१६ चैत्र २०८० शुक्रबार
अर्थ

दूधकोसी जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी

खोटाङ- खोटाङको रावाबेसी गाउँपालिका र ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको सिमामा पर्ने आठ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी गरिएको छ ।

हाल विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनका काम भइरहेको आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी गरिएको हो । रावाबेसी गाउँपालिका–३, लामीडाँडाको रभुँवास्थित नकटीडाँडा र चिसंखुगढी गाउँपालिका–६, भदौरेस्थित दोभानडाँडामा परीक्षण सुरुङ निर्माणका लागि बिष्फोटसम्बन्धी काम गर्न लागिएको सो कामको जिम्मा लिएका हिमाल कन्सट्रक्सन–वाइवा इन्फ्राटेक जेभीले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित जलविद्युत् आयोजनाभित्र पर्ने पहराको चट्टानको कडापन जाँच्न विस्फोट गर्ने जानकारी आएको रावाबेसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताए ।आयोजनास्थलको प्रगतिबारे बुझ्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गत जेठ ५ गते रभुँवा आएका थिए।

ठेकेदारका प्रतिनिधि भीमबहादुर तामाङका अनुसार जेठ ७ गते सुरु गर्ने भनिएको विष्फोटको काम जेठ १० गते सारिएको छ ।३० महिनामा पूरा गर्ने गरी इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रोकन्सल्ट एसपिए इन एसोसिएसन विथ न्युजेक नामक कम्पनीले २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनका काम गरिरहेको छ ।

लामीडाँडा विमानस्थलबाट ११ किलोमिटर उत्तरपश्चिममा रहेको रँभुवाबजारमा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.५ किलोमिटर हेडरेस सुरुङमार्फत पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । पौने एक खर्बको लागतमा पूरा हुने आयोजनाबाट वार्षिक एक अर्ब ८० करोड युनिट बिजुली उत्पादन हुने प्राधिकरणले जनाएको छ ।एसियाली विकास बैंकको सहयोगमा सन् २०२४ सम्ममा सम्पन्न गर्ने गरी हाल आयोजनालाई प्राथमिकतामा राखेर छुट्टै विभाग गठन गरी काम भइरहेको जनाइएको छ।

जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजना अन्तर्गत २०४२ सालमा पहिचान भएको आयोजनाको काम अघि बढाउन सिफारिस गरिएको थियो । आर्थिक वर्ष ०७५-७६ को मध्यसम्ममा आयोजना निर्माणको टेन्डर आह्वान तथा सम्झौताको काम सकेर आर्थिक वर्ष ०८२-८३ मा सम्पन्न गर्ने गरी ०७६÷७७ देखि निर्माणका काम सुरु गरिने प्राधिकरणले जनाएको छ । दूधकोसीबाट सुरुङ बनाएर ६ सय मेगावाट र थप प्रविधि प्रयोग गरेर दुई सय मेगावाट गरी आठ सय मेगावाट क्षमताको आयोजना निर्माण गर्ने गरी अध्ययन भइरहेको जनाइएको छ ।

प्रकाशित: ९ जेष्ठ २०७५ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App