६ वैशाख २०८१ बिहीबार
अर्थ

नेपालगन्जबाट नयाँदिल्ली उडान गर्ने बुद्धको घोषणा

काठमाडौ - मध्यपश्चिमाञ्चल क्षेत्रमा आर्थिक ‘कायापलट’ ल्याउने उद्देश्यका साथ निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि नियमित व्यावसायिक उडान गर्ने घोषणा गरेको छ ।

मुलुकको उड्डयन इतिहासमै पहिलो पटक सुरु गर्न लागिएको नेपालगन्ज–दिल्ली उडान अनुमतिका लागि बुद्धले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको छ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले विभिन्न प्रदेशबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको तीन दिनभित्रै बुद्धले उडान अनुमति मागेको हो ।

‘हामी नेपालगन्जसहित समग्र मध्यपश्चिम क्षेत्रमा हवाई उद्योगका माध्यमबाट आर्थिक कायापलट गर्ने उद्देश्य लिएर नेपालगन्जबाट दिल्ली उडान गर्न लागेका हौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सोमबार नागरिकसँग भने, ‘हाम्रो आवेदनपछि पर्यटन मन्त्रालयका उच्च अधिकारीहरूले सकेसम्म चाँडै उडान अनुमति दिने बताएका छन् ।’
उनका अनुसार नेपालगन्ज–दिल्लीका सेक्टरका लागि सातामा तीन उडान गर्ने गरी अनुमति मागिएको छ । भारतबाट आउने पर्यटकलाई नेपालगन्ज ल्याएर त्यहाँबाट तिब्बतको मानसरोवरसम्म लैजाने एउटा उद्देश्य भए पनि समग्र क्षेत्रको आर्थिक समृद्धिमा उल्लेख्य योगदान पुर्याउने प्रमुख लक्ष्य हो ।

‘बाहिरबाट हेर्दा भारतीय पर्यटकलाई मानसरोवर लैजान हाम्रा उडान प्रयोग गरिएको देखिएला तर, वार्षिक ७० हजार सिट भरेर मध्यपश्चिमकै अर्थतन्त्र दिगो बनाउने उद्देश्य लिएका छौं,’ बस्नेतले भने, ‘सुरुवातमा साप्ताहिक तीन उडान गर्ने छौं र सकेसम्म चाँडै दैनिक एक उडान गर्ने गरी काम गरिरहेका छौं ।’बुद्धले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतकै कोलकाताका उडान गर्ने घोषणा गरेको थियो । तर, अब काठमाडौं–कोलकाताभन्दा नेपालगन्ज–दिल्ली सेक्टरमा पहिला उडान गर्ने घोषणा गरेको हो ।

नेपालगन्ज विमानस्थलमा हाल भएकै पूर्वाधारबाट अन्तर्राष्ट्रिय उडान गर्न भने सकिँदैन । बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजका जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने छ । अन्तर्राष्ट्रिय उडानका लागि नेपालगन्ज विमानस्थलमा सबैभन्दा पहिला एउटा अन्तर्राष्ट्रिय टर्मिनल भवन, अध्यागमन र भन्सार कक्ष निर्माण गर्नुपर्ने हुन्छ ।

‘सरकारले चाँडोभन्दा चाँडो टर्मिनल भवन, अध्यागमन र भन्सार कक्ष निर्माण गरिदियो भने हामी तुरुन्तै दिल्ली उडान सुरु गरिहाल्ने छौं,’ प्रबन्ध निर्देशक बस्नेतले भने, ‘हाम्रो अनुमानमा अधिकतम पाँचदेखि ६ महिनाभित्र सरकारले यी काम पूरा गरिदियो भने हामी आक्रामक रणनीतिका साथ बजार विस्तार गर्छौं ।’

वार्षिक साढे ३ करोड भारतीयले विभिन्न देश घुम्न जाने गरेको तथ्यांक छ । यसैलाई ‘क्यास’ गर्ने रणनीतिअनुसार बुद्धले नेपालगन्ज–दिल्ली उडान गर्न लागेको जनाएको छ । ‘धार्मिक पर्यटकमात्र नभई बढिभन्दा बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक आकर्षित गर्ने हाम्रो उद्देश्य हो,’ बस्नेतले भने, ‘यो लक्ष्यमा सफल हुने विश्वास छ र यसमा सरकारदेखि सम्बद्ध सबै निकाय र सरोकारवालाको सहयोग प्राप्त हुनेमा हामी ढुक्क छौं ।’

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका पाँचथान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् ।हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।

प्रकाशित: १५ जेष्ठ २०७५ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App