८ वैशाख २०८१ शनिबार
अर्थ

विकसित राष्ट्र विश्वव्यापीकरणको विपक्षमा : चौधरी

काठमाडौं – चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्वव्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको आरोप लगाएका छन्।

‘विकसित राष्ट्रहरूले आज अन्तर्राष्ट्रिय व्यापारको ढोका बन्द गर्ने सुरसार कस्दैछन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षित गर्न लागिपरेका छन्,’ अमेरिकाको लस एन्जलसमा मिल्केन इन्स्टिच्युटद्वारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले प्रश्न गरे, ‘यसको मतलब अब हामीले विश्वव्यापीकरणको मान्यतालाई अन्त्य गर्न चाहिरहेका छौँ?’

पछिल्लो समय अमेरिकी ट्रम्प प्रशासनले चिनियाँ उत्पादनलाई अमेरिकी बजार प्रवेशमा अवरोधको नीति लिएसँगै यो विषय विश्वव्यापी बहसमा आएको छ। अमेरिकी सरकारले लिएको नीतिको प्रतिक्रियास्वरूप चीन सरकारले पनि अमेरिकी उत्पादन माथि आफ्नो बजारमा कडाइको नीति अवलम्वन गर्ने सम्भावना बढेर गएको छ। विश्वव्यापीकरणविरूद्ध चालिएका यस्ता कदमले विश्व बजारलाई नकारात्मक प्रभाव पार्ने देखिएको छ।

‘विश्वव्यापीकरणलाई प्रवद्र्धन गर्न विगतमा चालिएका कदमहरू गलत थिए भनेर निश्कर्षमा पुग्ने समय आएको हो?’ अध्यक्ष चौधरीले भने, ‘विश्वव्यापी रूपमा गम्भीर समिक्षा बिना आफ्नो बजार र रोजगारी सुरक्षाका नाममा चालिएका यी कदमहरू सम्भवतः राजनीतिक लोकप्रियताका लागि हुन सक्छ। तर, त्यसले विश्वमा अर्कै वातावरण तयार गरिदिने छ।’

अध्यक्ष चौधरीले लगानीकर्ताका लागि विकासशिल राष्ट्रहरूमा मात्रै बढी जोखिम हुने विश्लेषण सत्य नरहेको र विकसित राष्ट्रहरूले पनि सोही चरित्र अवलम्बन गरिरहेको भन्दै आलोचना गरे। ‘अमेरिकालगायत पश्चिमा विकसित राष्ट्रहरूले पनि कुन बेला कुन नीति लिने छन् भनेर लगानीकर्ताहरू ढुक्क हुन सक्ने अवस्था छैन,’ उनले भने।

चौधरी ग्रुपका अनुसार विकासशिल राष्ट्रहरूको प्रमुख अजेन्डा अहिले आर्थिक विकास र सामाजिक रूपान्तरण भइरहेको जानकारी दिँदै अध्यक्ष चौधरीले ती देशहरूमा राजनीतिक तहबाटै लगानीमैत्री वातावरण तयार गर्नेतर्फ ध्यान पु-याएको महसुस आफूले गरेको अनुभव सुनाए। विकासशिल देशहरूमा उदाउँदै गरेको ‘मिडिल क्लास’ उपभोक्तातर्फ पनि लगानीकर्ताले ध्यान दिन जरूरी रहेको उनले बताए।

‘विकसित मुलुकमा सफल भएका व्यावसायिक अवधारणाहरू विकासशिल मुलुकहरूमा हस्तारन्तरण गरिनुपर्छ,’ अध्यक्ष चौधरीले भने, ‘यसले ती देशको आर्थिक विकास अभियानलाई अगाडि बढाउन सहयोग पुग्छ।’

विश्व सम्मेलनमा अध्यक्ष चौधरीले नेपालबारे जानकारी दिँदै नेपाल आर्थिक विकासको सकारात्मक बाटोमा अगाडि बढिरहेको र यो प्रयासमा साथ दिन आग्रह गरे।

प्रकाशित: २१ वैशाख २०७५ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App