८ वैशाख २०८१ शनिबार
अर्थ

पहाडी जिल्लामा हवाई सेवा अनिश्चित

विराटनगर – राजधानी विराटनगरबाट प्रदेश १ का पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न माग भइरहे पनि हालसम्म कुनै काम अघि बढेको छैन।

पहाडी जिल्लामा हवाई सेवा नियमित सञ्चालन गर्ने विषयमा केही पनि काम नभएको नागरिक उड्डयन प्राधिकरण विराटनगरले जनाएको छ।नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने विषयमा हालसम्म कुनै पनि निर्देशन नआएको बताए।

उनले भने, ‘पहाडी जिल्लामा विराटनगरबाट हवाई सेवा नियमित गर्ने वा थप गर्ने विषयमा कुनै निर्देशन नआएकाले केही पनि काम अघि बढेको छैन ।’विराटनगर विमानस्थलमा प्रदेशका पहाडी जिल्लालाई हवाई सेवाले जोड्न आवश्यक पूर्वाधार भने पर्याप्त रहेको प्रमुख सिटौलाले बताए ।

उनका अनुसार विराटनगरबाट हाल पनि केही जिल्लामा हवाई उडान सञ्चालन भइरहेको छ । अन्य जिल्लामा पनि उडानका लागि पूर्वाधार तयारी अवस्थामा छ । तर, पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने र विराटनगरबाट सिधा उडान सेवा सञ्चालन नभएका स्थानमा सञ्चालन गर्ने विषयमा कार्यालयलाई  हालसम्म कुनै निर्देशन आएको छैन।

गत बुधबारको प्रदेशसभा वैठकमा वन, उद्योग तथा पर्यटन मन्त्री जगदिश कुसियतले राजधानी विराटनगरबाट प्रदेशभित्रका विमानस्थलमा उडान सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको दाबी गरेका थिए । प्रदेशसभामा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘राजधानी विराटनगरबाट प्रदेशभित्रका विमानस्थलमा नियमित उडान भर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ ।

’ मन्त्री कुसियतले निर्देशन दिएको दाबी गरे पनि  नागरिक उड्डयन प्राधिकरणले भने अनभिज्ञता जनाएका कारण पहाडी जिल्लाको उडान अन्योलमा परेको छ । हुन त केही वर्षअघिसम्म सरकारी स्वामित्वका जहाजहरूले पूर्वी पहाडी जिल्लामा उडान भर्दै आएका थिए । हाल सरकारी स्वामित्वका जहाजहरू न्यून संख्यामा भएकाले धेरै स्थानमा उडान भर्न सक्ने स्थिति छैन । सिटौलाका अनुसार पहाडी जिल्लाका विमानस्थलमा उडान भर्न सरकारी स्वामित्वका जहाजहरू थोरै रहेका कारण निजी कम्पनीलाई आकर्षित गर्न आवश्यक व्यवस्था गर्नुपर्ने छ।

यतिमात्रै हैन विराटनगर विमानस्थलको क्षमता बढाउनु पनि जरुरी छ । ‘विराटनगरबाट प्रदेशका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि विराटनगर विमानस्थलको पार्किङ क्षमता बढाउनुपर्ने अवस्था छ,’ सिटौलाले भने । विराटनगरबाट प्रदेशका अन्य विमानस्थलमा उडान सञ्चालन गर्न माग राख्दै प्रदेश १ को प्रदेशसभामा पटकपटक सदस्यहरूले आवाज उठाए पनि प्रदेश सरकारले माग सम्बोधन गर्न चासो देखाएको छैन।

प्रदेशसभा सदस्यहरूले तीन महिनापहिले नै औपचारिक र अनौपचारिक रुपमा पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न माग राख्दै सदनमा  आवाज उठाउ“दै आएका छन् । विशेष गरी सोलुखुम्बुबाट निर्वाचित प्रदेशसभा सदस्यहरूले सोलुको कुनै एउटा विमानस्थलमा मात्रै भए पनि नियमित उडानको व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराइरहेका छन् । हाल सोलुखुम्बुबाट विराटनगर सिधा उडान नभएका कारण यात्रुहरू काठमाडौं हु“दै विराटनगर आउन बाध्य छन्।  
 

प्रकाशित: १७ वैशाख २०७५ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App