१६ चैत्र २०८० शुक्रबार
अर्थ

आयात सात खर्ब ६७ अर्ब, निर्यात ५३ अर्ब

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा सात खर्बबाट उकालो लागेको छ । यो घाटा अघिल्लो वर्षको भन्दा २३ प्रतिशतले बढी हो।

व्यापार घाटा चुलिइरहेको बेला मुलुकले ५३ अर्बको निर्यात गर्दा सात खर्ब रुपैयाँको आयात गरेको छ।नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७४÷७५ को पहिलो आठ महिनाको मुलुकको आर्थिक तथा वित्तीय तथ्यांक अनुसार ५३ अर्ब ४२ करोड रुपैयाँको निर्यात गरेको छ भने सात खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ।

यस अनुसार आठ महिनामा सात खर्ब १४ करोड रुपैयाँको व्यापार घाटा मुलुकले बेहोर्नु परेको छ।यस अवधिको कुल व्यापारमा निर्यातको ७ र आयातको ९३ प्रतिशत योगदान छ । अघिल्लो वर्ष यो क्रमशः ७.७ र ९२.३ थियो।यस अवधिमा कुल वस्तु निर्यात १०.८ प्रतिशतले र आयात २२.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात १२.८ प्रतिशतले र आयात ४४.२ प्रतिशतले बढेको थियो।

निर्यातको तथ्यांक हेर्दा सबैभन्दा धेरै चीनतर्फ भएको देखिन्छ । आठ महिनाको अवधिमा चीनतर्फको निर्यात ६२ प्रतिशतले बढेको छ । दक्षिणतिरको छिमेकी भारतमा ९.८ प्रतिशतले र अन्य मुलुकतर्फ ९.१ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकको जनाएको छ।आयात भारत र चीन दुवैतिरको बराबर बढेको छ । तथ्यांक अनुसार भारतबाट हुने आयात २२.३ र चीनबाट हुने २२.२ प्रतिशतले बढेको छ । अन्य मुलुकबाट भएको आयात २१.३ प्रतिशतले बढेको छ।

तथ्यांक अनुसार अलैंची, जुटको बोरा, धागो, पोलिस्टर यार्न लगायतका वस्तुको निर्यात बढेको छ भने जिआई पाइप, जुस, उनी गलैंचा, पस्मिना लगायत वस्तुको निर्यात घटेको छ । त्यसैगरी, आठ महिनामा पेट्रोलियम पदार्थको आयात सय अर्ब ६० करोड, खाद्य पदार्थ तथा जीवित जनावर ९७ अर्ब पाँच करोड र यातायातका साधन तथा पार्टपुर्जाको आयात ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा कुल सेवा आय ८.६ प्रतिशतले बढेको र कुल सेवा खर्च १५.१ प्रतिशतले बढेको कारणले खुद सेवा आय दुई अर्ब ३१ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय तीन अर्ब ७३ करोडले बचतमा रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा २०.१ प्रतिशतले बढेर ४३ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३८.७ प्रतिशतले बढेको थियो।

आठ महिनाको अवधिमा रोमिट्यान्सको वृद्धिदरमा कमी आएको छ । यस अवधिमा रेमिट्यान्स ४.९ प्रतिशतले बढेर चार खर्ब ७१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ५.३ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आयमा भने ०.७ प्रतिशलते कमी आई पाँच खर्ब ३९ अर्ब १९ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.४ प्रतिशतले बढेको थियो।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः स्वीकृति बाहेक) ५.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ७.१ प्रतिशतले घटेको थियो ।अघिल्लो वर्षको आठ महिनामा चालु खाता ६ अर्ब ३१ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटा विस्तार भई एक खर्ब ५३ अर्ब ९३ करोड पुगेको छ।

यस अवधिमा आयात तथा विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा रहेको हो । त्यसैगरी, अघिल्लो वर्षको आठ महिनामा ५० अर्ब दुई करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २४ अर्ब ७३ करोडले घाटामा रहेको छ।अघिल्लो वर्षको भन्दा यस वर्ष वैदेशिक लगानी झन्डै ६ अर्बले बढेको छ । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब २४ करोड पुगेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ८ अर्ब ३५ करोड रहेको थियो।

चालु आर्थिक वर्षको आठ महिनामा सरकारको बजेट घाटा ५३ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यो अवधिमा यस्तो घाटा आठ अर्ब ७३ करोड रुपैयाँ थियो।राष्ट्र बैंकका अनुसार सरकारको कुल राजस्व संकलन २१.४ प्रतिशतले बढेर चार खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ५१.९ प्रतिशतले बढेर तीन खर्ब ५४ अर्ब १६ करोड पुगेको थियो।

प्रकाशित: ३० चैत्र २०७४ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App