७ वैशाख २०८१ शुक्रबार
अर्थ

बढी उखु क्रसिङ गर्दै इन्दुशंकर बन्द

चार महिनासम्म उखुले निरन्तर खचाखच रहे पनि उद्योग बन्द भएसँगै खाली देखिएको सर्लाहीको हरिवनस्थित इन्दुशंकरको टायरगाढा यार्ड । तस्बिर :टंक/नागरिक

सर्लाही – स्थापनायताकै सबैभन्दा बढी उखु क्रसिङ गर्दै हरिवनस्थित इन्दुशंकर चिनी उद्योग यस सिजनका लागि बन्द भएको छ।

यसवर्ष ४० लाख २० हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । ‘इन्दुशंकर चिनी उद्योग स्थापनायताकै यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ भएको छ,’ रजकले भने, ‘सर्भे गरिएका सबै किसानको उखु सकिएकाले मंगलबारबाट चालू सिजनको क्रसिङ बन्द गरेका हौं ।’ यस सिजनका लागि पुस पहिलो साताबाट उद्योग सञ्चालन भएको थियो।

गत वर्ष २६ लाख १७ हजार क्विन्टल क्रसिङ गरेको इन्दुशंकरले केही वर्षअघि ३७ लाख ५० हजार क्विन्टल उखु पेलेको थियो । २०४२ सालमा स्थापना भएको उद्योगले यसवर्ष स्थापनायताकै सबैभन्दा बढी उखु क्रसिङ गरेको हो ।

उद्योग सञ्चालनताका ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिइएको बताइउ पनि भारतीय उखु तथा जिल्लाकै दक्षिणी क्षेत्रका किसानको समेत इन्दुशंकरप्रति आकर्षण बढेकाले क्रसिङ परिमाण बढी भएको बताइएको छ ।त्यस्तै जिल्लाकै पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिल भने अझै एक साता सञ्चालन हुने उखु प्रबन्धक बिएल गुप्ताले जानकारी दिए । हालसम्म १२ लाख २० हजार क्विन्टल उखु क्रसिङ गरेको सो उद्योगले १४ लाख पु¥याउने अनुमान गरेको छ।

मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा यस वर्ष एक करोड क्विन्टलभन्दा बढी उखु उत्पादन भएको इन्दुशंकरका उखु प्रबन्धक रजकले जानकारी दिए । सर्लाहीबाटै महोत्तरीको एभरेस्ट, रौतहटको श्रीराम, बाराको मानकौर, सिराहालगायत उद्योगमा समेत उखु जाने गरेको छ भने जिल्लामै सञ्चालन भएका दर्जनौं क्रसर उद्योगले समेत मिठा (सख्खर) उत्पादन गर्ने गरेका छन् । चालू सिजनमा साँढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

 

प्रकाशित: २९ चैत्र २०७४ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App