७ वैशाख २०८१ शुक्रबार
अर्थ

मुलुकले व्यापार नै गर्न सकेको छैन

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले नेपालले अन्य देशसँग व्यापार गर्न नसकेको बताएका छन् । मुलुक व्यापार घाटाभन्दा पनि व्यापार नै गर्न नसक्ने अवस्थामा रहेको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघको ५२औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस–२०७४ को उद्घाटन सत्रमा बोल्दै बुधबार प्रधानमन्त्री ओलीले मुलुकभित्र बेच्ने उत्पादन नै नभएकाले व्यापार गर्न नसकिएको बताए । ‘हाल हामीले व्यापार घाटा भनिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘व्यापार घाटा हुनलाई त दुईतिरबाट व्यापार हुनुपर्‍यो नि ! अहिले हामीले आयात मात्र गरेका छौं व्यापार गरेका छैनौं । ९३ प्रतिशत ल्याएर ७ प्रतिशत बेच्नुलाई के व्यापार भन्नु !’ यसलाई उनले दुखद वास्तविकता भने।

नेपाललाई अबको तीन वर्षभित्र विकासशील देशमा स्तरोन्नति गर्ने गरी काम गर्नुपर्नेमा प्रधामन्त्रीले जोड दिए । त्यसैगरी, सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नुपर्ने चुनौती रहेको उनले बताए । ‘हामीभन्दा धेरै अगाडि पुगिसकेका राष्ट्रले समेत त्यो लक्ष्यलाई महत्वाकांक्षी भनेको बेला हामीलाई धेरै गाह्रो छ,’ प्रधानमन्त्री ओलीले भने, ‘गाह्रो छ भन्दैमा पछि हट्ने होइन, हामी जसरी पनि लक्ष्यमा पुग्नै पर्छ।’

हाल मुलुकको प्रतिव्यक्ति आय आठ सय डलर हाराहारी छ । विकासशील देशमा उक्लिन प्रतिव्यक्ति आय १२ सय ४० डलर पु¥याउनु पर्छ । यसको लागि हरेक क्षेत्रमा नयाँ प्रविधि प्रयोग गरेर उत्पादन बढाउन आवश्यक रहेको उनले बताए । सरकारले दिगो विकासको लक्ष्य हासिल गर्न हरेक क्षेत्रमा नयाँ योजना सहित काम गर्न थालेको उनले बताए ।प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आएको, शान्ति सुरक्षाको प्रतिभूति भएको र स्थिर सरकार आइसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको बताए।

प्रधानमन्त्री ओलीले महासंघले हरेक प्रदेशमा गरेको आर्थिक बहसको प्रशंसा गर्दै राम्रो काम गरेकोमा बधाइ दिए । ‘तपाईंहरूले हरेक प्रदेशमा गरेको आर्थिक बहस प्रशंसनीय छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार तपाईंहरूसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार छ ।’नेपाल उद्योग वाणिज्य महासंघले चैत २८ गते हरेक वर्ष उद्योग वाणिज्य दिवस मनाउँदै आएको छ । यही दिवसको अवसर पारेर महासंघले बुधबार र बिहीबार ५२औं वार्षिक साधारण सभा गर्दैैछ।

साधारण सभालाई सम्बोधन गर्दै महासंघकी अध्यक्ष भवानी राणाले सरकारपछिको सबैभन्दा ठूलो सञ्जाल भएको संस्थाका रुपमा महासघ स्थापित भएकाले बताइन् । यति ठूलो सञ्जाल भएकाले महासंघ र यस अन्र्तगतका संस्था सरकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको राणाले बताइन् ।राणाले निजी क्षेत्रको संगठित प्रयासको ५२ वर्षमा महासंघले आफूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा नेपाली निजी क्षेत्रको एक सशक्त संस्थाको रुपमा स्थापित गराउन सफल भएको बताइन्।

मुलुक आन्तरिक तथा बाह्य गरी करिब सात सय अर्ब ऋणमा रहेको र व्यापार घाटा लाख करोड पुग्न लागेको भन्दै समग्र अर्थतन्त्रलाई स्वस्थ र सबल बनाउन सरकारले सम्बोधन गर्नुपर्ने विषयलाई बुँदागत प्रस्तुत गरेकी थिइन् । राणले सरकारले उर्जा विकास, एकद्वार प्रणाली, पुराना ऐन–कानुन संशोधन खारेजी, निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन गर्नुपर्ने सुझाव दिइन् । त्यसैगरी, ब्याजदरमा सुनिश्चितता, समृद्धि अभियान दशक घोषणा, दोहोरो कर तिर्न नपर्ने सुनिश्चितता सरकारले गर्नुपर्ने माग राणाले राखिन्।

अध्यक्ष राणाले मुलुकको आर्थिक विकास गर्न सम्वत् २०७५–२०८५ को अवधिलाई ‘समृद्धि अभियान दशक’को रुपमा घोषणा गर्न सुझाव दिइन् । पूर्वाधार विकास, औद्योगिकीकरण विस्तार, पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर ‘समृद्धि अभियान दशक’का लागि राणनीति तथा कार्यक्रम तत्काल सार्वजनिक गर्न उनले सुझाइन्।

मुलुकको व्यापार घाटा कम गर्ने उत्पादन क्षेत्र खस्किँदै गएकाले यसलाई बढाउन सरकाले रणनीति ल्याउनुपर्नेमा राणाले जोड दिइन् । डिजिपीमा उत्पादन क्षेत्रको योगदान १५ प्रतिशतसम्म पुगेकोमा हाल चार प्रतिशतसम्म झरेको भन्दै विगतमा राजनीतिक अस्थिरता, शान्ति सुरक्षाको कमजोर अवस्था, ऊर्जाको चरम अभाव लगायत विभिन्न कारणबाट मुलुकभित्रका उद्योगधन्दाको अवस्था निरन्तर ओरालो लागेको उनले बताइन्।

उद्योगी, व्यवसायीले उद्योग, व्यवसाय सञ्चालनका लागि विभिन्न निकायमा महिनौं धाउनुपर्ने बाध्यता छ । जग्गा सम्बन्धी विषयमा भूभिसुधार मन्त्रालय, वन सम्बन्धी विषयमा वन मन्त्रालय, वातावरण सम्बन्धी मन्त्रालय र अन्य थुप्रै निकाय धाउनुपर्ने बाध्यताका कारण ठूलो झन्झट बेहोर्नु परेको राणाले जानकारी गराइन्।
 

प्रकाशित: २९ चैत्र २०७४ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App