२६ असार २०७७ शुक्रबार
अर्थ

लाङटाङ प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन

अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको फाइल तस्बिर।

काठमाडौं – साहसिक खेलको माध्यमबाट लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले तेस्रोपटक ‘अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन २०७५’ हुने भएको छ। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले आगामी जेठ ५ गते लाङटाङ म्याराथन गर्न लागेको हो।

टानका अध्यक्ष नवराज दाहालले अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए। स्वदेशी तथा अन्तर्राष्ट्रिय धावकहरु म्याराथनमा सहभागी हुने क्रम जारी रहको उनले बताए। ‘रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र गोसाइकुण्ड गाउँपालिकासँग म्याराथन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भव्य बनाउन त्रिकोणात्मक समन्वय भएको छ। लाङटाङ आफैंमा प्रसिद्ध भए पनि पदमार्गको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन हुन सकेको छैन,’ अध्यक्ष दाहालले भने, ‘भूकम्पपछि यस क्षेत्रको पुनः निर्माण अन्तिम चरणमा पुगिसकेकाले लाङटाङ पदमार्गलाई अन्तर्राष्ट्रिय बजारमा पुन ब्युँझाउनु छ। यसले नेपालको पर्यटनलाई थप उचाइमा पु¥याउने अपेक्षा छ।’

उनका अनुसार म्याराथनलाई व्यवस्थित बनाउन टानले विभिन्न समिति बनाएर गृहकार्य गरिरहेको छ। रसुवाको क्यान्जिङदेखि स्याफ्रुबेसीसम्मको ४२ किलोमिटर दुरीमा म्याराथन दौड हुने दाहालको भनाइ छ।

‘विगमा भएको म्याराथनभन्दा यसपटक व्यवस्थित र योजनाबद्ध ढंगले सम्पन्न गराउने गरी लागेका छौं। संस्थाको प्रतिष्ठासँग जोडिएको छ– लाङटाङ म्याराथन,’ अध्यक्ष दाहालले भने। उनका अनुसार यसपटक सयजना धावक सहभागी हुनेछन्।

टानका कार्यसमितिका सदस्य गोपाल श्रेष्ठले लाङटाङ म्याराथनलाई विश्व पर्यटन बजारमा प्रवद्र्धनका लागि मिडियासँग समन्वय भइरहेको जानकारी दिए। भूकम्पले खतराको सूचीमा रहेको लाङटाङलाई पुनः विगतको अवस्थामा फर्काउन म्याराथनले नयाँ सन्देश दिने उनको भनाइ छ। वैशाख १२ गते लाङटाङ म्याराथन गर्ने टानको वार्षिक कार्यतालिका भए पनि प्राविधक कारणवश पर सरेको श्रेष्ठको भनाइ छ।

म्याराथनमा भाग लिने नेपाली धावकले नाम दर्ताका लागि २५ सय तिर्नुपर्नेछ। विदेशी धावकले ७५ डलर तिर्नु पर्छ।

टानले तेस्रो संस्करणको म्याराथनका लागि नेपाल पर्यटन बोर्डसँग १० लाख रुपैयाँ माग गरेको छ। यसअघि पर्यटन बोर्डले टानलाई म्याराथनका लागि तीन लाख रुपैयाँ सहयोग गरेको थियो।

रसुवा उद्योग वाणिज्य संघ, गाउँपालिका, नुवाकोट–रसुवा धादिङ पर्यटन समाजले समेतले सहयोग गर्ने आयोजकले अपेक्षा लिएको छ। पर्यटन व्यवसायीलाई समेत टानले आर्थिक सहयोगका लागि अपिल गरेको छ।

म्याराथनको पुरस्कार राशी पाँच प्रतिशतले बढाएको छ। म्याराथनका महिला र पुरुष दुवैतर्फ पहिलो हुनेलाई एक लाख पाँच हजार, दोस्रो हुनेलाई ७८ हजार सात सय ५० र तेस्रो हुनेलाई ५२ हजार पाँच सय रुपैयाँसहित पदक र प्रमाणपत्र दिने व्यवस्था गरिएको छ।

प्रकाशित: २१ वैशाख २०७५ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App