२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

‘अफसिजन’को पर्यटन धान्न रोपाईंं महोत्सव

<br>

पोखरा पर्यटन परिषद्ले आयोजना गर्ने रोपाईं महोत्सव स्थल लेखनाथको गुँदेताल क्षेत्र। तस्बिरः नागरिक

वर्षायामको सिजन भएकोले यो बेला विदेशी पर्यटक कम हुन्छन। पर्यटन क्षेत्रमा यो सयमलाई अफसिजन पनि मानिन्छ। विदेशी पर्यटक कम हुने भएपछि पर्यटकीय गतिविधि पनि सुस्ताउँछन्। पर्यटन क्षेत्र सुस्ताउने यो समयलाई उपयोग गरेर पाहुना आकर्षण बढाउन पर्यटन व्यावसायीले दुईदशक अघि उपाय निकाले–रोपाईं महोत्सव गर्ने।  

पोखराका पर्यटन व्यावसायीको छाता संस्था पोखरा पर्यटन परिषद (पिटिसी)को आयोजनामा पोखरा क्षेत्रमा दुईदशकदेखि वर्षेनी रोपाईं महोत्सव हुँदै आएको छ। यो पटक पनि असार १५ गते महोत्सवको २० औं संस्करण आयोजना गर्ने तयारीमा परिषद् जुटेको छ। रोपाईं महोत्सव मार्फत पर्यटन प्रवद्र्धन गर्ने, पोखरा आएका पर्यटकलाई महोत्सवमा सहभागि गराएर हिलो खेलेको अनुभव दिलाउने उद्देश्य रहेको परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन।  

उनका अनुसार पोखरा महानगरपालिका–२६ गुँदेताल क्षेत्रको तालबेसीमा यो पटक असारे रोपाईं महोत्सव आयोजना हुँदैछ। गुँदेताल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पनि यो महोत्सवले सघाउने अध्यक्ष पहारीको भनाई छ । परिषद्सँगै स्थानीय शान्तिप्रेमी आमा समुहले यो महोत्सवका लागि सहकार्य गरेका छन। अध्यक्ष पहारीका अनुसार स्थानीय बामदेव ढुंगाना र एलपी ढुंगानाको ८ रोपनी क्षेत्रफलमा यो पटकको रोपाईं महोत्सव हुने छ।  

‘यो वेला विदेशी पर्यटक आउने सिजन होइन। यतिखेर तेश्रो मुलुकका विदेशी पाहुनाको संख्या निकै नै कम छ। भारतीय पर्यटक त छन। तर, यो महोत्सव तेश्रो मुलुकका विदेशी पाहुनाका लागि विशेष महत्व राख्छ,’ महोत्सवबारे पत्रकार भेटघाटमार्फत जानकारी दिँदै पहारीले भने, ‘पोखरामा रहेका सीमित संख्यामा भएपनि विदेशी पाहुनालाई महोत्सवमा सहभागि गराउने तयारी छ। अफसिजनमा पनि पर्यटकीय गतिविधि चलायमान बनाउने गरि रोपाईं महोत्सवको थालनी गरिएको हो।’

हिलो खेल्न पाउने भएकोले विदेशीलाई महोत्सवमा सहभागि गराउँदा उनीहरुका लागि नौलो अनुभव पनि हुने र ती विदेशी पाहुनाको पोखरा बसाई अवधि पनि बढ्ने उनको भनाई छ। अध्यक्ष पहारीका अनुसार योपटक कम्तिमा पनि सात हल गोरुले रोपाईं महोत्सवमा जोत्नेछन।  

‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नाराका साथ परिषदले २०६१ सालबाट हरेक वर्ष फरक ठाउँमा असारे रोपाईं महोत्सव गर्दै आइरहेको छ। पोखराको पर्यटनमा यो बेलाको समयलाई अफसिजन मानिने र अफसिजनमा पनि पर्यटकीय गतिविधि बढाउन सकिन्छ भनेर नै असारे रोपाईं महोत्सव सुरुवात भएको परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन। महोत्सवका लागि भनेर आउने आन्तरिक पर्यटक पर्याप्त हुने उनी बताउँछन।

‘अफ सिजनमा पनि आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई वर्षैभरीकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न असारे रोपाईं महोत्सव महत्वपूर्ण प्रडक्ट बनेको छ,’ श्रेष्ठले भने, ‘स्वदेशीमाझ भन्दा पनि यो महोत्सवले विदेशीलाई बढी मनोरम दिलाउने भएकोले विदेशीको सहभागिताले अर्थ राख्छ।’ यो महोत्सवमा ५ सय हाराहारीमा विदेशी पाहुना सहभागि हुने परिषद्को भनाई छ। पोखराको बढ्दो शहरीकरण र नागरिकको बदलिँदो जीवनशैलीले परम्परागत खेती प्रणाली बिस्तापित हुँदै गएको बेला महोत्सवमार्फत खेतीप्रणालीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न समेत उपयोगी भएको उनले बताए।  

परिषदले पोखरा वरिपरिका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, लुकेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने, कृषकलाई आफ्नो पेशाप्रति उत्प्रेरित गर्नका साथै असार १५ का दिन  ‘हिलोमा एक पटक त टेक्नु पर्छ है’ भन्ने भनाइलाई समेत जीवन्त तुल्याउन महोत्सव गर्दै आएको अध्यक्ष पहारीले बताए।  

अहिलेको महोत्सवले पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा सघाउने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन पनि जोडबल दिने परिषद्को भनाई छ। महोत्सवमा हिलो खेल्ने बाहेक विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि हुने परिषद्को भनाई छ।  

प्रकाशित: ११ असार २०८२ १९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App