१९ असार २०७७ शुक्रबार
अर्थ

कर्णाली नदीको तटबन्ध निर्माण रोकियो

कर्णाली नदी नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काम ठप्प भएपछि आराम गर्दै मजदुर । तस्बिर :निर्मल/नागरिक

बर्दिया – स्थानीय प्रशासनले नदीजन्य निर्माण सामग्री प्रयोगमा रोक लगाउँदा कर्णाली नदीको तटबन्ध निर्माण कार्य पूर्ण रुपमा ठप्प भएको छ।

पाँच वर्षभित्रै गुरुयोजनाअनुसार सम्पन्न गर्ने उद्देश्यका साथ निर्माण भइरहेको तटबन्ध ठप्प भएको हो । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका जोगाउन कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजनाले निर्माण गरिरहेको तटबन्ध तीन वर्षअघिदेखि सञ्चालन भइरहेको छ।

पर्यटकीय मार्गको अवधारणाअनुरुप आयोजनाले अघि बढाएको तटबन्ध निर्माण कार्य ठप्प भएको कर्णाली नदी नियन्त्रण व्यवस्थापन आयोजनाका प्रमुख धर्मराज न्यौपानेले बताए । ‘तीन वर्षअघि निरन्तर चलिरहेको आयोजनाको काम प्रशासनले रोकेको छ,’ उनले भने, ‘नियमसंगत निर्माण सामग्री प्रयोग भइरहेको भएपनि प्रशासनले रोक्नु ज्यादती हो।’

यसले तीन वर्षअघिदेखि निर्माण भइरहेको तटबन्ध निर्माण सामग्री अभावमा अलपत्र पर्ने अवस्थामा पुगेको उनको भनाइ छ । तटबन्ध निर्माणका क्रममा नदीजन्य निर्माण सामग्री प्रयोग गर्ने उल्लेख भएपनि प्रशासनले रोक लगाउँदा आयोजनाको तटबन्ध निर्माण कार्य ठप्प भएको उनले जानकारी दिए।

तटबन्धले सर्वसाधारणलाई बाढीमुक्त पार्दै पर्यटकीय मार्गका रुपमा प्रयोग गरी पर्यटक भित्र्याउन सहज हुने आयोजनाको उद्देश्य रहेको उनको भनाइ छ । नदीतटीय क्षेत्रमा सुरु गरिएको तटबन्धको मेरुदण्ड मानिएको स्पट र स्पर अलपत्र अवस्था रहेको प्राविधिकको भनाइ छ । निर्माण व्यवसायीले काममा नोक्सान भएकाले क्षतिपूर्ति माग गरेका छन् । आयोजनाका एक प्राविधिक प्रश्न गर्दै भने, ‘नदी बढ्ने क्रममा भएकाले नोक्सान भए कसले जिम्मेवारी लिन्छ ?।’

अनाधिकृत नदीजन्य निर्माण सामग्री उत्खनन् भएको भन्दै रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए । ‘अनाधिकृत रुपमा निर्माण सामग्री उत्खनन् भए–नभएको प्रशासनले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘अनुसन्धानपछि मात्रै आयोजनाको कामले निरन्तरता पाउँछ।’   

बर्सेनि राजापुर क्षेत्रमा डुवानमा परेपछि २०७१ असोजदेखि सुरु गरिएको तटबन्धले तीव्र गतिमा निर्माण भइरहेको छ । यस वर्ष ७ किलोमिटर तटबन्ध निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । ६ फिट अग्लो, १४ मिटर चौडाइ, १५ मिटर लचिङ स्पट र स्परसहितको ७ किलोमिटर तटबन्ध यस वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

कर्णाली नदी नियन्त्रण गुरु योजनाअन्तगर्तको तटबन्ध निर्माण कार्य पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको । ४३ किमि लामो यो तटबन्धको लागत ११ अर्ब रुपैयाँ रहेको छ । आयोजनाले छोटो समयमा कार्य प्रगति गरेकामा राजापुरबासी खुसी भएका छन् । गुरुयोजना पूरा गर्ने लक्ष्यले राजापुरमा छुट्टै कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन कार्यालय स्थापना गरिएको छ।बाढीले बर्सेनि क्षति पुर्‍याउने क्षेत्र बनघुस्रामा १ हजार ५ सय ५० मिटर, सनकट्टीमा २ सय मिटर, मुर्गहवामा १ हजार ३ सय, पत्भरबोझीमा ५ सय र गुप्तीपुरमा ५ सय मिटर पक्की तटबन्धको काम अघिल्लो वर्ष आयोजनाले सम्पन्न गरिसकेको जनाएको छ।

चारैतिर कर्णाली नदीले घेरिएको राजापुर क्षेत्र अन्न उत्पादनका लागि प्रसिद्धि कमाएको क्षेत्र हो । एक सिजनमा ८ लाख क्विन्टल धान उत्पादन हुने गरेको कृषि कार्यालयमा तथ्यांक छ। तटबन्ध निर्माणले सिजनमा उत्पादकत्व बढ्ने दाबी आयोजनाको छ । राजापुर क्षेत्र सम्भावना बोकेको ठाउँ भए पनि बर्सेनि डुबानमा पर्दा किसान मर्कामा पर्दै आएका थिए।

तटबन्ध निर्माणले नदी छेउँका उब्जनी हुने जमिन किसानले प्रयोग गर्न सक्ने अवस्थामा रहेको गोला गाविसका चैतु थारुले बताए । ‘उब्जनी हुने जग्गामा डुबानको समस्या यस वर्ष टर्‍यो,’ उनले भने । यसै वर्षको तटबन्धले डुबानमा पर्ने खेतीयोग्य जमिन १ हजार २ सय हेक्टर तटबन्ध उकासेको आयोजनाको दाबी छ।

 

प्रकाशित: ४ वैशाख २०७५ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App