१६ चैत्र २०८० शुक्रबार
अर्थ

पर्यटकीय गन्तव्य गुफा गाउँ

गुफा गाउँमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको कार्यक्रम। तस्बिर : अर्जुन/नागरिक

मेलम्ची – मेलम्चीको गुफा गाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य भए पनि प्रवद्र्धन हुन नसकेको स्थानीयले बताएका छन्। ऐतिहासिक महत्व र प्राकृतिक रुपमा सुन्दर गुफा गाउँको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले ध्यान नदिँदा ओझेलमा परेको स्थानीय जनप्रतिनिधिको गुनासो छ।

गुफा गाउँ पर्यटन प्रवद्र्धन समिति र तामाङ पत्रकार संघ काठमाडौंले आयोजना गरिएको ग्रामीण पर्यटन प्रवद्र्धन अभियानमा स्थानीय जनप्रतिनिले उक्त धारणा राखेका हुन्।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा स्थानीय आइतमान तामाङले मेलम्ची नगरपालिका नै पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य रहेको बताए। ‘मेलम्ची पदमार्गको लागि उपयुक्त ठाउँ हो। पाँचपोखरी, हेलम्बु, नौलिंगेश्वर महादेव, नवलपुर जस्ता ठाउँ स्वदेशी तथा विदेशी पर्यटकका लागि पर्यटकीय गन्तव्य हो,’ स्थानीय तामाङले भने, ‘यहाँको भाषा, कला, धर्म मात्रै आकर्षक छैन, प्राकृतिक सौन्दर्य पनि उत्तिकै आकर्षक छ। गुफा गाउँको ऐतिहासिक पृष्ठिभूमि नै पर्यटकका लागि पदयात्राका लागि मात्रै नभएर अध्ययन केन्द्र पनि हो।’

भौगलिक हिसाबले राजधानीबाट ५० किलोमिटर टाढा भए पनि गुफा गाउँको जीवनशैलीमा कुनै सुधार नभएको उनको भनाइ छ। यहाँ चिया बगान, हरित उद्यान केन्द्र र भर्जिन पर्यटकीय क्षेत्र भए पनि प्रवद्र्धन हुन नसकेको उनको भनाइ छ । गुफा गाउँको लागि स्थानीय जनप्रतिनिधि, नगरपालिका र पर्यटन बोर्डले विषेश जोड दिनुपर्ने नेता तामाङको भनाइ छ।
 
ट्रेकिङ एजेन्सिस् एसोसिएसन् अफ नेपालका (टान) निवर्तमान महासचिव कर्ण लामाले गुफाँ गाउँ पर्यटकीय क्षेत्रले प्रचुर सम्भावना भएपनि प्रवद्र्धन हुन नसकेको बताए। ‘गुफाँ गाउँ नाम आफैमा पर्यटकका लागि लोभ लाग्दो गाउँ हो। यहाँको भूगोल बनोट, प्राकृति सौन्दर्य, जीवन शैली, कृषि उत्पादनले ग्रामिण पर्यटनको नमुना गाउँको परिचय दिएको पाए । यस गाउँलाई नमुना पर्यटकीय गाउँ घोषणा गर्नु पर्छ। यसका लागि प्रक्रियागत काम थालनि गर्ने छु,’ लामाले भने।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा ९ मा पर्ने गुफा गाउँको राष्ट्रिय स्तरमा प्रवद्र्धनका लागि गुरुयोजना तय भइसकेको वडाअध्यक्ष कमलबहादुर खड्काले बताए।

समुद्री सतहबाट २६ सय मिटर उचाइमा रहेको गुफा गाउँमा पूर्वाधारको रुपमा सडक जोडिसकेको वडाध्यक्ष खड्काले बताए। ‘गुफा गाउँमा ग्रामीण सडकको ट्र्याक खनिसकेको छ। सडकको स्तरोन्नतिका लागि बजेट छुट्ट्याएका छौं । सडकको गुणस्तरपछि आन्तरिक तथा बाह्य पर्यटकलाई गुफा गाउँ पुग्न सहज हुनेछ,’ वडाअध्यक्ष खड्काले भने, ‘सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक र विकासको दृष्टिकोणले पछि परेको गुफा गाउँको आर्थिक समृद्धि पर्यटन क्षेत्रले गर्न सक्छ। यसका लागि हामीले गुरुयोजना तय गरेका छौं।’

स्थानीय युवा भरत खड्काले इन्द्रावती र पाँचपोखरी गाउँपालिकाको सिमानामा पर्ने गुफा गाउँ आफैंमा पर्यटकीय गन्तव्य रहेको बताए। यो गाउँसँगै रहेको नौलिंगेश्वर महादेवको मन्दिरबाट काठमाडौंको दृश्य समेत देखिने उनको भनाइ छ। ‘यस क्षेत्रबाट जुगल हिमालय क्षेत्रको दृश्य सजिलै देखिन्छ,’ उनले भने।

ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा अभिनेतृ सुकुमाया मोक्तानले यस क्षेत्रमा रहेको सांस्कृतिक पहिचान, प्राकृतिक दृश्य र जीवनशैलीमा चलचित्र निर्माण गरेर गुफा गाउँको प्रवद्र्धन गर्नुपर्ने बताइन।

उनले गुफागाउँको प्राकृतिक र ऐतिहासिक पक्षलाई समेटेर डकुमेन्ट्री, म्युजिक भिडियोबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताइन्।

गुफा गाउँ पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष शेरपदोर्ज तामाङले राजधानीबाट नजिकै रहेको गुफा गाउँ राष्ट्रिय रुपमा प्रवद्र्धन हुन नसकेकाले यसको प्रवद्र्धनमा सञ्चार माध्यमले पहिलो भूमिका खेल्नुपर्ने बताए।

आर्थिक समृद्धिका लागि वडा ९ ले तय गरेको परियोजनामा गुफा गाउँ, चाम्खु र मूलखर्कलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने तयारी गरेका छन्। पर्यावरणमैत्री पर्यटन विकास कार्यक्रम, चिया बगान, हरित उद्यान, पिकनिक स्थल, प्राविधिक विद्यालय, भ्यू टावर, प्याराग्लाइडिङ, नौलिंगेश्वर महादेवको मन्दिरको विषयलाई वडाले प्राथमिताको साथ उठाएको छ।

यस्तै, गुम्बा, होमस्टे, सांस्कृतिक संग्रहालय, खेलमैदान जस्ता पर्यटक आकर्षण गर्ने योजना तयार गरेका छन्। गोल्मेश्वरी मन्दिर, सातधारा महादेव, सातकन्या देवी मन्दिरसमेत गुफा अन्तर्गत पर्दछ। स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य मेलम्ची पाँचपोखरी पदमार्ग जोडने बाटोलाई समेत वडाले प्राथमिकतामा राखेको छ। मेलम्ची नगरपालिका वडा ९ मा जुडीबुटी संकलन, प्रशोधन तथा प्रवद्र्धन केन्द्रको अवधारण समेत अघि सारेको छ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App