७ वैशाख २०८१ शुक्रबार
अर्थ

नुवाकोटमा इन्धन भण्डार बनाउन बुनीबेसी रोजियो

नुवाकोट – नुवाकोटमा इन्धन भण्डार निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारको लागि जग्गा छनोट समेत भइसकेको छ।

‘पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गर्न जग्गा पहिचान कार्यदल’ को अनुसार विदुर नगरपालिका–५ बुनीबेसीमा इन्धन भण्डारण गृह निर्माण गर्न लागिएको हो। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको ९८ रोपनी जग्गा उक्त संरचना निर्माणको लागि उपयुक्त रहेको कार्यदलका संयोजक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लबदेव जोशीले बताएका छन्। ‘इन्धन भण्डारण गृह निर्माण गर्न समथर भूमि भयो भने उत्कृष्ट मानिन्छ। सडकको पहुँच राम्रो हुनुको साथै सुरक्षाको हिसाबले पनि राम्रो बन्दोबस्त हुनुपर्छ। कार्यदलले सबैसँग सल्लाह गरेर अवलोकन गर्दा बुनीबेसीमा रहेको जग्गा प्राथमिकतामा परेको छ,’ जोशीले भने, ‘अब हामी यहाँको भूगोलको प्राविधिक परीक्षण गरी प्रतिवेदन तयार गर्नेछौं।’

चीन सरकारले नेपालको तीन ठाउँमा इन्धन भण्डारण गृह बनाउन सहयोग गर्ने बचन दुई वर्षअघि नै दिइसकेको थियो। त्यसैलाई मध्यनजर गर्दै नेपालले कार्यान्वयनको लागि आवाज उठाउन सहज होस् भन्ने उद्देश्यले पनि कार्यदलले सक्रियता बढाउँदै आइरहेको छ।

इन्धन भण्डारण गृह निर्माणको लागि गोरखा, तनहुँ, ललितपुर र काभ्रेमा पनि जग्गा खोजीको प्रक्रिया अघि बढिरहेको कार्यदलका संयोजक जोशीले बताए।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले अब चीन भ्रमण गर्ने कार्यक्रम तय हुँदैछ। चीन भ्रमणमा प्रधानमन्त्रीले एजेन्डा प्रस्तुत गर्नुहुनेछ,’ जोशीले भने, ‘कुनै संकट आइपरेमा तीन महिनासम्मलाई पुग्ने इन्धन भण्डारण गृह बनाउन नेपाल अग्रसर भएर लागिपरेको छ। यस्तो संरचना बनाउन एकै ठाउँमा २० बिघा जग्गा आवश्यक हुन्छ। यहाँ छनोट गरिएको जग्गा सात बिघा छ र पनि वरिपरिको जग्गा पनि गाभ्न सकिने अवस्था देखिएको छ।’ हाल एक सातालाई मात्र पुग्ने इन्धन भण्डारण गृह काठमाडौंमा छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App