१६ चैत्र २०८० शुक्रबार
अर्थ

काठको अभावमा फलामको प्रयोग बढ्यो

सिन्धुलीको कमलामाई नगरपालिका ४ मा काठको अभावमा फलामको सामाग्री प्रयोग गरी निर्माणधिन रहेको एक घर। तस्बिरः अनिल भण्डारी/नागरिक

सिन्धुली – २०७२ साल वैशाख १२ गतेको भूकम्प पछि तीव्र गतिमा घर निर्माण भएका छन्। निर्माण भएका घरमा निर्माण सामाग्रीको अभावै अभाव छ। त्यसमध्ये काठ अभाव प्रमुख बन्दै गएको छ। काठको धनी जिल्लाकै रुपमा लिइने सिन्धुलीमा काठ अभाव प्रमुख बन्दै गएपछि भूकम्प पीडित त्यसको विकल्पमा फलाम रोज्न थालेका छन्।

३४ हजार बढी घर भूकम्पको क्षतिग्रस्त लिष्टमा नाम समावेश भएपछि ती परिवारले धमाधम घर बनाउन थालेपछि काठ अभाव हुँदा फलामको प्रयोग बढेको भुकम्प पीडित बताउछन्। कमलामाई नगरपालिका ४ का विक्रम सार्कीले घरमा सम्पुर्ण झ्याल ढोका सहित फलाम प्रयोग गरेका छन्।

काठको अभाव रहेपछि आफूहरूले फलाम प्रयोग गरेको उनले बताए। काठ सहज निकाल्न सकिदैन, त्यसैले फलाम प्रयोग गरेको छु, उनले नागरिकसँग भने–‘ फलाम भन्दा काठ धेरै महंगो पनि छ।’ उनले हराभर जङ्गल रहेको र अनगिन्ती सुखडा काठ रहेको सिन्धुलीमै काठको अभाव भई फलाम प्रयोग गर्नु दुखको कुरा भएको बताउछन्। अत्याधिक काठ जिल्लाबाटै निकासी हुने गरेको भएपनि उचित समन्वयको अभावमा जिल्ला वन कार्यालयले भूकम्प पीडितहरूलाई सहज र सहुलियत काठ दिन नसकेको उनको आरोप छ।

भूकम्प पीडितले बनाएका २–३ कोठे प्राय सबै घरमा झ्यालका चौकोस र ढोकाको चौकोस सहित छानामा फलामको प्रयोग भएका छन्। काठ प्रयोग गर्दा घरको सौन्दर्य र बलियो हुने भएपनि काठ अभावमा भूकम्प पीडितले धमाधम फलामको प्रयोग गर्दै आएको पीडित बताउछन्। काठ सस्तो र सहज पाए फलाम प्रयोग गर्ने मन होइन, अर्का एक भूकम्प पीडितले भने,‘फलाममा खिया लाग्छ, चाडै कमजोर हुन्छ यो सबै थाहा पाएर पनि फलाम प्रयोग गर्नुपर्ने बाध्यता छ।’

भूकम्प पीडितले फलामको प्रयोग अत्याधिक गर्न थालेपछि जिल्लाका हार्डवयर सप्लायर्सहरूले पनि फलामको मूल्य बढाएका छन्। केजीमै १० देखि २० रुपैयाँ फलामको मूल्य बढेको स्थानीय बताउछन्। फलामको मूल्य बढेको छ, खासै झ्याल ढोकामा बनाएर बेच्दा पनि फाइदा हुँदैन, कमलामाई नगरपालिका ४ कै बुद्धिमान वि.क ले भने,‘मैले फलामको मूल्य बढेकै कारण कारखाना राम्रोसँग चलाउन सकेको छैन। दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा ३४ हजार बढी घर क्षतिग्रस्त भएका छन्। तिनै घरहरू बनाउनका लागि प्रयोग हुने काठको सहज पहुँच नभएपछि स्थानियले धमाधम फलामको झ्याल ढोका लगायत छानाको सामान समेत फलामको किनेका हुन्।

निर्माण सामाग्रीको मूल्य बढेको बढ्यै
भूकम्प पछि निजी आवास एकै पटक धमाधम निर्माण हुन थालेपछि निर्माण सामाग्रीको भाँउ बढेको बढ्यै छ। हार्डवयरका सामान तथा बालुवा गिट्टी इँटाको भाउ मनपरी ढंगबाट महंगो लिने गरेको गुनासो भूकम्प पीडितले गरेका छन्।

भाउ बढेकै कारण निजी आवास निर्माणको काम समेत भूकम्प पीडितले तीव्र गतिमा बनाउन सकेका छैनन्। निजी आवास एक साथ बन्न थालेको मौका छोपी अधिकांश घर निर्माण गर्ने सामानको भाउ व्यापारीले बढाउँदा समेत सम्बन्धीत निकाएले बेवास्ता गरेको पीडितको गुनासो छ। हार्डवयरका सामाग्री देखि नदी खोलाबाट उत्खनन गरी ल्याइने गिट्टी बालुवाको समेत भाउ स्थानीय व्यापारीले दैनिक बढाउन थालेका छन्। 

सदरमुकामकै आसपास घर बनाउनेले समेत महंगो मूल्य तिर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउछन्। हामी यहि घर भएका केहि बुझेका भन्नेलाई त स्थानीय व्यापारीले ठगेका छन्, सदरमुकामका एक स्थानीयले भने,‘ग्रामिण भेगबाट आउने भूकम्प पीडितलाई निर्माण सामाग्रीमा ब्रह्मलुटनै भएको छ।’ प्रति ट्याक्टर १२ सय देखि १५ सय पर्ने ढुङ्गालाई हाल २२ सय देखि २५ सय सम्म प्रतिट्याक्टर व्यापारीले लिन थालेका छन्।

खोलामा ढुङ्गाको अभाव भएको भन्दै ट्याक्टर धनीले भूकम्प पीडितलाई ढुङ्गा बालुवाको मूल्यमा दोब्बर बढाएका हुन्। झन्डै ३४ हजार घर २०७२ सालको वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको भन्दै पुनर्निर्माणका लागि सरकारले लाभग्राहीको सुचिमा राखेको छ। तिनै घरहरू धमाधम बन्न थालेपछि हाल सदरमुकाम सिन्धुलीमाढी सहित गाउँगाउँमा घर बनाउने सामाग्री अभावका साथै महंगो मूल्य पर्न थालेको भूकम्प पीडित बताउछन्।

प्रकाशित: १९ वैशाख २०७५ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App