१५ चैत्र २०८० बिहीबार
अर्थ

१० वर्षमा १० हजार मेगावाट विद्युत्

रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनाबारे जानकारी दिँदै पालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ।तस्बिर :नागरिक

रसुवा – नेपालमा १० वर्षे ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकलाई सफल पार्नका लागि १० हजार मेगावाट विद्युत् उत्पादन गरिने भएको छ।

विद्युत् उत्पादनका लागि मुलुकमा पर्याप्त जलस्रोत तथा जनशक्ति भएको र सरकार पनि स्थिर हुने भएकाले ऊर्जा मन्त्रालयले महŒवकांक्षी योजना अघि सारेको हो।प्रेस सेन्टर नेपाल रसुवा शाखाले आइतबार चिलिमे जलविद्युत् आयोजना कार्यालयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी पाँच वर्षभित्रै करिब ६ हजार मेगावाट विद्युत् उत्पादन हुने बताए।

 ‘हामीले १० वर्षे योजना बनाएका छौं,’ मन्त्री पुनले भने, ‘हाम्रो कार्यकालमा ६ हजार मेगावाट विद्युत् उत्पादन हुने छ ।’ योजना सफल बनाउनका लागि स्वेतपत्र निर्माण भइरहेको मन्त्री पुनले जानकारी दिए । निर्माण भइरहेका आयोजनाको मन्त्रालयले तीन–तीन महिनामा समीक्षा गर्ने उनको भनाइ छ।

‘तीन महिनामा आयोजनामा भएको प्रगति, आयोजनाभित्र देखिएका समस्याबारे मन्त्रालयमा समीक्षा गर्छौं,’ उनले भने, ‘आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्नका लागि हाम्रो तर्फबाट नियमित समन्वय गर्छौं।’

लाइसेन्स होल्ड गर्ने तथा लाइसेन्स बिक्री गर्नेको लाइसेन्स खारेज गरिने बताइएको छ । लाइसेन्स लिएर काम अघि नबढाएको, सर्भेको लाइसेन्स लिएर काम नगर्नेको लाइसेन्स खारेज गरिने र विद्युत् खरिद बिक्री सम्झौता गरेर काममा ढिलाइ गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउने मन्त्री पुनले बताए।

जलविद्युत् आयोजना निर्माणले स्थानीयस्तरमा रोजगारी सिर्जना, स्थानीयलाई १० प्रतिशत सेयर पाउने व्यवस्था र प्रभावित क्षेत्रमा पूर्वाधारमा भएको विकासका कारण स्थानीयको अपनत्व महसुस गरेकाले आयोजना निर्माण गर्न सहज भएको छ।

जलविद्युत् आयोजना अवलोकन
मन्त्री पुन, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, जलविद्युत् केन्द्रका प्रमुख, नुवाकोटका सांसद लगायतकोे टोलीले रसुवा र नुवाकोटमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत् आयोजनाको अवलोकन गरेका छन् ।
जलविद्युत् आयोजनाको अवस्था, नीतिगत तथा व्यवहारिक समस्या र समाधानका विषयमा जानकारी लिनका लागि सातवटा जलविद्युत् आयोजनाको अवलोकन गरिएको हो।

निर्माण भइसकेका २२ मेगावाट क्षमताको चिलिमे र पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् आयोजनाको अवलोकन गरेको छ।त्यस्तै माथिल्लो त्रिशुली एक, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी, रसुवागढी, माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजना अवलोकन गर्नुका साथै आयोजनाका समस्या र  समाधानका उपायबारे छलफल गरेको छ।

त्यस्तै जलविद्युत् आयोजना अवलोकन गर्ने क्रममा टोलीले आयोजना, ठेकेदार कम्पनी र परामर्शदातालाई समयसीमा भित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ।जलविद्युत् हवको रुपमा विकास भइरहेको जिल्लामा निर्माणाधीन आयोजना समयमा सम्पन्न गर्न ऊर्जामन्त्री पुनले आग्रह गरेका छन् । अधिकांश जलविद्युत् आयोजना इपिसी मोडलमा निर्माण भइरहेकाले समयमा नै निर्माण सम्पन्न गर्न सकेमा लागतको समस्या नआउने उनले बताए।

पाँच वर्षभित्र जिल्लामा करिब ६ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने देखिएको छ । प्राधिकरणले निर्माण गरिरहेको चिलिमेदेखि मातातिर्थसम्मको प्रसारण लाइन निर्धारित समयभित्रै पूरा हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
 

प्रकाशित: १८ वैशाख २०७५ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App