५ वैशाख २०८१ बुधबार
अर्थ

काभ्रेमा कृषि मेला तथा प्रदर्शनी

बनेपा – काभ्रेपलाञ्चोक जिल्लामा कृषि तथा पशुपालन व्यावसायिक बन्दै गएको सन्दर्भमा यसमा संलग्न किसानका उत्पादनहरु तथा अपनाएका प्रविधिबारे जानकारी आदानप्रदानका लागि बनेपामा कृषि मेला तथा प्रदर्शनी हुने भएको छ।

बनेपा नगरपालिकासहित सबै स्थानीय तह, कृषि, पशु सेवा कार्यालयका साथै कृषिमा कार्यरत गैरसरकारी संस्थाहरुको संयुक्त आयोजनामा कृषि मेलाको आयोजना गर्न लागिएको हो। वैशाख १५ देखि १८ गतेसम्म आयोजना हुने मेलाको व्यवस्थापन समृद्ध काभ्रे कृषि सहकारी संस्था र काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालिले गर्ने भएका छन्।

विगतमा कृषिलगायत सरोकारवाला कार्यालयहरुले सीमित स्वरुपमा मेला तथा प्रदर्शनी आयोजना गर्दै आएका भएपनि यसपटक सबै क्षेत्र समेटेकाले प्रदर्शनी व्यापक हुने संस्थाका अध्यक्ष एवं मेला संयोजक पूर्णचन्द्र सिग्देलले बताए। ‘जिल्लाभित्रका र बाहिरका कृषि तथा पशु उत्पादनलाई समेटेका छौं। प्रदर्शककै संख्या डेढ सयभन्दा बढी रहेको छ भने अवलोकनकर्ता ५० हजार नाघ्ने अनुमान गरेका छौं,’ उनले थपे।

प्रदर्शनीमा प्रत्येक पसल कवलमा फरक–फरक कृषिउपज रहने व्यवस्था मिलाइएको छ। कृषक, एग्रोभेट, बीउबिजन र बिरुवा, कृषि मेसिनरी, दुग्ध उत्पादन, माछा, मासु  तथा फलफूललगात स्टल रहनेछन्। त्यस्तै, उत्कृष्ट किसानलाई विधागत रुपमै पुरस्कृत गर्ने पनि व्यवस्था मिलाइएको सिग्देलले बताए।

‘कृषि र पशु सेवाका सबै कार्यक्रम स्थानीय तहमा गएका हुँदा ती तहमा के कसरी काम भइरहेका छन्। सम्भाव्यता के–के छन्? कुन–कुन सहकारी/संस्थाले कृषि प्रवद्र्धन गर्दै रहेका छन् भन्नेबारे सबै स्थानीय तहले प्रदर्शन गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने।

एक अध्ययनले कृषि उपज उपभोक्तासम्म पुग्ने क्रममा कृषकले पाएको मूल्यको तीन गुणा बढी मूल्य पर्ने हुँदा उत्पादक र उपभोक्ता दुवैलाई आर्थिक मारमा पर्न नदिनका लागि मेलाकै अवधिमा कृषिका सम्भावना र चुनौतीबारे अन्तरक्रियासमेत गर्ने सिग्देलको भनाइ छ। ‘यसबाट किसानको उत्पादन क्षमता, उत्पादनका आधार क्षेत्र पहिचान, कृषकको अवस्था, प्रतिस्पर्धात्मक क्षमता विकास र किसानको मनोबल उच्च पार्ने खालका योजना तयार पार्न सरोकारवालालाई सहज हुनेछ,’ उनले थपे।

मेला प्रदर्शनी हुने स्थान काभ्रे कृषिबजार काभ्रेसहित मध्यपहाडका दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाका किसानलाई पायक पर्ने बनेपास्थित एकमात्र व्यवस्थित कृषि बजार हो। चार वर्ष अघिदेखि बनेपा, अरनिको राजमार्गमा सञ्चालित कृषिबजार नौ रोपनी क्षेत्रफलमा फैलिएको र कृषकको उत्पादन बिक्रीका लागि एक सय २३ वटा पसल कवल रहेको छ।

‘कृषि बजारमा तरकारीजन्य, मासुजन्य र डेरी उत्पादनका छुट्टाछुट्टै स्थान व्यवस्था गरिएको छ। कृषक र व्यापारीबीच नियमित रुपमा अन्तरक्रियासमेत गराउँदै आएका छौं। यसबाट उनीहरुबीचको भावनात्मक सम्बन्धका कारण किसानले सही मूल्य पाइरहेका छन्,’ सिग्देलले भने, ‘यस पटकको मेलाका अवसरमा बजारको प्रवद्र्धन गर्नु थप उद्देश्य हो। यसबाट किसानले आफ्ना उत्पादन सहज रुपमा ल्याएर बेच्न सकून र उपभोक्ताले उचित मूल्यमा किन्न सकून भन्ने अभिप्राय हो,’ उनले थपे।

प्रकाशित: ९ वैशाख २०७५ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App