coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एयरबसको पहिलो त्रैमासिकको आम्दानी १० अर्ब युरो

टुलुस – युरोपेली जहाज निर्माता कम्पनी एयरबसले यो वर्ष पहिलो त्रैमासिकमा १० अर्ब युरो आम्दानी गरेको छ। गत वर्ष यही त्रैमासिकको दाँजोमा यो आम्दानी १२ प्रतिशतले कम हो।

जहाज खरिद अर्डर उल्लेख्य भए पनि तिनलाई आवश्यक इन्जिन पर्याप्त पाउन नसकेका कारण आम्दानी घटेको एयरबसले जनाएको छ। विशेषगरी ‘ए३२० निओ’ सिरिजका सानो (न्यारो बडी) जहाजमा जडान गर्न इन्जिन अभाव भएपछि आम्दानी घट्न पुगेको उसको भनाइ छ।

एयरबसले सन् २०१८ को पहिलो त्रैमासिकमा जम्मा एक सय २१ थान जहाज आपूर्ति गरेको छ । जुन गत वर्ष पहिलो त्रैमासिकको दाँजोमा १५ थान कम हो । गत वर्ष अन्तिम त्रैमासिकमा भने एयरबसले दुई सय ६४ थान जहाज सम्बद्ध कम्पनीलाई हस्तान्तरण गरेको थियो।

‘इन्जिन अभाव हाम्रा लागि सबैभन्दा चुनौतीपूर्ण अवस्था हो,’ एयरबसका प्रमुख कार्यकारी अधिकृत टम एन्डर्सले भने, ‘र, यसको प्रभाव कम्पनीको वित्तीय विवरणमा स्पष्ट रूपमा देखिइसकेको छ।’

एयरबसका अनुसार पहिलो त्रैमासिकमा नाफा घटेर २८ करोड ३० लाख युरो (४३ करोड २० लाख अमेरिकी डलर) मा झरेको छ। यो परिमाण गत वर्षको पहिलो त्रैमासिकको तुलनामा ३१ प्रतिशतले कम हो।

ए३२० निओ सिरिजकाजहाजमा क्यानडाको जहाज इन्जिन निर्माता कम्पनी प्राट एन्ड ह्विट्नीका इन्जिन राख्ने गरिएको छ। तर, सन् २०१६ देखि इन्जिन आपूर्ति तोकिएको समयमा हुन छाडेपछि एयरबस समस्यामा पर्दै आएको छ। जसका कारण आफ्ना ग्राहकलाई तोकिएको समयमै जहाज आपूर्ति गर्न सकेको छैन। त्यसयता प्राट एन्ड ह्विट्नीले ‘फिक्स्ड इन्जिन’ पानी जहाजबाट युरोप पठाउँदै आएको छ।

एयरबसका यही सिरिजका जहाजलाई इन्जिन आपूर्ति गर्ने दोस्रो ठूलो कम्पनी सिएमएफ इन्टरनेसनल हो। यसले पनि तोकिएको समयमा इन्जिन उपलब्ध गराउन नसकेपछि एयरबसको जहाज उत्पादनमै समस्या परेको थियो । एयरबसले भने यो वर्षबाट जहाज आपूर्ति लक्ष्य पूरा हुने दाबी गरेको छ।

‘इन्जिन निर्माता कम्पनीहरूले देखाएको आत्मविश्वासलाई आधार मानेर तथा उनीहरूको आपूर्ति क्षमताको प्रतिबद्धता हेरेर हामी यो वर्ष आफ्ना ग्राहकलाई तोकिएको समयमै लक्ष्यअनुसार जहाज आपूर्ति गर्न सफल हुनेमा ढुक्क छौं,’ प्रमुख कार्यकारी अधिकृत एन्डर्सले भने, ‘यसबाट हामी यो वर्ष आठ सय थान जहाज आपूर्ति गर्ने लक्ष्यमा पुग्ने विश्वास छ।’

एयरबसका अनुसार पहिलो त्रैमासिकमा जम्मा ६८ थान जहाज खरिद अर्डर प्राप्त भएका थिए । यिनमा युनाइटेड अरब इमिरेट्स (युएई)को इमिरेट्स एयरलाइनको २० थान ‘ए३८०’ सिरिजका जहाज पनि छन्। यो जहाज धेरै संख्यामा यात्रुु बोक्ने संसारकै सबैभन्दा ठूलो जहाज हो। यो वर्ष मार्च अन्तिमसम्ममा जहाज खरिद अर्डर संख्या सात हजार एक सय ८९ थान पुगेको छ।

पहिलो त्रैमासिकमा एयरबसले एक सय २१ थान जहाज आपूर्ति गरेको थियो। जसमा ९५ थान ए३२०, आठ थान ए३३०, १७ थान ए३५० एक्सडब्लुबी र एक थान ए३८० सिरिजका जहाज छन्। एयरबस हेलिकोप्टर्सले भने यो अवधिमा ५२ थान हेलिकोप्टर सम्बद्ध कम्पनीलाई आपूर्ति गरेको थियो।

एयरबसले सन् २०१७ मा सात सय १८ थान जहाज आपूर्ति गरेको थियो। तर, सन् २०१६ मा भने ६ सय ८८ थान जहाजमात्र आपूर्ति गरेको थियो।

प्रकाशित: २३ वैशाख २०७५ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App