१६ चैत्र २०८० शुक्रबार
अर्थ

प्रादेशिक लगानी बोर्ड स्थापनामा जोड

लगानी बोर्डले आइतबार हेटौंडामा आयोजना गरेको लगानी सम्बन्धी अन्तरक्रियामा सहभागी सरोकारवाला। तस्बिर : अशोकसुजन/नागरिक

मकवानपुर – प्रदेश ३ मा प्रदेशस्तरीय लगानी बोर्ड गठन गरी काम गर्न सरोकारवालाले आग्रह गरेका छन्। लगानी बोर्डले आइतबार हेटौंडामा आयोजना गरेको लगानी सम्बन्धी अन्तरक्रियामा सरोकारवालाका प्रतिनिधिले समृद्धि हासिल गर्न केन्द्र (संघ)मा जस्तै प्रदेशमा पनि लगानी  बोर्ड आवश्यक रहेकोमा जोड दिएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले समृद्धि र विकासका लागि प्रदेश सरकारसँग हातेमालो गर्न तयार रहेको बताए। प्रदेश सरकारले निजी क्षेत्रसँग हातेमालो गर्दै सहकार्य गर्न तयार रहेको उनले दाबी गरे।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार लगानीमैत्री कानुन निर्माणमा जुटेको बताउँदै सहयोग गर्न सरोकारवालालाई आग्रह गरे। ‘लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्छु,’ उनले भने, ‘तपाईं (उद्योगी, व्यवसायी)को लगानीको सुरक्षा र संरक्षणको काम प्रदेश सरकारले गर्छ, लगानी बोर्ड गठनलगायत काम हामी चाँडै गर्छौ।’

देशभित्र रहेको पुँजी र जनशक्ति परिचालन गर्न देशकै लगानीबाट विकास र समृद्धि हासिल गर्न सकिनेमा जोड दिँदै पौडेलले प्रदेश सरकारले लगानी खोजी गरिरहेको र उत्पादनमूखी र परिणाममूखी लगानीका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रदेश सरकारले पनि छुट्टै लगानी बोर्ड स्थापना गरेर काम गर्न सक्ने प्रावधान रहेको बताए। नेपालमा लगानीको अवस्था र बोर्डले गरेका क्रियाकलाप विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले प्रदेश लगानी बोर्ड स्थापना भए पुँजी एकीकृत हुने र विकास निर्माण तथा ठूला आयोजनाका काम गर्न सजिलो हुने बताए।

प्रदेश ३ का विपक्षी दल काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले गर्ने विकास र समृद्धिको कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। अन्तरक्रियामा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेशसभा सदस्य, विभिन्न मन्त्रालयका सचिव, उद्योगी, व्यवसायीलगायत सहभागी थिए।

प्रकाशित: १० वैशाख २०७५ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App