५ वैशाख २०८१ बुधबार
अर्थ

त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन

काठमाडौं –मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक सोमबारबाट दैनिक २१ घन्टा सञ्चालनमा आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यसअघि दैनिक साढे १८ घन्टा सञ्चालन भइरहेको थियो । बिहान ६ बजेबाट मध्यरात साढे १२ बजेसम्म खुल्ने विमानस्थल सोमबारबाट बिहान ३ बजेसम्म सञ्चालन हुन थालेको हो ।  ‘त्रिभुवन विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्न चाहन्थ्यौं तर विविध कारण अहिलेलाई २१ घन्टा चलाउन थाल्यौं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले २१ घन्टे सेवा उद्घाटन गर्दै भने, ‘यसबाट लाखौं यात्रदेखि आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा सबैलाई धेरै नै सहज हुने छ।’

त्रिभुवन विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन् । आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन् ।विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दैनिक २१ घन्टा सञ्चालनमात्र नभई चौथो ब्यागेज बेल्ट, दोस्रो एक्सरे मेसिन र विमानस्थलबाट बाहिरिन नयाँ मार्ग पनि सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘यी व्यवस्थाबाट लाखौं यात्रुको आवागमन सहज हुने विश्वास छ,’ उनले भने।

पर्यटन मन्त्री अधिकारीले हवाई चाप भयो भन्दै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवाका जहाजलाई जमिन र आकासमा ‘होल्ड’ नगराउने विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए । ‘यदि चाप नै भएको हो भने नयाँ आउने कुनै पनि वायुसेवा कम्पनीलाई उडान अनुमति नदिनुस्,’ उनले भने, ‘चाप भयो पनि भन्ने अनि अनुमति पनि थप्दै जानु गलत हो ।’
त्रिभुवन विमानस्थलको चाप ३१ प्रतिशत कम गर्ने लक्ष्यका साथ काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण गर्न लाग्दा सुरु गरिएको विरोधबाट आफू छक्क परेको उनले बताए।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन सुरु गरिएको र कुनै कर्मचारी वा कर्मचारीका ट्रेड युनियनले काम नगर्ने र विरोध गर्ने गरे भने कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिए ।
‘यो सरकारको निर्णय हो, कार्यान्वयन भएको छ र कसैले काम गर्दिन भनेर चुनौती दिन्छ भने म चुनौती स्वीकार्न तयार छ,’ उनले भने, ‘सरकारी नुन खाएर सरकारकै काममा अड्चन थाप्नेले राजीनामा दिए हुन्छ, तिनको राजीनामा एक निमेषमै स्वीकृत हुन्छ र त्यस्ता कर्मचारीको हामीलाई आवश्यकता पनि छैन।’

विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले पछिल्लो तथ्यांकअनुसार प्रत्येक दिन १ करोड २० लाख यात्रु संसारभरका विमानस्थलबाट यात्रा गर्ने गरेको र त्यसमा त्रिभुवन विमानस्थलको योगदान २० हजारमात्र रहेको जानकारी दिए ।‘यो संख्या वृद्धि गर्न पनि विमानस्थल २१ घन्टा सञ्चालन गरेका हौं,’ उनले भने, ‘विस्तारै समय बढाउँदै चौबीसै घन्टा सञ्चालन गर्ने योजना छ ।’त्रिभुवन विमानस्थल बिहान ११ बाट साँझ ५ बजेसम्म र राति ८ बाट ११ बजेसम्म सबैभन्दा बढी व्यस्त हुने गर्छ । अधिकांश वायुसेवाको उडान–अवतरण यही समयमा हुने गरेको छ ।

 

 

प्रकाशित: ८ जेष्ठ २०७५ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App