१६ चैत्र २०८० शुक्रबार
अर्थ

चीनतर्फको निर्यात ५९ प्रतिशतले वृद्धि

काठमाडौं - चालु आर्थिक वर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेका बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय विवरण अनुसार चीनतर्फको निर्यात ५८.९ प्रतिशतले वृद्धि भएको छ । मुलुकले नौ महिनाको अवधिमा झन्डै ६० अर्ब रुपैयाँको निर्यात गर्दा चीनतर्फको निर्यात उलेख्य बढेको छ।

आर्थिक वर्ष ०७४÷७५ को नौ महिनासम्ममा कुल वस्तु निर्यात ८.२ प्रतिशतले बढेर ५९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.१ प्रतिशतले बढेका थियो । यस अवधिमा भारततर्फ ६.९ प्रतिशत र अन्य मुलुकतर्फ ७.१ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ ।

वस्तुका आधारमा अलैँची, धागो, पोलिस्टर यार्न, अदुवा, तार लगायत वस्तुको निर्यात बढेको छ भने जुस, जिआई पाइप, उनी गलैंचा, पस्मिना लगायत वस्तुको निर्यात घटेको छ ।नौ महिनाको अवधिमा मुलुकमा आठ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको भन्दा २०.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९.७ प्रतिशतले बढेको थियो ।

आयात धेरै वृद्धि हुने देशमा पनि चीन नै अगाडि छ । गत वर्षको तुलनामा यस अवधिमा चीनतर्फको आयात २२.८ प्रतिशतले बढेको छ । त्यसैगरी, सबैभन्दा धेरै आयात हुने छिमेकी मुलुक भारततर्फको आयात २१.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यी दुईबाहेक अन्य देशबाट हुने आयात १५.७ प्रतिशतले बढेको छ ।
पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा सिमेन्ट, हटरोल सिट इन क्वाइल लगायत वस्तुको आयात बढेको छ । कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरिवेयर्स, सानो अलैँची, जिंक इन्गोट लगायत वस्तु आयात घटेको छ ।

भन्सार नाकाका आधारमा वीरगन्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको छ । अन्य भन्सार नाकाबाट निर्यात बढेको छ । त्यसैगरी, आयातर्फ यस अवधिमा सुक्खा बन्दरगाह भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट आयात घटेको छ भने अन्य नाकाबाट बढेको छ ।
नौ महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा २१.७ प्रतिशतले विस्तार भई आठ खर्ब १६ अर्ब ५५ करोड पुगेको छ । यस अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा ७.६ प्रतिशत थियो ।

चालु आवको नौ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाई मूल्य सूचकांक वार्षिक बिन्दुगत आधारमा १.७ प्रतिशतले बढेको छ । आयात मूल्य सूचकांकमा ६.४ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ४.४ प्रतिशतले ह्रास आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त ३.३ प्रतिशतले बढेको थियो । चिया, तामाको तार, पित्तलका पाता, कत्था, लगायत वस्तुको मूल्य बढेको कारण निर्यात मूल्य सूचकांकमा वृद्धि भएको हो।

पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटप लगायत वस्तुहरूको मूल्यवृद्धिले आयात मूल्य सूचकांक बढाएको छ ।समीक्षा अवधिमा कुल सेवा आय ४.८ प्रतिशतले र कुल सेवा खर्च १३.१ प्रतिशतले बढेको कारण खुद सेवा आय दुई अर्ब ७९ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६ अर्ब ४२ करोडले बचतमा थियो । सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा १४ प्रतिशतले बढेर ५० अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

नौ महिनाको अवधिमा रेमिट्यान्स ५.६ प्रतिशतले बढेर २०७४ चैतसम्ममा पाँच खर्ब ४० अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ६.३ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आय भने ६ खर्ब २१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

नौ महिनाको अवधिमा विदेशमा रोजगारी खोज्दै श्रम स्वीकृत लिनेको संख्यामा पनि कमी आएको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या (पुनः श्रम स्वीकृति बाहेक) ६.८ प्रतिशलते घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.२ प्रतिशतले घटेको थियो ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App