६ वैशाख २०८१ बिहीबार
अर्थ

सहमतिपछि खुल्यो पोखरा नुडल्स

तस्बिर : सन्तोष पोखरेल/नागरिक

पोखरा - मजदुर र व्यवस्थापनबीच सहमति भएपछि यहाँस्थित औद्योगिक क्षेत्रभित्र सञ्चालित पोखरा नुडल्स प्रालि बिहीबार बिहानदेखि सञ्चालनमा आएको छ । बुधबार अबेर राति मजदुर र व्यवस्थापनबीच वार्ता मिलेपछि बिहीबार बिहानदेखि उद्योग सुचारु गर्ने सहमति भएको हो।

पोखरा नुडल्सका कार्यकारी निर्देशक बाबुराम पन्तले व्यवस्थापन र मजदुरबीच वार्ता भएपछि सहमतिमा पुगेर बिहीबार बिहानदेखि उद्योग खुलाएको बताए । ‘बिहीबार बिहानदेखि उद्योग पूर्णरूपमा सञ्चालनमा आएको छ,’ पन्तले भने, ‘मजदुरसँग वार्ताद्वारा समस्या समाधान भयो । सबै मजदुर काममा फर्केका छन् ।’व्यवस्थापन र मजदुरबीच भएको सम्झौताअनुुसार केही श्रमिकले सुपरभाइजर र व्यवस्थापनका वरिष्ठ कर्मचारीलाई दिएको धम्की फिर्ता लिँदै एकले अर्काेलाई सम्मानजनक व्यवहार गर्ने सहमति भएको छ । त्यस्तै व्यवस्थापनले प्रहरीमा दिएको उजुरी फिर्ता गर्ने र पक्राउ परेका मजदुरको रिहाइका लागि पहल गर्ने पनि सहमति भएको छ।

आगामी दिनमा आइपर्ने कुनैपनि असमझदारी वार्ताद्वारा समाधान गर्ने निर्णय पनि व्यवस्थापन र मजदुरबीच भएको छ । कम्पनी बन्द गराउनेबारे कुनैपनि टे«ड युनियन संलग्न नरहेको र जिम्मा पनि नलिएको अवस्थामा उत्पादन रोकिएको दिनको तलब पनि व्यवस्थापनले मजदुरलाई दिनेगरी सम्झौता भएको छ ।‘मजदुरसँग सम्झौता भए पनि पक्राउ परेका ६ जना मजदुरको निलम्बन जारी रहेको छ,’ पन्तले भने, ‘उनीहरूलाई कम्पनीबाट अवकाश दिनेबारे निर्णय भएको छ । त्यसको प्रक्रिया चलिरहेको छ । त्यही भएर निलम्बन फुकुवा भएको छैन।’

अह्राएको काम नगरेका मजदुरलाई व्यवस्थापनले स्पष्टीकरण सोधेपछि आक्रोशित मजदुरले गत सोमबारदेखि चलिरहेको चाउचाउ उद्योग एकाएक बन्द गराएका थिए । तर, उद्योग बन्द गर्दा तलब दिन ढिला गरेको आरोप मजदुरले व्यवस्थापनलाई लगाएका थिए । व्यवस्थापनले भने मजदुरको तलब दिन ढिलाइ नभएको, बरु खटाएको ठाउँमा जान नमानेका मजदुरलाई कारवाही गर्दा उद्योगविरुद्ध खनिएको दाबी गरेको छ।

केही दिनअघि व्यवस्थापनले मजदुर सञ्जीव अधिकारीलाई उद्योगभित्रकै फरक ठाउँमा खटाएको थियो । त्यसपछि उद्योगमा विवाद उत्पन्न सुरु भएको थियो । सुपरभाइजरले अधिकारीको काममा असन्तोष जनाउँदै अन्यत्र खटाएका थिए । तर, अधिकारीले अटेर गरेपछि व्यवस्थापनले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको विवाद चुलिँदै जाँदा केही मजदुर संगठित भई उद्योगविरुद्ध लागेका थिए ।व्यवस्थापनविरुद्ध उत्रेका मजदुरले सोमबार बिहान चलिरहेको उद्योगको उत्पादन प्लान्ट एकाएक बन्द गराएका थिए । चाउचाउ उत्पादन भइरहेको बेला मजदुरले कच्चापदार्थ खन्याएको ठाउँमा अचानक रोकिदिएका थिए । त्यसपछि एकाएक उद्योग बन्द भएको थियो।

पन्तका अनुसार चलिरहेको मेसिन रोकिँदा करिब १० लाख रुपैयाँको कच्चापदार्थ मेसिनमै अड्किएको थियो । एकदिन उद्योग बन्द हुँदा ३५ देखि ४० लाख रुपैयाँ नोक्सानी हुन्छ । उद्योगले अहिले दुईवटा प्लान्टबाट चाउचाउ उत्पादन गरिरहेको छ । एउटा प्लान्टले दैनिक १२ हजार कार्टुन चाउचाउ उत्पादन गर्छ ।पोखरा नुडल्सले रम्बा, बोनस, जोजो लगायतका १८ थरिका चाउचाउ उत्पादन गर्छ । उद्योगमा अहिले २ सय ७५ जना कामदार छन् । प्रशासनिकसहित उद्योगमा अहिले झन्डै ५ सयजनाले काम गर्छन् ।

 

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App