६ वैशाख २०८१ बिहीबार
अर्थ

भारतबाट ल्याएको इन्टरनेट पनि महँगो

काठमाडौं- विश्वमै इन्टरनेट शुल्क घटिरहेको बेला नेपाल भने भारतबाट महँगो मूल्यमा इन्टरनेट किन्न बाध्य छ । नेपालमा फोन गर्दा उच्च मूल्य राखेको भारतले नेपाललाई बेच्ने ब्यान्डविथ पनि महँगो रहेको सरोकारवालाले बताएका छन्।

भारतबाट नेपालमा ल्याउने इन्टरनेटको मूल्य प्रतिएमबी १५ डलर हाराहारी पर्छ । उक्त मूल्य अन्तर्राष्ट्रिय स्तरमा रहेको इन्टरनेटको मूल्यभन्दा धेरै हो । इन्टरनेटको मूल्य दुरी, ठाउँ र भोलुम अनुसार फरक पर्ने भए पनि अन्तर्राष्ट्रिय स्तरमा सरदर प्रतिएमबी नौ डलर पर्छ ।

‘नेपालमा चलाउने इन्टरनेट सरदर मूल्यभन्दा महँगो नै छ,’ नेपाल इन्टरनेट सेवा प्रदायक संघका पूर्वअध्यक्ष विनय बोहोराले भने, ‘अहिले हामीले प्रतिएमबी लगभग १५ डलरका दरले तिर्छौं ।’ इन्टरनेटको मूल्य कहाँबाट ल्याएको हो र कति भोलुममा छ भन्नेमा पनि भर पर्ने भएकाले यति नै महँगो परेको भन्न नसकिने उनले बताए । यति हँुदाहँुदै पनि भारतीय बाटो हँुदै आएको इन्टरनेटलाई धेरै मूल्य तिर्नुपरेको उपभोक्ताको भनाइ छ । ‘हामीले प्रयोग गर्ने इन्टरनेटको मूल्य महँगो परेको छ,’ बोहोराले भने, ‘घटाउन सकिने ठाउँ छ।’

सरोकारवालाले भारतसँग छलफल गरेर इन्टरनेटको मूल्य घटाउन सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बेला भारतबाट ल्याउने इन्टरनेटको मूल्य सस्तो बनाउने विषय पनि उठाउनुपर्ने उनीहरूको भनाइ छ । जसरी भारतबाट नेपालमा गर्ने टेलिफोन कलको शुल्क धेरै भएको विषय छ, त्यसरी नै इन्टरनेटको विषयमा पनि छलफल हुन आवश्यक छ ।

ब्यान्डविथको मूल्य घट्ने हो भने भारतबाट नेपालमा गर्ने टेलिफोन कलको शुल्क पनि घटाउन सघाउ पुर्याउने दूरसञ्चार सेवा प्रदायकहरूको भनाइ छ । उनीहरूका अनुसार इन्टरनेटमा भारतीय कम्पनीहरूले नाफा कम राखेर सस्तो बनाउने हो भने मोबाइल डाटा केही सस्तो पर्नेछ । भारतीय प्रधानमन्त्री मोदीले साँच्चिकै भारतमा रहेका नेपालीलाई सस्तो मूल्यमा टेलिफोन सुविधा दिन चाहेका हुन् भने भारतबाट ल्याइएको ब्यान्डविथको मूल्य पनि घटाउनुपर्ने भनाइ दूरसञ्चार सेवा प्रदायकहरूको भनाइ छ।

भारतको इन्टरनेट महँगो पर्नुमा नेपाली बजारमा अन्य बाटोबाट ल्याउने इन्टरनेटको प्रतिस्पर्धा नभएर पनि हो । अहिलेसम्म भारत हुँदै नेपालमा इन्टरनेट ल्याउने बाटो थियो । ‘हाम्रो बजारमा इन्टरनेट ल्याउन प्रतिस्पर्धा नै छैन,’ बोहोराले भने, ‘अन्य विकल्प नहुँदा भारतीय इन्टरनेटको मूल्य धेरै भएको हो ।’

इन्टरनेट बजारमा भारतीय एकाधिकार तोड्दै केही समयअघि नेपाल टेलिकमले चीनबाट इन्टरनेट कनेक्सन गरिसकेको छ । चीनबाट इन्टरनेटको नयाँ विकल्प खुला भए पनि त्यसको प्रयोग राम्रोसँग हुन सकेको छैन । गत पुसमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच व्यावसायिक सम्झौता भइसकेको छ।

टेलिकमले चीनसँग जोडेको नयाँ कनेक्टिभिटीले मुलुकमा सञ्चालन भएको इन्टरनेटको बजार बढ्ने, गुणस्तरमा सुधार हुने र मूल्य घट्ने अपेक्षा इन्टरनेट व्यवसायी तथा आम उपभोक्ताले गरेका थिए । चीनसँग इन्टरनेटको नयाँ विकल्प खुला भएको र यसको व्यापक प्रयोग गर्न केही समय लाग्ने टेलिकमले बताउँदै आएको छ । हाल चाइना टेलिकम ग्लोबलबाट जोडिएको नयाँ कनेक्टिभिटीको क्षमता १.५ जिबिपिएसमात्रै छ।

हाल टेलिकम सहित निजी क्षेत्रको इन्टरनेट भारतसँग भर पर्नु परेको छ । नेपाली सेवा प्रदायकले भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवा प्रदायकसँग इन्टरनेट सेवा खरिद गरिरहेका छन् ।
टेलिकमले चीनसँगको मार्गमा क्षमता थप्ने, आफ्नो सेवा विस्तार गर्ने, नयाँ ग्राहक थप्दै जाने हो भने चीनसँगको इन्टरनेट दाभदायक हुने सारोकारवालाको भनाइ छ । इन्टरनेट बजारलाई अझ व्यापक र बजारलाई प्रतिस्पर्धी बनाउन चीनतर्फको मार्गलाई महत्वका साथ राख्न र ब्यान्डविथ थप्दै जान आवश्यक छ ।भारतीय इन्टरनेटको मूल्य घटाउन अर्को प्रतिस्पर्धी हुनु आवश्यक रहेको व्यवसायी बताउँछन्।

प्रकाशित: २८ वैशाख २०७५ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App