१८ जेष्ठ २०७७ आइतबार
अर्थ

आम्दानीको गतिलो माध्यम बन्दै कफीखेती

दक्षिण ललितपुरको महाकाल गाउँपालिकास्थित ठूला दुर्लुङमा तयार पारिएको कफीका बिरुवा। तस्बिर : नागरिक

ललितपुर – दक्षिण ललितपुरको ग्रामीण बस्तीमा व्यावसायिक कफीखेती वैकल्पिक आम्दानीको गतिलो स्रोत बन्न थालेको छ। विगतमा कोदो र मकै खेती मात्र गर्दै आएका यहाँका किसान व्यावसायिक कफीखेतीतर्फ आकर्षित भएका हुन्।

यस क्षेत्रमा उत्पादित अर्गानिक कफीबाट पर्याप्त आम्दानी हुने सम्भावना देखिए पनि राज्यले उचित सहयोग नगर्दा सोचेजति लाभ लिन नसकिएको गुनासो उनीहरुको छ। खासगरी बगैँचा व्यवस्थापन, सेतो गँवारो र रस्टको नियन्त्रण, सिँचाइ सुविधा उपलब्ध हुन नसक्दा कफीखेतीबाट प्रशस्त आम्दानी गर्न नसकिएको अगुवा किसान मिठाराम जमकट्टेल बताउँछन्।

उनका अनुसार ठूला दुर्लङका ६० परिवार किसान मकैकोदो खेती छाडेर कफीखेतीमा आश्रित भएका छन् । उनले भने, ‘एउटा किसान परिवारले वार्षिक दुई लाख ५० हजार रुपैयाँसम्मको कफी बेच्ने गरेको छ। हाम्रा लागि यो ठूलो रकम हो।’ उनी आफैँले १४ रोपनी जग्गामा कफीखेती गरेका छन्। यहाँ उत्पादित कफी ‘जुरेली कफी’ को नामले जर्मनीमा निर्यात हुँदै आएको छ। जमकट्टेलका अनुसार गाउँमा धेरै उत्पादन गर्नेले वार्षिक २५ सय केजी र कम उत्पादन गर्नेले १० केजीसम्म काँचो कफी (फ्रेस चेरी) बेच्दै आएका छन्।

‘एउटा किसान परिवारले वार्षिक दुई लाख ५० हजार रुपैयाँसम्मको कफी बेच्ने गरेको छ । हाम्रा लागि यो ठूलो रकम हो। यहाँ उत्पादित कफी ‘जुरेली कफी’ को नामले जर्मनीमा निर्यात हुँदै आएको छ।’

गाउँमा उत्पादित कफी स्थानीय कफी उत्पादक सहकारीमार्फत जिल्ला कफी सहकारी सङ्घ हुँदै जर्मन संस्थालाई बिक्री गरिन्छ। फ्रेस चेरी प्रतिकेजी एक सय १५ रुपैयाँमा बिक्री हुने गरेको किसान बताउँछन्। गाउँमा २०३८ सालदेखि कफी रोप्ने क्रम सुरु भए पनि यसलाई व्यावसायिक रुपमा विस्तार भने २०५० सालपछि हो।

हालको ठूला दुर्लुङ र वागमती गाउँपालिकाका विभिन्न गाउँबाट २०६५ सालमा ६६ टन कफी निर्यात भएको थियो। विभिन्न कारणले गर्दा कफी उत्पादन घटबढ हुने गरेको ठूला दुर्लुङ गाउँपालिकाका वडा सदस्य रमण बञ्जारा बताउँछन्। उनले भने, ‘दक्षिण ललितपुर अर्गानिक क्षेत्र हो। यहाँ रासायनिक मल र विषादी निषेध छ । कफीखेतीमा गँवारो नियन्त्रण गर्न समस्या छ । सिँचाइ र बगैँचा व्यवस्थापन पनि प्रभावकारी हुन सकेको छैन। यी समस्याका कारण किसानले सोचेजति आम्दानी गर्न नसकेका हुन्।’

कफी उत्पादनका लागि स्थानीय स्तरमा खुलेका कफी सहकारी, विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स) नेपाल, जिल्ला कफी सहकारी सङ्घलगायतका संस्थाले सहयोग गरिरहे पनि त्यो पर्याप्त नभएको ठुला दुर्लुङ ६ का वडासचिव चेतबहादुर विकले बताए। डिप्रोक्सले नर्सरी स्थापनाका लागि तालिम र थोपा सिँचाइका लागि ५ सय लिटरको ट्यांकी उपलब्ध गराउँदै आएको छ भने गाउँमा उत्पादित कफी प्रशोधन गरी जिल्ला कफी उत्पादक सङ्घमा पु-याउने र त्यहाँबाट निर्यात गर्ने काम स्थानीय स्तरमा खुलेका सहकारी संस्थाहरुले गरिरहेका छन्। लेकाली प्रांगारिक कफी उत्पादक सहकारीका सचिवसमेत रहेका कफी प्राविधिक मिठाराम जमकट्टेलले भने, ‘सहकारीका माध्यमबाट कफी उत्पादन गरी निर्यात गर्ने काम कठिन रहेछ । यस्ता संघसंस्थाले सुरुमा केही प्राविधिक सहयोग गरेर किसानलाई कफीखेतीबाट आयआर्जन गर्ने बाटो देखाइदिए पनि सिँचाइ, रोग नियन्त्रण र बजारसम्म पु-याउने जिम्मेवारी राज्यले लिएमा सहज हुने थियो।’

प्रकाशित: १६ वैशाख २०७५ १०:५३ आइतबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App