटक–पटक ओसार्नु परेन,’ ठाकुरले भने, ‘हाइड्रेन्ट प्रयोगमा ल्याए समय पनि बचत हुन्छ ।’ ‘हाइड्रेन्ट’ प्रविधि निकै उपयोगी भएको ठाकुरले बताए।

‘ठूला जहाजमा दुईपटक रिफ्युलरबाट इन्धन भर्दा समय पनि धेरै लाग्छ,’ ठाकुरले भने, ‘हाइड्रेन्टमा एकैपटकमा चाहिए जति तेल भर्न सकिन्छ ।’ सुरक्षाका दृष्टिकोणले पनि यो प्रविधि निकै उपयोगी भएको ठाकुरले बताए । अन्य मुलुकका सबै विमानस्थलले प्रयोगमा ल्याए पनि यहाँ प्रयोगमा ल्याउन ढिला भएको उनले बताए । ‘दिल्लीका करिब ९० प्रतिशत टर्मिनलमा हाइड्रेन्ट प्रविधि प्रयोगमा ल्याएका छन्,’ उनले भने ।

विमानस्थलमा १४ वटा रिफ्युलर आवश्यक पर्ने भए पनि निगमले सातवटा रिफ्युलर (आधा कम) ले काम चलाउँदै आएको छ । आवश्यकता अनुसार रिफ्युलर नहुँदा निगमलाई हवाई इन्धन व्यवस्थापन गर्न हम्मे परेको छ । समयमै इन्धन भर्न नपाएपछि जहाजको उडानमा समेत ढिलाइ हुने गरेको छ ।दैनिक चार सय उडान हुने विमानस्थलमा सातवटा रिफ्युलरले एटिएफ भर्दै आएका छन् । निगमले रिफ्युलर किन्न बोलपत्र आह्वान गरेको भए पनि इस्टिमेटभन्दा ३५ प्रतिशत बढी लगायतको आवेदन परेपछि रोकिएको छ ।

चालु आर्थिक वर्ष ०७४-७५ मा चारवटा रिफ्युलर खरिद गर्नको लागि निगमले आठ करोड १४ लाख ९७ हजार बजेट विनियोजन गरेको थियो ।निगमले सन् २००९ यता एउटा पनि रिफ्युलर किनेको छैन । सार्वजनिक खरिद ऐनअनुसार किन्नका लागि भन्झट भएकाले पनि रिफ्युलर किन्न नसकेको निगमका अधिकारी बताउँछन्।

निगमसँग २७ लिटरका दुई, १६ हजार लिटरका चार र ११ हजार लिटरको एक रिफ्युलर छ । दुईवटा पुरानो मोडलका रहेकाले सिधै रिफ्युल गर्न मिल्दैन । इन्धन ट्रान्सफरमा मात्र प्रयोग हुन्छ । तत्कालको लागि काम चलाउन निगमले एउटा रिफ्युलर इन्डियन आयल कर्पोरेसनबाट ल्याएको छ । त्रिभुवन विमानस्थलमा अहिले ७६ लाख ४० हजार लिटर (७६ सय ४० केएल) हवाई इन्धन भण्डारण क्षमता छ । विमानस्थलमा अहिले दैनिक करिब ६ लाख लिटर इन्धन खपत हुन्छ।

त्रिभुवन विमानस्थलमा २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ५० देखि ६० उडान भर्ने गरेका छन् । करिब एक दर्जन आन्तरिक वायुसेवा कम्पनीले दैनिक साढे दुई सयदेखि तीन सय उडान भर्छन् । नयाँ विमान कम्पनी, उडान तालिका वृद्धि र एयर ट्राफिक बढ्दै गएपछि हवाई इन्धनको खपत पनि बढ्दै गएको छ ।

प्रकाशित: ५ असार २०७५ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App