७ वैशाख २०८१ शुक्रबार
अर्थ

मेसिनरी सामान आयात ७० प्रतिशतले बढ्यो

काठमाडौं – मुलुकमा विद्युत् उपलब्धता र राजनीतिक स्थिरतासँगै औद्योगिक उत्पादन बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकमा मेसिनरी तथा यसका पार्टपुर्जा आयात वृद्धिले औद्योगिक वातावरण बनेको संकेत गरेको हो।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार चालु आवको पहिलो आठ महिनामा मुलुकभित्र मेसिनरी तथा पार्टपुर्जा आयात ७० प्रतिशतले बढेको छ । नयाँ उद्योग स्थापना तथा पुरानाको मर्मत गर्न आवश्यक पर्ने यस्ता मेसिनरी सामानको आयात राम्रो हुनुलाई व्यवसायीहरु सकारात्मक संकेतका रुपमा लिन्छन्।‘मेसिनरी सामानको आयात धेरै बढ्नु औद्योगिक वातावरणको राम्रो संकेत हो,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘विगतका वर्षमा मेसिनरी सामानको आयात ठप्पप्रायः थियो।’

तथ्यांक अनुसार चालु आवको पहिलो आठ महिनामा मेसिनरी तथा पार्टसको आयात अघिल्लो आर्थिक वर्षभरीको भन्दा धेरै भइसकेको छ । चालु आवमा यस्तो आयात ७० प्रतिशतले बढेर ८२ अर्ब ३० करोड पुगेको छ । गत आर्थिक वर्ष ०७३-७४ मा अघिल्लो वर्षको तुलनामा ४३ प्रतिशतले बढेर ८१ अर्ब ८० करोड पुगेको थियो । आर्थिक वर्ष ०७२-७३ मा मेसिनरी तथा पार्टपुर्जा आयात ५७ अर्ब ११ करोड रुपैयाँ बराबरको थियो।

चालु आवमा औद्योगिक क्षेत्रमा प्रयोग हुने मेसिनरी सामान तथा पार्टपुर्जाको आयात ह्वात्तै बढ्नुमा दुई पक्षलाई मुख्य कारण मानिएको छ । पहिलो विद्युत्को उपलब्धता र दोस्रो राजनीतिक स्थिरता।  विगतका डेढ वर्षयता मुलुकभर लोडसेडिङ भएको छैन । औद्योगिक क्षेत्रमा दैनिक तीन घन्टामात्र विद्युत् आपूर्ति काटिएको छ । अबको केही दिनमै यो समेत हट्ने विद्युत् प्राधिकरणले बताएको छ।

‘विद्युत् आपूर्तिमा सुधारले औद्योगिक क्षेत्रमा राम्रो संकेत देखिएको छ,’ मुरारकाले भने, ‘यसले औद्योगिक उत्पादन समेत केही बढाएको छ ।’ विद्युत् आपूर्ति निरन्तर हुँदा उत्पादनमूलकदेखि घरेलु तथा साना उद्योगसम्ममा सकारात्मक असर गरेको छ।नेपाल सिमेन्ट उत्पादक संघका महासचिव ताराप्रसाद पोखरेलले पनि पछिल्लो समय सिमेन्ट लगायत अन्य उत्पादन बढेको बताए । उनका अनुसार पछिल्लो समयमा सिमेन्ट उत्पादन १०–१२ प्रतिशतले बढेको छ।

उनका अनुसार पुराना मेनिस मर्मत गरिँदै छ भने नयाँ प्लान्ट राख्ने काम पनि भइरहेको छ । कतिपय उद्योगले उत्पादन क्षमता समेत वृद्धि गरिरहेका छन् । ‘विद्युत् आपूर्तिमा सुधार हुँदा सिमेन्ट उद्योगको उत्पादन बढेको छ,’ पोखरेलले भने।मुलुकमा पछिल्लो समय औद्योगिक उत्पादन बढ्नुको अर्को कारण हो– राजनीतिक स्थिरता । पछिल्लो एक वर्षमा स्थानीय, तह र संघीय गरी तीन तहमा चुनाव सम्पन्न भइसकेपछि मुलुक राजनीतिक स्थिरतातर्फ लम्केको छ । केन्द्र तथा प्रदेशमा स्थायी सरकार गठन भएसँगै व्यवसायीमा थप आशा जागेको छ।

मुलुकमा निर्माण भएको नयाँ वातावरणले औद्योगिक उत्पादनमा नयाँ आशा जागेको मुरारकाले बताए । अब केही हुन्छ कि भन्ने आशा औद्योगिक क्षेत्रमा जागेको छ। ‘अहिलेसम्मको वातावरण राम्रो छ,’ मुरारकाले भने, ‘सरकारले अब ल्याउने नीति तथा कार्यक्रमले मात्र उद्योग व्यवसायको प्रगतिको मूल्यांकन गर्न सकिनेछ ।’ उनका अनुसार सरकारले उद्योग व्यवसायलाई सहयोग हुने गरी नीति तथा कार्यक्रम घोषणा ग¥यो भने मात्र औद्योगिक वातावरण बन्नेछ।

मुलुकमा औद्योगिक वातावरण बनिरहेको बेला यससँग सम्बन्धित अन्य समस्या समाधान गर्नुपर्ने व्यवसायीको भनाइ छ । विद्युत् आपूर्ति र अस्थिर राजनीति समाधान भए पनि उद्योग सञ्चालन गर्ने क्रममा थुप्रै अन्य समस्या भएकाले तिनको समाधान गरेमात्र औद्योगिक वातावरण बन्ने पोखरेलले बताए।

‘उद्योग सञ्चालनको लागि थुप्रै स्थानीय समस्या छन्,’ पोखरेलले भने, ‘ती समस्या समाधान गर्नु सरकारको जिम्मेवारी हो ।’ उद्योग सञ्चालनको लागि चाहिने पूर्वाधार समेत बन्न सकेका छैनन् । उद्योग तथा खानीसम्मका बाटाहरू राम्रा छैनन् । क्षमतावान पुल छैनन् । बाटोको भारबहन क्षमता कमजोर हुँदा धेरै लोड बोक्ने गाडी सञ्चालन हुन सक्दैनन्।

‘स्थानीय र ढुवानी समस्या धेरै छ,’ पोखरेलले भने, ‘यसले उद्योगको क्षमता वृद्धिमा समेत बाधा खडा गरिरहेको छ ।’ स्थानीय तहमा रहेका यी समस्यालाई पनि सरकारले सम्बोधन गर्नुपर्ने व्यवसायीको भनाइ छ।स्थानीय समस्या समाधान सहित सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न ऐन नियम समयमै बनाउने काम गरेमा पछिल्लो समय बनिरहेको औद्योगिक वातावरणमा थप प्रगति हुने व्यवसायीको भनाइ छ ।  
 

प्रकाशित: १२ वैशाख २०७५ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App