coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दोहोरो चेपुवामा गभर्नर नेपाल

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालबीच सम्बन्ध राम्रो नभएको चर्चा चलेका बेला गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीले गभर्नरको नाम उल्लेख नगरी घुमाउरो पारामा कारबाही गर्ने चेतावनी दिए।

राष्ट्रिय वाणिज्य बैंक तथा एनआइडिसी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार थालनी कार्यक्रममा सहभागी अर्थमन्त्री खतिवडाले केन्द्रीय बैंक स्वायत्त भए पनि गलत गरे कारबाही गर्ने निकाय अर्थ मन्त्रालय भएको स्पष्ट पारे । यो घटनाले दुवैबीच सम्बन्ध राम्रो नभएको छर्लंग पारेको छ।

गभर्नर नेपालको अर्थमन्त्रीसँग मात्र होइन उनकै कार्यालयका कर्मचारीसँग पनि राम्रो सम्बन्ध छैन । राष्ट्र बैंकका वामपन्थी निकट कर्मचारीले राजनीतिक आस्थाकै कारण उनलाई असहयोग गर्दै आएका छन् । सरकारको आर्थिक सल्लाहकार एवं ढुकुटीको साँचो लिएर बसेको व्यक्ति अहिले दोहोरो चेपुवामा परेका छन्।

यसैको कारण हुन सक्छ गभर्नर नेपाल आजकल सार्वजनिक समारोहमा त्यत्ति उपस्थित हुँदैनन्् ।
गभर्नर नेपाल नेपाली कांग्रेस समर्थक हुन् । उनलाई पूर्वप्रधानमन्त्री सुशील कोइरालाले गभर्नर नियुक्त गरेका थिए । यही राजनीतिक आस्थाकै कारण अर्थमन्त्री खतिवडा र राष्ट्र बैंकका वामपन्थी समर्थक कर्मचारीले नेपाललाई असहयोग गरेका हुन् ।

मौद्रिक नीति ल्याउने तयारीमा जुटेका गभर्नर नेपाललाई दोहोरो असहयोगले समस्यामा पार्न थालेको छ।राष्ट्र बैंकभित्रकै एक समूह गभर्नर नेपाललाई असफल गराउने खेलमा सक्रिय रहेको राष्ट्र बैंकका उच्च अधिकारी बताउँछन् । उनलाई हतोत्साहित गराउने र राजीनामा दिन बाध्य पार्ने अभियानमा उक्त समूह सक्रिय रहेको बताइन्छ।

नेपाल पाँच वर्षका लागि २०७१ चैत ५ गते गभर्नर नियुक्त भएका थिए । नेपाल गभर्नरमा नियुक्ति हुनेबित्तिकै राष्ट्र बैंकका एमाले र माओवादी केन्द्र समर्थित कर्मचारी र उनीबीच द्वन्द्व सुरु भएको थियो ।
यसैबीच, गभर्नर नेपालले एमाले र माओवादी केन्द्र समर्थित कर्मचारीलाई पेलेरै अगाडि बढ्ने योजना बनाए ।

उनीहरुलाई बदनाम गराउन गभर्नर नेपालले आफ्नो कार्यकक्षमा रातिसम्म थुनेको अभिनय गरेको समेत आरोप लगाइएको थियो । अहिले आफ्नो पाटी सरकारमा आएको मौका छोपी एमाले र माओवादी केन्द्र समर्थित कर्मचारीले नेपाललाई असहयोग गरेका हुन् । डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले समेत गभर्नर नेपाललाई अहयोग गर्दै आएको राष्ट्र बैंक स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीनिकट मानिने सिवाकोटीले गभर्नर नेपाललाई असहयोग गर्ने अभियान गोप्य रुपमा सञ्चालन गरेको स्रोतको दाबी छ।

पछिल्लो समय राष्ट्र बैंकका कर्मचारीसँगै अर्थमन्त्री खतिवडाले पनि गभर्नर नेपालको आलोचना खरो रुपमा गर्न थालेका छन् । पहिलेदेखि नै गभर्नर नेपाल र अर्थमन्त्री खतिवडाबीच सम्बन्ध सुमधुर थिएन । जानकारका अनुसार खतिवडाले प्रधानमन्त्रीसँग गभर्नरका कारण काम गर्न असजिलो भएको भन्दै उनको आलोचना गर्दै आएका छन् ।

गभर्नर नेपाल पनि अर्थ मन्त्रालयले बोलाएका अधिकांश कार्यक्रममा जाने गरेका छैनन् । अहिले आगामी वर्षको बजेट बनाउन छलफल चलिरहँदा गभर्नर नेपालको उपस्थिति देखिँदैन । राजनीतिक पृष्ठभूमि फरक भएकाले गभर्नर नेपाललाई अर्थमन्त्रीसहित सरकारबाट असहयोग हुने जुन आशंका गरिँदै आएको थियो, अन्ततः त्यो सत्य साबित भएको छ।

यसअघि धितोपत्र बोर्डको अध्यक्ष भएको समयमा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईसँग विवाद भएपछि नेपालले राजीनामा गरेका थिए । अहिले पनि दबाब खेप्न नसकेर राजीनामा दिन सक्ने अनुमान वामपन्थी पक्षको छ । गभर्नरका रुपमा नेपालले खासै काम गर्न नसकेको आरोप पनि लाग्दै आएको छ ।
अर्थमन्त्री खतिवडाले पछिल्लो समयमा राष्ट्र बैंक वित्तीय सुशासनका लागि कमजोर बन्दै गएको आरोप लगाउँदै आएका छन् ।

उनले वित्तीय अनुशासन कामय गर्न नसक्नु गभर्नर नेपालको कमजोरी भएको भन्दै कार्य मूल्यांकन कमजोर भएको ब्रिफिङ प्रधानमन्त्रीसमक्ष समेत गरेको स्रोतको दाबी छ । राष्ट्र बैंकका कर्मचारीको असहयोग भन्दा अर्थमन्त्री र गभर्नरबीचको मनमुटावले समस्या निम्ताउने देखिन्छ । अर्थतन्त्रको दुइटा पाटोको जिम्मेवारी लिएका व्यक्तिहरुको यो मनमुटावले मुलुकको भावी आर्थिक अवस्थालाई क्षति पु¥याउन सक्ने संकेत गरेको छ । यस्तो भए मुलुकका लागि राम्रो हुने देखिँदैन।
 

प्रकाशित: २४ वैशाख २०७५ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App