१६ चैत्र २०८० शुक्रबार
अर्थ

सिन्धुलीका भूकम्प पीडितलाई ५ अर्ब ३२ करोड बढी रकम वितरण

सिन्धुली – भूकम्प प्रतिरोधी घर बनाउन नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुली जिल्लामा ५ अर्ब ३२ करोड बढी अनुदान वितरण भएको छ। २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणका लागि यो रकम वितरण भएको हो।

भूकम्प पीडितलाई राज्यले दिने अनुदान स्वरुपको पहिलो, दोस्रो तथा तेस्रो किस्ता विरणमा २०७५ वैशाख अन्तिमसम्म ५ अर्ब ३२ करोड ७० लाख रुपैयाँ भूकम्प पीडितलाई वितरण गरिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आर्थिक वर्ष ०७२–७३ मा ५ करोड ८९ लाख रुपैयाँ भूकम्प पीडितलाई वितरण गरिएको थियो।

यस्तै आर्थिक वर्ष ०७३–७४ मा १ अर्ब ९५ करोड ९० लाख ५० हजार वितरण गरिएको थियो भने आर्थिक वर्ष ०७४–७५ को वैशाखसम्म ३ अर्ब २१ करोड २७ लाख ७५ हजार वितरण भएको जिल्ला समन्वय समितिका लेखा शाखाका कर्मचारी रामबाबु कार्कीले जानकारी दिए।

उनका अनुसार भूकम्प पीडितलाई  पहिलो किस्ता वापतको ५० हजार दोस्रो किस्ता वापतको १ लाख ५० हजार र तेस्रो किस्ता वापतको १ लाख रुपैयाँ वितरणमा यो रकम खर्च भएको हो। अझै झन्डै ४ अर्ब बढी बजेट भूकम्प पीडितलाई वितरण गर्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ। हालसम्म सिन्धुलीमा पूर्ण रुपमा घर बनाई ३ हजार ५ सय बढी भूकम्प पीडित सुरक्षित घरमा बस्न थालिसकेका छन्।

नेपाल सरकारले समय तालिका सहित घर बनाउने तालिका सार्वजानिक गरेपछि भूकम्प पीडित घर बनाउन हतारिएका थिए। सोही अनुसार अनुदानमा पनि मोटो रकम धमाधम वितरण भएको हो।  सिन्धुलीको तत्कालिन २५ बढी गाविस भूकम्पबाट अतिप्रभावित भएका थिए। सोही अनुसार भूकम्प पीडितले धमाधम घर बनाउन थालेका हुन्। झन्डै ४ हजार सुरक्षित आवास बनिसकेको छ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिन्धुलीका इन्जिनीयर आयुष मुखियाले भने,‘धमाधम घर बन्दै छ।’

उनका अनुसार भूकम्पको अनुदान पूर्ण रुपमा (तीन लाख) लिइसकेका स्थानीय सुरक्षित आवासमा बसेका हुन्। अनुदान लिष्टमा नाम परेकामध्ये ९५ प्रतिशत बढी भूकम्प पीडितले सम्झौता सम्पन्न गरी घर निर्माणको चरणमा गइसकेका छन्। हालसम्म दोस्रो किस्ता १८ हजारले लिइसकेको कार्यालयले जनाएको छ। 

सरकारले गत २०७३ सालमा सम्झौता गर्नेलाई गत पौष मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने भन्दै पुनर्निर्माणको खाका सार्वजानिक गरेको थियो। सो खाकामा स्थानीयले घर निर्माणमा तीब्रता दिएपनि निर्माण कार्य नसकिएपछि नेपाल सरकारले पुनः म्याद थपेको हो। विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका घरहरूमध्ये नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३४ हजार २ सय ७० घरहरु पुनर्निर्माण गर्नुपर्ने भन्दै आवास अनुदान लाभग्राही सुचिमा सुचिकृत गरेको थियो।

जसमध्ये सिन्धुलीमा ३० हजार २ सय बढीले अनुदान सम्झौता गरेका छन्। घरको जग राखि हालसम्म करिब १८ हजारले दोस्रो किस्ता वापतको रकम बुझिसकेका छन् भने करिब ३ हजार ५ सयले तेस्रो किस्ता समेत बुझेको पाइएको छ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App